श्री अष्ट सद्धमार्यतन विहार प्रयागपोखरीमा कथिन चीवर दान सम्पन्न

Kathin Chivar Dana, Asta Sadharmayatana Vihar, Prayagapokhari

सुनिता तुलाधर, ललितपुर, कार्तिक ५

श्री अष्ट सद्धमार्यतन विहार, प्रयागपोखरी, ललितपुरमा तिपिटक विशारद भिक्षु पञ्ञासार स्थविर ३ महिना विनयपूर्वक वर्षावास पूरा गर्नुभएको उपलक्ष्यमा बिहिवार भिक्षु महासंघलाई कथिन चीवर दान गरेको छ ।

कथिनदाता दया खड्गी र उहाँको स–परिवारको आयोजनामा सम्पन्न उक्त कथिन चीवर दान कार्यक्रममा ज्ञानमाला भजन गर्दै शोभायात्रा गरी नगर परिक्रमा गरिएको थियो । कथिनदाता परिवारले कथिन चीवर र उपासक उपासिकाहरुले अष्ट परिष्कार सहित नगर परिक्रमा गरेका थिए ।
भिक्षु सुमेध महास्थविरले उपस्थित उपासक उपासिकाहरुलाई पञ्चशील प्रदान गर्नुभएपछि शुरु भएको कार्यक्रममा भिक्षु धम्मसोभन महास्थविरले बुद्धपुजा गराउनु भएको थियो ।
उक्त कार्यक्रममा कथिन चीवर दानको महत्वमाथि प्रकाश पार्नुहुँदै भिक्षु कोण्डण्य महास्थविरले भन्नुभयो, ‘कथिन चीवर दान एउटा विहारमा एकवर्षमा एकचोटि मात्रै गर्न सकिने र निश्चित समय अवधिमा मात्रै गर्नुपर्ने भएकोले यसलाई कालदानको रुपमा पनि लिइन्छ । त्यसैले यसको अर्थ भनेको अति उत्तम, मजबूत, राम्रो, निश्चित नियमभित्र रहेर दिनुपर्ने दान भएकोले पनि यसलाई कथिन चीवर दान भनिएको हो ।’
उहाँले धर्मदेशनाको क्रममा भगवान बुद्धले गहना हराएर भौंतारिरहेका ३० जना भद्र राजकुमारहरुलाई आफ्नो हराएको गहनाहरु खोज्नु भन्दा आफूलाई नै खोज्नु उत्तम रहेको उपदेश दिनुभएको थियो । त्यसैगरी हामीले पनि वस्तुहरुको खोजीमा लाग्नु भन्दा आफूले आफैलाई खोज्नुपर्दछ भन्नुभयो ।

विभिन्न विहारहरुबाट आउनु भएका भिक्षुहरु, अनागारिका गुरुमाहरु लगायत श्रीलंकाका राजदूत हिमाली अरूणतिलका, ललितपुर महानगरपालिकाका मयेर चिरीबाबु महर्जन र समाजसेवी माेतीलाल शिल्पकार लगायत सयौं उपासक उपासिकाहरुको उपस्थिति रहेको कार्यक्रमकाे अन्तमा उपासकउपासिकाहरुले भिक्षु तथा  गुरुमाहरुलाई दान प्रदान गरेका थिए ।