प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज

भक्तपुर, जेठ २६
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अस्वस्थ भएकाले सोमवार स्थगित भएको सुनुवाई आजबाट पुनः शुरु हुन लागेको हो । संवैधानिक इजलास प्रधानन्यायाधीशको अध्यक्षतामा गठन हुने व्यवस्था रहेको छ ।
प्रधानन्यायाधीश राणाले पहिले गठन गरेको संवैधानिक इजलासमा विवाद भएपछि पुनः वरिष्ठताको आधारमा अर्को इजलास गठन गरेको थियो । सो इजलासका बारेमा पनि सरकार पक्षका अधिवक्ताहरुले विवाद गरेपछि निवेदन केन्द्रीत बहश समेत हुन सकेको छैन ।
प्रधानन्यायाधीश राणाले आफुसहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनुवाइ शुरु गरेर हेर्दाहेर्दैमा सोमबारका लागि राखिएको थियो । प्रधानन्यायाधीश राणाको स्वास्थ्यमा समस्या आएपछि सुनुवाइ बुधबारका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को यही जेठ ७ को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन गर्ने घोषणा गरेको थियो । उक्त निर्णय असंवैधानिक भएको भन्दै ३० रिट निवेदन दर्ता भएको छ । विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विघटित प्रतिनिधिसभाका १४६ सांसदको हस्ताक्षरमा समेत रिट दर्ता भएको छ ।