तिहारको लागि पाला बनाउन व्यस्त भक्तपुरका कुम्हाले समुदाय

लक्ष्मी गारु, भक्तपुर, कार्तिक ५
नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । बजारमा तिहारको लागि आवश्यक सामाग्री फलफुल, सयमत्री र मखमली फुलको माला, भाइ मसलासँगै दियो बाल्ने पालाको समेत खपत र माग दिनानुदिन बढ्दो छ ।
बजारमा पालाको माग बढेसँगै भक्तपुरका कुम्हाले समूदायलाई यतिखेर पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याईनभ्याई भएको छ । “तिहार आउन अझै हप्ता दिन भन्दा बढी समय बाकी छ । हप्ता दिनभित्र माग अनुसारको पाला पठाउन नसके बनाएको व्यर्थ हुन्छ,” भक्तपुर तालक्व (पोटरी स्क्वायर) का हरिशरण प्रजापतिले भन्नुभयो ।
उहाँका अनुसार अचेल तालक्वका कुम्हाले समूदायहरुको दिनचर्या नै पाला तयार गर्ने कार्य मै बित्ने गरेको छ । तिहारमा पालाको उच्च माग हुने भएपछि यतिखेर कुम्हालेहरुले अन्य माटाका भाँडा बनाउने कामलाई थाँती राखेका छन । तिहारमा लक्ष्मी पुजाका लागि बाहिरी जिल्लाहरुबाट समेत पालाको माग आउने भएकाले गमला, धुपरौ, खुत्रुके लगायत विभिन्न पर्यटकीय सामाग्री बनाउने कामलाई थाँती राखेर पाला बनाउने काममा व्यस्त भएको हरिशरणले बताउनुभयो ।


“बिहान सबेरै उठने हो, चिया नास्ता गर्ने, अनि अघिल्लो दिन मै तयार गरी राखेको माटोलाई थप तयार गरी पाला बनाउने, सुकाउने र सुकिसकेको पालालाई क्युमा बसेर पोलेर तयार गरी माग अनुसार बजार पठाउने काममा नै व्यस्त छौं । अहिले अन्य भाँडाकुँडा बनाउन फुर्सद छैन,” उहाँले भन्नुभयो ।
अचेल भक्तपुरका तालक्वका कुम्हालेहरु मात्र होइन सुजमारी, लिवाली, तुमुचो, च्याम्हासिहं र सूर्यविनायकका कुम्हालेहरु समेत अन्य भाँडा बनाउने कार्यलाई थाँती राख्दै पाला बनाउने कार्यमा तल्लिन छन् ।
विशेषगरी धनकी देवी लक्ष्मीको पुजा गर्ने पर्व भएकाले तिहारमा फलफुल, सयपत्री फुलसँगै झिलीमलि बत्ति बाल्ने गरिन्छ । धनकी देवी लक्ष्मीलाई घरमा भित्र्याउन तिहारमा झिलीमिली बत्ती बाल्ने परम्परा रहेको छ । तिहारको लक्ष्मी पुजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका स्थानमा पालाको दियो बाली झिलीमिली पार्ने परम्परा रहेको छ ।


पछिल्लो समय तिहारमा बत्ति बाल्नकै लागि विद्युत बत्तीको माग समेत उच्च हुने गरेको छ । तिहारमा बिजुलीका रंगीचंगी बात्ती बालेर झिलीमिली पार्ने गरेपनि अनिर्वाय रुपमा दियो पनि बाल्नु पर्ने परम्परा भएकाले तिहारमा वर्षेनी पालाको माग बढ्ने गरेको व्यवसायीहरु बताउँछन । केही वर्ष अघि मैनबत्ती बाल्ने प्रचलन देखिएपनि दियो जस्तो सुरक्षित नभएपछि मैनबत्ती बिस्तारै विस्थापित हुँदै गएकाले पालाको माग बढेको पाला व्यापारी रामप्रसाद प्रजापति बताउँछन । “विभिन्न आधुनिक विद्युतिय झिलिमिली बत्ती र मैनबत्तीको दाँजोमा सुरक्षा, धार्मिक तथा साँस्कृतिक दृष्टिकोणले पालालाई अत्यन्तै उत्तम र पवित्र मानिने भएकाले बजारमा यसको माग बढेको हो,” उहाँले भन्नुभयो ।
कुम्हालेहरुले तयार भएको पाला होलसेल व्यापारीहरुलाई बिक्रि गरिन्छ । होलसेल व्यापारीहरुले एउटा पालाको एकदेखी दुई रुपैंयाँमा हजारौंको संख्यामा खरिद गर्ने र उनीहरुले केही मुनाफा खाएर काठमाण्डौं उपत्यकाका विभिन्न स्थानका खुद्रा बिक्रेतामार्फत उपभोक्ताहरु माझ पु¥याउने गरेको रामप्रसादले बताउनुभयो ।
भक्तपुरमा उत्पादन गरेको पाला उपत्यका लगायत काभ्रेको बनेपा, धुलीखेल, पनौती, धादिङ, नुवाकोटको त्रिशुलीका साथै पोखरा, हेटौंडा, चितवनका व्यापारीहरुले समेत लिन आउने गरेको रामप्रसादले जानकारी दिनुभयो ।