अष्ट्रेलियासँग नेपाल ३–० ले पराजित

भक्तपुर, जेठ २८
विश्वकप तथा एसियन कप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्ध नेपाल ३–० गोलले पराजित भएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा शुक्रवार राती सम्पन्न खेलमा अष्ट्रेलियालाई जित दिलाउन कप्तान म्याथ्यु लेकि, फ्रान कारासिचल र मार्टिन बोएलले गोल गरे ।
अष्ट्रेलियाका लागि खेलको छैंटौं मिनेटमा अजिज बेहिचले बायाँ विंगबाट दिएको क्रसलाई लेकिले रोहित चन्दभन्दा अघि रहेर हेडरमार्फत गोल गर्दै अग्रता दिलाए । त्यस्तै खेलको ३७ औं मिनेटमा लेकिले दायाँ विंगमा उत्कृष्ट मुभ बनाउँदै दिएको कटब्याकमा फ्रान कारासिचले गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर पारे ।
त्यसो त २८ औं मिनेटमा कप्तान किरणले एज्दीन हर्सतितचको फ्रिकिक बचाउँदा अष्ट्रेलिया अग्रता दोब्बर पार्नबाट चुकेका थिए । ३५ औं मिनेटमा अनन्त तामाङले अष्ट्रेलियालाई गोल थप्नबाट रोके । कप्तान लेकिले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार अनन्तले उत्कृष्ट ट्याकल गर्दै रोकेका थिए । लगत्तै त्यसै क्लियरेन्समा नेपालको काउन्टर अट्याक विपक्षी गोलरक्षक एन्ड्रयु रेडमेनको हातमा पुगेर रोकिएको थियो ।


४० औं मिनेटमा मार्टिन बोएलले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक किरणले बचाए । खेलको ४४ औं मिनेटमा रोहित चन्दले रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए । मार्टिन बोएललाई पेनाल्टी क्षेत्र बाहिर वन भर्सेस वनको स्थितिमा अघि बढेको अवस्थामा फल गरेको भन्दै रेफ्रीले रातो कार्ड देखाएका थिए ।
अष्ट्रेलियाले बल पोसेसनमा वर्चस्व जमाएको पहिलो हाफमा निकै आक्रमण बुनेको थियो । सुरुवातमा नै अग्रता लिएपछि अष्ट्रेलियाले पोसेसनमा ध्यान दिँदै आक्रमण बुनेको थियो ।
दोस्रो हाफको ५७ औं मिनेटमा ज्याक्सन अर्भाइनको सानदार पासलाई मार्टिन बोएलले सहजै बललाई जाली चुमाउँदैं अष्ट्रेलियलाई ३–० को अग्रता दिलाए । अर्भाइनले पेनाल्टी क्षेत्र बाहिरबाट नेपालको डिफेन्स लाइनलाई चिर्दै निकालेको पासलाई फार पोस्टमा बोएलले सहजै गोल गरे । ५९ औं मिनेटमा ह्यारी सुटरको प्रहार पोस्टमा लागेर फक्र्यो ।
७६ औं मिनेटमा हर्सतितचको पेनाल्टी क्षेत्र बाहिरको प्रहार सिधै गोलरक्षक किरणको हातमा पुगे । ८४ औं मिनेटमा किरणले लगातार दुई बचाउ गर्दै स्कोर बढ्न दिएनन् । इन्ज्युरी समयमा नेपालका लागि तीन खेलाडीले डेब्यु गरेका थिए । सुरज जिउ ठकुरी, आयुष घलान र कमल थापाले मैदान प्रवेश गर्दै राष्ट्रिय सिनियर टोलीबाट पहिलो खेल खेले ।
यस हारसँगै नेपालको एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना सकिएको छ । अब तेस्रो चरण पुग्न नेपालले प्लेअफ चरण पार गर्नुपर्ने हुन्छ । सबै समूहका पुछारका टोली र चौथो स्थानमा रहने कमजोर चार टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन् । अष्ट्रेलिया भने ७ खेलमा २१ अंकसहित विश्वकप छनोटको तेस्रो चरण तथा एसियन कपका लागि छनोट भएको छ । नेपाल भने ८ खेलमा ६ अंकसहित चौथो स्थानमा रहयो ।