नेकपा एमालेको १० औं महाधिवेशनका लागि भक्तपुरबाट १७ प्रतिनिधि चयन

भक्तपुर, कार्तिक २८
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औं महाधिवेशनका लागि भक्तपुरबाट ५ महिलासहित १६ प्रतिनिधि चयन भएका छन । भक्तपुरको दुई निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं. १ मा निर्वाचनमार्फत र क्षेत्र नं. २ मा सहमतिमा सर्वसम्मत प्रतिनिधि चयन भएका हुन ।
भक्तपुर क्षेत्र नं. १ मा शनिवार सम्पन्न निर्वाचनमा २ महिला सहित ६ जना प्रतिनिधि निर्वाचित भएका छन । खुल्लातर्फको ४ प्रतिनिधिका लागि १३ जना र दुई महिलाका लागि ४ जना चुनावी प्रतिष्पर्धामा थिए ।
निर्वाचनमा शम्भु दाहाल (९६१), निरञ्जन बजगाईं (८७५), परासर सापकोटा (८१२) र मिलन सुवाल (७६९) विजयी भए। त्यसैगरी महिलातर्फ चाँगुनारायण नगरपालिकाका उपप्रमुख विणा बास्तोला (१०११) र नारायणी फुयाल (८३५) विजयी हुनुभयो ।


त्यसैगरी आगामी मंसीर १० देखि १२ सम्म चितवनमा आयोजना हुने एमाले दशौं राष्ट्रिय महाधिवेशनका लागि भक्तपुर क्षेत्र नं. २ बाट ११ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन । एमालेका प्रभावशाली नेता महेश बस्नेतको निर्वाचन क्षेत्र भक्तपुर २ मा उनकै पहलमा सर्वसम्मत प्रतिनिधि चयन भएको नेकपा एमाले सूर्यविनायक नगर अध्यक्ष रविन्द्र सापकोटाले बताउनुभयो ।
भक्तपुर क्षेत्र नं. २ बाट जिल्ला अध्यक्ष वचन देउजा, पुर्व जिल्ला अध्यक्ष एवम् बागमति प्रदेश सचिवालय सदस्य राजेन्द्र राजथला, जिल्ला समिति सदस्य एवम् मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, जिल्ला सचिव एवम् सूर्यविनायक नगरप्रमुख बासुदेव थापा, बागमति प्रदेश समिति सदस्य एवम् प्रदेशसभा सदस्य शशीजंग थापा, बागमति प्रदेश समिति सदस्यहरु एवम् माओवादी परित्याग गरी नेकपा एमालेमा समाहित भएका भाष्कर प्रधानांग, निर्मल भट्टराई सर्वसम्मत प्रतिनिधि चयन भएका हुन ।
त्यसैगरी महिलातर्फ जिल्ला कमिटी सदस्यहरु उत्तरा नेपाल र भागीरथा सिटौला तथा नगर कमिटी सदस्य तारा खड्का बस्नेत महाधिवेशन प्रतिनिधि चयन भएका छन् भने समावेशी तर्फ जिल्ला कमिटी सदस्य दीपक विसुंखे सर्वसम्मत चयन भएको सापकोटाले जानकारी दिनुभयो ।