जगत प्रजापति, भक्तपुर, पौष १६
महाकाली पारीको नेपालको रुपमा परिचित दोधारा चाँदनी पुग्न कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पक्की पुलसँगैं पर्यटन उद्योगको विकासका लागि चार वटा विशाल ताल निर्माण भइरहेको छ ।
आकाशबाट हेर्दा पुतली आकारको उक्त संरचना निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि सुदुरपश्चिम अझ विशेष गरी कञ्चनपुर र महेन्द्रनगरका लागि आन्तरिक र बाह्य पर्यटनको विकाससँगै आर्थिक समृद्धिको प्रमुख खुड्किलो बन्ने विश्वास गरिएको छ ।
महाकाली पुलको उत्तरपट्टि एक वर्गकिलोमिटर भन्दा ठूला दुई तथा दक्षिणतर्फ शून्य दशमलव तीन वर्गकिलोमिटरका दुई गरी चारवटा ताल निर्माण हुँदैछन । अहिले तालका लागि बाँध बाँध्ने काम भइरहेको छ । तालको बीचमा तीन÷तीन वटा टापु निर्माण भएका छन । तालको छेउछाउमा पाँच हजार बिरुवा रोप्ने योजना रहेको महाकाली पुल र ताल निर्माणको ठेक्का पाएको कुमार सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेले बताउनुभयो ।
महाकाली नदी किनारमा पर्यटकलाई आकर्षित गर्नका लागि टापुसहितका चारवटा पोखरी निर्माण हुन लागेको पाण्डेले बताउनुभयो । “पुलको वारिपारि चारवटा विशाल ताल निर्माण हुनेछ । त्यसमा साना साना तापुहरु हुन्छन,” उहाँले भन्नुभयो ।
तालको बीचमा रहेको तापुहरुमा डुंगाको सहायताले पुग्न सकिने र उक्त टापुमा वनभोज लगायतका कार्यक्रम गर्न सकिने ई. पाण्डेले बताउनुभयो । “पर्यटकले बोटिङ गरेर त्यो टापुमा जानसक्छन”, उहाँले भन्नुभयो, “पोखरीसँगै हरियाली बनाउन पाँच हजार बिरुवा रोप्छौँ, यसले पर्यटक आकर्षित हुनेछन् ।”
करिव तीन अर्ब ६६ करोडको लागतमा निर्माण हुन लागेको उक्त पुल र तालको सबै काम आगामी चैत्रभित्र सक्नेगरी निर्माण अघि बढेपनि तालको डिजाईन परिवर्तन भएका कारण केही महिना ढिला हुने उहाँले बताउनुभयो ।
उहाँका अनुसार भारतीय कम्पनीले तालको डिजाईन गर्दा ठूला ठूला ढुंगाको बाँध निर्माण गर्ने ईष्टिमेट तयार गरेकोमा त्यस्ता ढुंगा पाउन सम्भव नभएपछि पुनः डिजाईन परिमार्जन गरी ढलान गरेर बाँध बाँध्ने कार्य भइरहेको छ । सोही डिजाईनका कारण तालको निर्मार्ण कार्य केही महिना ढिला भएकाले पुरै परियोजना सम्पन्न हुन थप समय लाग्ने भएको हो । पुलको निर्माण कार्य भने निर्धारित समयमा नै सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
पुल र तालसम्मको पहुँच मार्गको निर्माण समेत अन्तिम चरणमा पुगेको छ । पुल र तालसम्म पुग्ने करिव साढे आठ किलोमिटर सडक मध्ये सात किलोमिटर निर्माण भइसेकेको छ । बाँकी डेढ किलोमिटरको काम भइरहेको छ । “निर्माणाधीन पुलसम्मको पहुँच मार्ग आठ दशमलव ६ किलोमिटर मध्ये सात किलोमिटर सडक निर्माण भइसकेको छ”, उहाँले भन्नुभयो ।
पुलको निर्माणसँगै महाकाली पारीको नेपाल दोधारा चाँदनी पनि नेपाली सडक सञ्जालमा जोडिने भएको छ । अहिले दोधारा चाँदनीवासीलाई भारतीय बाटो प्रयोग गरेर महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ । दोधारा चाँदनीबासी शारदा व्यारेजहुँदैं महेन्द्रनगर आवतजावत गर्दछन ।
तर उक्त पुल दिनमा सात घण्टामात्र खुल्ला हुने हुँदा आवतजावतमा असहज रहेको स्थानीय बताउँछन । चलचित्रका सो जस्तै दिनमा तीन पटक मात्रै ढोका खोल्ने पुल बिहान ६ बजेदेखि ८ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र साँझ ६ देखि ८ बजेसम्म गरी दिनमा सात घण्टा मात्रै खुल्ने गरेका छन । सो पुलबाट सात टनभन्दा बढी सामान ल्याउन निषेध गरिएको छ ।
महाकाली पारीका नेपालीलाई सहज आवतजावतका लागि महाकाली नदिमा दुई दशक अघि १ हजार ४ सय ९५ मिटर लामो झोलुंगे पुल निर्माणले पनि निकै राहत दिएको छ, तर उक्त पुलबाट दुईपांग्रे सवारी साधनमात्र आवतजावत गर्न सकिन्छ ।
नेपाल–भारत सहज आवागमनका साथै सुदुरपश्चिमसँगै नेपालकै आर्थिक समृद्धिको लागि महाकालीको पुललाई महत्वका साथ हेरिएको छ । भारतका प्रमुख व्यापारिक शहरहरू यहाँबाट छोटो दूरीमा पर्छन । भारतको राजधानी दिल्ली यो पुलबाट साढे ३ सय किलोमिटरको मात्रै दूरीमा छ । अझ भारतका नोयडा, गुडगाउँ, रुद्रपुरलगायतका औद्योगिक क्षेत्रहरु नेपालको पश्चिमी सीमाबाट नजिक छन ।
हाल प्रयोगमा रहेको शारदा ब्यारेजको पुल भारतीय एकाधिकारका कारण यहाँका व्यवसायीहरूले सहज रूपमा आयात निर्यात गर्न पाएका छैनन । सिमित समयका लागि खुल्ने शारदा ब्यारेजमा ठूला सवारीसाधनसमेत आवतजावतमा रोक लगाएका कारण यहाँको व्यवसायमा ठूलो प्रभाव परेको व्यवसायीहरू बताउँछन ।
महाकाली नदीमा निर्माणाधीन पुल सम्पन्न भएपश्चात् नेपालको सडक सञ्जाल पनि भारतीय राष्ट्रिय राजमार्गसँग जोडिने र सुदूरपश्चिमको व्यापार व्यवसायमा सकारात्मक प्रभाव पर्ने व्यवसायी माधव जोशीले बताउनुभयो । “शारदा ब्यारेज दैनिक सात घण्टा मात्रै खुला हुन्छ, त्यसमा पनि ठूला मालवाहक सवारीलाई आवागमनमा रोक लगाएको छ,” उहाँले भन्नुभयो । शारदा व्यारेजको पुलबाट भारत तर्फको आयात निर्यात गर्न लामो बाटो घुमाएर ल्याउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
महाकालीमा पुल निर्माणपछि भारतका ठूला औद्योगिक क्षेत्रहरूसँग सहज पहुँच हुने भएकाले समेत यसलार्ई यहाँको समृद्धिको रूपमा हेरिएको छ । “भारतका उद्योगपति नेपालमा उद्योग स्थापनाका लागि हामीसँग सम्पर्कमा छन” जोशीले भन्नुभयो, “पुल निर्माणपछि बाह्य लगानीसमेत यहाँ भित्रिने सम्भावना छ ।”
अर्कोतर्फ पर्यटनको समेत ठूलो सम्भावना बोकेको सुदूरपश्चिमलाई शारदा ब्यारेजमा सहज आवागमन नहुनुले पनि प्रभाव पारेको यहाँका व्यवसायीहरू बताउँछन । भारतको राजधानी दिल्लीमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल यहाँबाट ३ सय ५० किमिको दूरीमा रहेको छ । तेस्रो मुलुकबाट आउने पर्यटकहरूका लागि गड्डाचौकी नाका भएर आउन सहज वातावरण नहुँदा पर्यटकको ठूलो सम्भावनासमेत गुमेको जानकारहरू बताउँछन ।
भारतसँग व्यापारिक मात्रै नभई धार्मिक सम्बन्धसमेत रहेकाले धार्मिक पर्यटनका हिसाबले समेत महाकाली पुलले ठुलो टेवा पुग्ने कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जंगबहादुर मल्लले बताउनुभयो । “महाकाली पुल सञ्चालनमा आएपछि निर्वाध रूपमा आवातजावत गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “व्यावसायिक मात्रै नभई धार्मिक पर्यटनमा समेत ठूलो टेवा पुग्छ ।”
महाकाली नदिमा सन् १९९८ मा शारदा ब्यारेजसँगै निर्माण भएको टनकपुरको पुल निर्माणपछि सञ्चालनमा आउन सकेको छैन । भारतीय पक्षले सुरक्षाको कारण देखाउँदै उक्त पुलमा नेपाली पक्षलाई आवतजावतमा रोक लगाएको छ ।
(कञ्चनपुरबाट महादेव अवस्थीको सहयोगमा यो समाचार तयार पारिएको हो ।)