प्रदेश २ मा कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी हुँदैं

भक्तपुर, जेठ २६
प्रदेश नं. २ मा जनता समाजवादी पार्टी (जसपा), नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सत्ता साझेदारी हुने भएको छ । त्यसका लागि तीन दलबीच मन्त्रालय बाँडफाँटका लागि छलफल चलिरहेको छ भने मन्त्री छनोटका लागि दलहरु आन्तरिक छलफलमा समेत जुटेका छन ।
जसपाको महन्थ ठाकुर– राजेन्द्र महतो समूह केपी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि रुष्ट भएको उपेन्द्र यादव समूहले प्रदेश २ को सत्ता समीकरणको लागि विगत तीन दिन देखि कसरत गर्दै थिए । सो अनुसार तीन दलबीच मंगलवार सत्ता साझेदारीका विषयमा सहमति भएको थियो । सो अनुसार मन्त्रालय फुटाएर १० पु¥याउने र जसपाले ५, कांग्रेसले ३ र माओवादी केन्द्रले २ मन्त्रालय पाउने भएका छन ।
अहिले प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, भूमि व्यवस्था कृषि तथा सहकारी, आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना र उद्योग पर्यटन वन तथा वातावरण गरी ६ वटा मन्त्रालय छ । जसपा सांसद रामआशीष यादवका अनुसार सामाजिक विकासलाई टुक्रयाएर नयाँ मन्त्रालयका रुपमा शिक्षा तथा स्वास्थ्य मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सञ्चार झिकेर नयाँ सञ्चार मन्त्रालय बनाउने तयारी छ ।
त्यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट कृषि तथा सहकारीलाई अलग गर्ने र उद्योग, पर्यटन, वन तथा वातावरणबाट वन तथा वातावरणलाई अलग गरेर ४ वटा मन्त्रालय थप्ने प्रदेश सरकारले तयारी गरेको छ ।
मन्त्रालयको संख्या र कसले कुन दलले कतिवटा प्राप्त गर्ने विषय टुंगिएको माओवादीका सांसद भरत साहले जानकारी दिनुभयो । जसपा उपेन्द्र यादव समूहले महन्थ ठाकुर पक्षका एकजना मन्त्री र तीन जना राज्यमन्त्रीलाई सरकारबाट पदमुक्त गरेपछि कांग्रेस र माओवादी केन्द्रसँग सत्ता सहकार्यको वातावरण बनेको थियो ।
यसैबीच सरकारमा पठाउने मन्त्रीहरुको टुंगो लगाउन नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको छ । स्रोतका अनुसार कांग्रेसबाट रामसरोज यादवको नेतृत्वमा र माओवादी केन्द्रबाट भरत साहको नेतृत्वमा सरकारमा सहभागी हुने छ ।