मानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्न

भक्तपुर, माघ ४
मानव अधिकारको कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भूमिकाको बारेमा भक्तपुरका स्थानीय तहका जनप्रतिनिधिहरु, मानव अधिकारकर्मीहरु, नागरिक समाजका संघ संस्थाहरुका प्रतिनिधिहरुलाई आयोजित दुई दिने तालिम मंगलवार सम्पन्न भएको छ ।
मानव अधिकार संचार प्रतिष्ठान नेपाल (इह्रिकन)ले आयोजना गरेको सो तालिममा मानव अधिकारको ऐतिहासिक पृष्ठभुमि, राष्ट्रिय मानव अधिकार कार्ययोजना र स्थानीय तहमा यसको आवश्यकता र कार्यान्वयको अवस्था, चुनौतीहरुलगायत विषय बस्तुहरुमा रहेर प्रशिक्षकहरु निराजन थपलिया, सन्तोष सिक्देल र मीना शर्माले सहजिकरण गर्नुभएको थियो ।
तालिममा सहभागीहरुले चाँगुनारायण नगरपालिका भित्र मानव अधिकारको वर्तमान अवस्था र कार्यान्वयनको वस्तु अवस्था सहित चित्रण गर्दै कार्ययोजना तयार पारेका थिए । सहभागीहरुले चार समुहमा विभाजन भई छलफल गरी प्रस्तुतिकरण गरेका थिए । उक्त कार्ययोजनालाई अन्तिम रुप प्रदान गर्न नगरपालिकामा गठ्न भएको मानव अधिकार टाक्स फोर्स कमिटीले आवश्यक छलफल गरी नगरपालिकामा बुझाउने विधायक समितिका सदस्य सरुना परियारले बताउनुभयो ।
तालिमको समापनमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोम प्रसाद मिश्रले मानव अधिकारको कार्यान्वयनको अवस्थामा चाँगुनारायण नगरपालिका अगाडि रहेको दावी गर्दै नागरिक समाजका संघ संस्थाहरुसँग समन्वय सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताउनुभयो । उहाँले मानव अधिकारको विषयमा नगरपालिका सदैव गम्भिर भएर कार्यक्रमहरु संचालन गरिरहेको र तालिमबाट बनेको कार्ययोजनामा समेटिएका राय, सुझाव सल्लाहलाई आवश्यकताको आधारमा ग्रहण गर्र्दै नगरपालिकाको नीति तथा कार्यक्रमको माध्यमबाट कार्यान्वयन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
इह्रिकनका अध्यक्ष मीना शर्माले नागरिक समाज र स्थानीय तहमा मानव अधिकारको कार्यान्वयन गर्न र नागरिक समाजको क्षमता अभिवृद्धि गर्न स्थानीय तहहरुसँग इह्रिकनले सहकार्य गर्दै आइरहेको बताउनुभयो । उहाँले मानव अधिकार सुनिश्चित गर्न इह्रिकन आवश्यक साथ सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।