भक्तपुर, माघ ११
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गठन गरेको नेपाल टि–२० लिग छानविन कार्यदलले बुधवार छानविन प्रतिवेदनको सार सार्वजनिक गर्दै लिग सम्झौता खारेज गर्न बाञ्छनीय रहेको जनाएको छ । छानविन समितिले लिग सम्झौता प्रचलित ऐन, नियम बमोजिम प्रक्रिया नपु¥याई गरिएको जनाउँदैं नेपाल टि–२० लिग सम्बन्धी सम्झौता तत्काल खारेज गर्न बाञ्छनीय भएको ठहर गरेको हो ।
यसैगरी कार्यदलले नेपाल क्रिकेट संघ(क्यान) लाई निलम्बनसम्मको कारवाही हुने ठहर गरेको छ । छानविन कार्यदलले नेपाल टि–२० लिग आयोजनाको साझेदार विदेशी कम्पनीसँगै सम्झौता गर्दा नियम पालना नगरेको निष्कर्ष निकाल्दै राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ मा भएको व्यवस्था आकर्षित हुने ठहर गरेको हो ।
खेलकुद विकास ऐन २०७७ को दफा २९ अनुसार कुनैपनि संघले परिषद्लो दिएको निर्देशन पालना नगरेमा त्यस्तो संघलाई राखेपले तीन महिनासम्म निलम्बन गर्न सक्ने व्यवस्था गरिएको छ ।
“नेपाल क्रिकेट संघका सरोकार पक्षहरुबाट नेपाल टि–२० लिग आयोजनाको क्रममा साझेदार विदेशी कम्पनीसँगको सम्झौता लगायतका बिषयमा प्रचलित ऐन, नियम तथा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ मा भएको शर्त र दफा ४४ को उपदफा (२) मा भएको व्यवस्थाको पालना भएको नदेखिएकोले सम्बन्धित पक्षलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ मा भएको व्यवस्था आकर्षित हुने,” प्रतिवेदनको सारमा उल्लेख छ ।
त्यस्तै कार्यदलले प्रतियोगितामा शंकास्पद एवं अस्वभाविक गतिविधिका कारण फिक्सिङ हुने सम्भावनाका बिषयमा अनुसन्धान गर्ने आधिकारिक निकाय नेपाल प्रहरीको(सिआईबी) बाट भईरहेको अनुसन्धानबाट प्राप्त निष्कर्षको आधारमा दोषी माथि प्रचलित कानून एवं राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३३ बमोजिम हुने कारवाहीमा अवश्यक सहयोग पुर्याउने जनाएको छ ।
कार्यदलको प्रतिवेदन माथि सरोकारवाला निकाय एवं अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) सँग आवश्यक छलफल र समन्वय गर्न सकिने समेत जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले नेपाल टि–२० लिगमा चार नेपालीसहित कुल १० जना संलग्न रहेको जनाएको थियो । फिक्सिङको आरोपमा सिआईबीले आदिल आलम र पूर्व क्रिकेटर महबुब आलमलाई प्रकाउ गरिसकेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल टि–२० लिग गत पुस ९ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको थियो । पहिलो पटक आफैले आयोजना गरेको नेपाल टि–२० लिगका लागि क्यानले भारतीय कम्पनी सेभन थ्री स्पोर्टससँग कर्मसियल एन्ड स्ट्र्याटिजिक पार्टनरका रुपमा सम्झौता गरेको थियो । लिग सेभेन थ्री स्पोर्टसलाई ८ वर्षका लागि ३३ करोड रुपैयाँमा बेचेको थियो । तर आयोजक सेभेन थ्रिका संस्थापक जतिन भने बीचमै भागेर भारत गएका थिए ।
यसैबीच कार्यदलले छानविन प्रतिवेदन राखेपलाई बुझाएको छ । कार्यदल संयोजक एकेन्द्र कुँवरले राखेप सदस्य–सचिव टंकलाल घिसिङलाई बुधवार प्रतिवेदन हस्तान्तरण गरेको हो ।