बाैद्धजन विहार सुनागुथिमा कथिन चीवर दान सम्पन्न

Kathin Chivar Dan, Bauddha Jana Vihar, Sunaguthi

सुनिता तुलाधर, ललितपुर, कार्तिक ५

भिक्षु धर्मगुप्त महास्थविरले विनयपूर्वक ३ महिना वर्षावास पूरा गर्नुभएको अवसरमा बिहिवार बौद्धजन विहार, सुनागुथि, ललितपुरमा भिक्षु महासंघलाई कथिन चीवर दान गरेको छ । पद्मकिर्ति विहार कथिन पुचःको आयोजनामा सम्पन्न उक्त कार्यक्रम कथिनदाताहरुले कथिन चीवरलाई सुनागुथि क्षेत्रमा शोभायात्रा गरिएको थियो । सो शोभायात्रामा कथिन चीवरका साथै अष्ट परिष्कार दाताहरुले अष्ट परिष्कार सहित उपासक उपासिकाहरु सहभागी थिए ।

नेपाल संघ नायक भिक्षु बोधिसेन महास्थविरले उपस्थित उपासक उपासिकाहरुलाई पञ्चशील प्रदान गर्नुभएको थियो भने भिक्षु सुमेध महास्थविरले बुद्धपुजा गराउनुभएको थियो । संघनायक भिक्षु बोधिसेन महास्थविरले धर्मदेशना दिनुहुँदै, ‘कथिन चीवर’ हुनको लागि भगवान बुद्धले प्रज्ञप्त गर्नुभएको धेरै विनय र नियमहरु छन् । यी विनय अनुसार यस कथिन चीवर भएकाले दान मध्ये सर्वश्रेष्ठ दान कथिन चीवर दान हो । सबैको उपकार हुने धर्मको ज्ञान दिनु अर्थात धर्मदान सबैभन्दा उत्तम भएजस्तै वस्तुहरुको दान मध्य सर्वश्रेष्ठ दान भनेको कथिन चीवर दान हो ।’

उहाँले जसरी खुट्टामा लागेको फोहर सफा नदी भएको ठाउँमा जाँदा खुट्टा सफा भएजस्तै बाहिरी दुनियाँमा रहँदा मनमा लागेको फोहर सफा गर्नेठाउँ विहार भएको र विहारमा रहँदा शान्तपूर्वक बस्दा आफू लगायत सबैलाई धेरै नै राम्रो हुने कुरा पनि उहाँले आफ्नो धर्मदेशनामा बताउनुभयो ।

यसैगरी भिक्षु धर्मगुप्त महास्थविरले कथिन चीवर दानको आनिशंस, फल वा फाइदाबारे व्याख्या गर्नुभएको थियो ।


कार्यक्रमको अन्तमा उपासक उपासिकाहरुले भिक्षु र अनागारिका गुरुमाहरुलाई दान प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न विहारहरुबाट आउनु भएका भिक्षुहरु, अनागारिका गुरुमाहरु र सयौं उपासक उपासिकाहरुको उपस्थिति रहेको थियो ।
स्मरण रहोस, कुनै उपसम्पदा प्राप्त भिक्षुले असार पूर्णिमादेखि असोज पूर्णिमा ३ महिनासम्म एकै विहारमा बस्ने अधिस्थान सहित विनयपूर्वक बसोबास गर्नेलाई वर्षावास भनिन्छ र वर्षावास समाप्तीपछि १ महिना भित्र उहाँलाई दिइने चीवर दानलाई कथिन चीवर दान भनिन्छ ।