दुई हजार तिन सय पचास मिटर उचाईमा रक्तदान

बाबुकाजी श्रेष्ठ, सोलुखुम्बु, कार्तिक ३०
हिमाली जिल्ला सोलुखम्बुको २ हजार ३ सय ५० मिटर उचाईमा पहिलो पटक रक्तदान कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको छ ।
लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलले नेपालको उच्च हिमाली जिल्ला सोलुखुम्बुको सलेरीमा पहिलो पटक रक्तदान कार्यक्रम गरेको हो । सो कार्यक्रममा महिला पुरुष गरी ७१ जनाले रक्तदान गरेका थिए ।
योङ्ग स्टार क्लबका सचिव दिपक राजभण्डारीले रक्तदान गरी शुरु गरिएको उक्त रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक सहित पाँच जना जवानले पनि रक्तदान गरेका थिए भने सोलु सलेरीका ३० जना र काठमाण्डौंबाट गएका ४१ जना रक्तदाताहरुले रक्तदान गरेको क्लबका सल्लाहकार लक्ष्मण जोशीले बताउनुभयो ।


लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलका अध्यक्ष अनिलरत्न तुलाधरले यो पहिलो पटक विश्वकै उच्च पहाडी जिल्ला सोलुखुम्बुको सलेरीमा रक्तदान कार्यक्रमको आयोजना गरेका जानकारी दिनुभयो । यो रक्तदान विश्वमै पहिलो पटक विश्वकै उचाईमा भएको उहाँले दावी गर्नुभयो । “रक्तदान जीवन दान” र “हिमाल, पहाड र तराई कोही छैन पराई” भन्ने मूल नाराका साथ मानवीय सेवामा समर्पित रहेको क्लबले कुनै व्यक्ति रगतको अभावमा मृत्यु नहोस् भन्ने अभियानमा लागेको र नेपाललगायत विश्वका विभिन्न देशहरुमा समेत सेवा दिंदै आइरहेको अध्यक्ष तुलाधरले बताउनुभयो ।
उक्त कार्यक्रमको लागि सोलुखुम्बु सलेरीका योङ्ग स्टार क्लबले व्यवस्थापन तथा आतिथ्य सत्कारमा सहयोग गरेको थियो । त्यसैगरी प्राविधिक सहयोग कान्तिपुर रक्त सञ्चार केन्द्रले गरेको थियो भने कार्यक्रममा विभिन्न संघसंस्थाहरुले सहकार्य र सहयोग गरेका थिए ।


कार्यक्रममा क्लबका कार्यसमिति सदस्य, पदाधिकारी, कान्तिपुर रक्त सञ्चार केन्द्रका प्राविधिक टोली, मध्यपुर सञ्चार समाजका अध्यक्ष बाबुकाजी श्रेष्ठ, ईमेज च्यानलका केके मानन्धर, क्लबका सल्लाहकार एवं बासुदेव प्रसाद जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष लक्ष्मण जोशी र राससका रत्नकृष्ण श्रेष्ठ समेत गरी ७५ जनाको उपस्थिति रहेको थियो । रक्तदान पश्चात सोलु विमानस्थलबाट हवाइजहाजमार्फत संकलित रगत काठमाण्डौं पठाएको थियो ।


कार्यक्रममा योङ्ग स्टार क्लबका अध्यक्ष बुद्धिनारायण राजभण्डारीले अहिलेसम्म कसैले नगरेको रक्तदान कार्यक्रम सोलुखुम्बुमै पहिलो पटक लायन्स क्लब अफ काठमाण्डौं ब्लड सर्कलले सहकार्य गरी गरेको बताउदै कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्नुभयो । उहाँका अनुसार सोलुखुम्बुमा अहिलेसम्म ब्लड बैंक नभएको कारणले धेरै समस्या परेको र यस कार्यक्रमका अध्यक्ष अनिलरत्न तुलाधरले रगत अभाव नहुने प्रतिवद्धतालाई ह्दयदेखि स्वागत गर्नुका साथै पछिपनि कार्यक्रमलाई सहयोग गर्ने बताउनुभयो ।


प्रदेश १ का सांसद् बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्यमा भएको उक्त रक्तदान कार्यक्रममा पूर्व राज्यमन्त्री एवं सांसद् उत्तम बस्नेत, प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाही, नेपाल प्रहरीका प्रहरी उपरीक्षक कवित कटुवाल, प्रहरी उपरीक्षक दिनेश शर्मालगायत जनप्रतिनिधिहरुको उपस्थितिमा रक्तदाताहरुलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो ।