संसदिय व्यवस्थाले देश र जनताको हित हुँदैन ः जिल्ला सेक्रेटरी सिंह

भक्तपुर, असोज २
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भक्तपुर जिल्ला सेक्रेटरी विजय सिहंले संसदिय व्यवस्थाले देश र जनताको हित हुँदैन भन्ने तथ्य स्थापित हुँदै गएको बताउनुभएको छ ।
उहाँले संविधानसभाले जारी गरेको संविधान बमोजिम गठन भएको संसदिय व्यवस्था दुई दुई पटक असफल भएको दावी गर्दै संसदिय व्यवस्था देशको हितमा नभएको पुष्टि भएको बताउनुभयो ।
नेकपा निकट जनवर्गिय संगठन जनपत्रकार संगठन, नेपालको प्रथम भक्तपुर जिल्लास्तरिय भेलालाई शनिवार सूर्यविनायक नगरपालिका–४, नयाँबस्तीमा सम्बोधन गर्दै सेक्रेटरी सिंहले तीन बुँदें सहमतिका साथ आफ्नो पार्टी शान्ति प्रक्रियामा आएपनि सरकारले सहमति पालना नगरेको आरोप लगाउनुभयो ।
‘हामी तीन बुँदें सहमतिका साथ शान्ति प्रक्रियामा आएका छौं। तर सरकारले सहमतिको पालना गरेको छैन,’ उहाँले भन्नुभयो, ‘हाम्रा साथीहरुको झुठा मुद्दा खारेज गरी जेलमा रहेकालाई रिहा गर्ने भनिएपनि अझै साथीहरु रिहा भएको छैन ।’
उहाँले राजनीतिक क्रान्ति अझै पुरा नभएको जिकिर गर्नुभयो । ‘कसैले राजनीतिक क्रान्ति सकियो, अब आर्थिक क्रान्ति गर्नुपर्छ भनी रहेका छन । व्यवस्था परिवर्तन नभइकन क्रान्ति सकिँदैन । दलाल संसदिय व्यवस्था भएसम्म राजनीतिक क्रान्ति सकिँदैन,’ उहाँले भन्नुभयो, ‘व्यवस्था परिवर्तन नभइकन आमूल परिवर्तन सम्भव छैन । देशलाई आर्थिक समृद्धिमा लग्न सकिँदैन ।’
उहाँले पत्रकारहरुले राजनीतिमा भइरहेको दलालीकरणको निरन्तर खबरदारी गरिरहनुपर्ने बताउनुभयो । पत्रकारिता वर्गिय पक्षधरता हुनुपर्ने बताउँदैं उहाँले अन्धभक्त भन्दा पनि पार्टीका नेताका कमीकमजोरी पनि पत्रकारिताले केलाउन सक्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पत्रकारले पेटका लागि भन्दा पनि समाजका विकृति विसंगती विरुद्ध कलम चलाउनुपर्ने खाँचो औंल्याउनुभयो । भक्तपुरमा भएका विकृति, विसंगती र भ्रष्टाचारका विरुद्ध कलम चलाउन आग्रह गर्दै सिंहले भन्नुभयो, ‘हामीसँग थुप्रै प्रमाणहरु छन। यहाँका भ्रष्टाचार र विसंगती विरुद्ध । तपाईहरु आँट गर्नुहोस हामी प्रमाण दिन्छौं ।’
उहाँले भक्तपुरमा देश र जनताको लागि बलिदान दिनेदेखी संसदिय राजनीतिका कुरुप पात्रहरु समेत बस्ने गरेको टिप्पणी गर्नुभयो । ‘सांसद अपहरण गर्नेदेखी गुन्दागर्दीका नाइकेहरु भक्तपुरमा छन। संसदिय व्यवस्थामा यस्तै नेताहरु जन्मिन्छन,’ उहाँले भन्नुभयो ।
उहाँले नेकपा निर्वाचनलाई स्विकार्न तयार रहेको बताउनुभयो । ‘अहिलेको जस्तो व्यक्ति चुन्ने निर्वाचन नभई व्यवस्था चुन्ने निर्वाचन गरौं । वैज्ञानिक समाजवादी व्यवस्था गरौं । हामी निर्वाचन स्विकारेर अघि बढ्न तयार छौं ।’ अहिलेको निर्वाचन प्रणाली देश जनताको हितमा नभएको दावी गर्दै उहाँले भन्नुभयो, ‘दिपक मनाङे जस्ता व्यक्ति चुन्ने निर्वाचन पनि कसरी ठीक हुन सक्छ ।’


कार्यक्रममा नेकपा भक्तपुर जनसरकार प्रमुख नविन बिष्टले मध्यम वर्गलाई एकिकृत गरेर विकासको बाटोमा लैजान अहिलेको संविधानले नसक्ने भएकाले अहिलेको संविधानलाई नेकपाले अपूर्ण भएको ठहर गरेको बताउनुभयो । उहाँले नेतृत्व दलालीकरणमा फस्दै गएकाले पटक पटक क्रान्ति र संविधानमा आक्रमण भइरहेको बताउनुभयो । ‘क्रान्तिलाई क्षति गर्न विदेशी एजेन्टहरुले पत्रकार, सुरक्षा, कुटनीति मार्फत काम गर्ने भएकाले पत्रकारहरु सचेत बन्नुपर्छ,’ उहाँले भन्नुभयो ।
उहाँले पत्रकारलाई विचार योद्धा, जनताका जागरुक र क्रान्तिलाई सफलता दिलाउन मद्दत गर्ने योद्धाको संज्ञादिँदैं प्रतिक्रियावादीहरुसँग पत्रकारहरु सचेत बन्नुपर्ने सुझाव दिनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले राज्य अझैपनि सञ्चारक्षेत्रलाई नियन्त्रण गर्ने प्रयासमा रहेको बताउनुभयो । ‘विभिन्न विधेयकका नाममा सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने हरकत गर्दैछन । संघीय संसद र प्रदेशसभामा प्रेस विरोधी विधेयक आएका छन, यसको डटेर सामना गर्नुपर्ने अवस्था छ,’ उहाँले भन्नुभयो, ‘नेपालको हरेक लोकतान्त्रिक आन्दोलन र व्यवस्था परिवर्तनमा महत्पूर्ण भूमिका खेलेको सञ्चारक्षेत्रलाई परिवर्तनपछिको सरकारको समेत वक्रदृष्टि रहने गरेको छ ।’
उहाँले पत्रकार महासंघ पत्रकारहरुका साझा मुद्दामा सबै संघ संगठनसँग हातेमालो गर्दै अघि बढ्ने तयार रहने बताउँदैं साझा मुद्दामा सबै एक ठाउँमा उभिनुपर्ने खाँचों औंल्याउनुभयो ।
जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य जानकी चौधरी र जितेन्द्र महर्जन र भेला आयोजक समितिका संयोजक शेषराज बरालले पत्रकारहरु सरकारी नियुक्ति, कसैको सल्लाहकार र नोकरीमा फस्न नहुने बताउँदैं त्यस्ता पत्रकारहरुले राज्यसत्ता भित्रको विसंगती विकृतिलाई उजागर गर्न नसक्ने ठोकुवा गर्नुभयो ।
भेलाले नरेन्द्र रौलेको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । भेलाले उपाध्यक्षमा लक्ष्मण लम्साल, सचिवमा अरुण ओली, सहसचिवमा चतुर्भुज, कोषाध्यक्ष प्रकाश महतारा र सदस्यहरुमा मेघराज सेवा, सुकदेव उपाध्याय चयन गरेको भेला संयोजक बरालले जानकारी दिनुभयो ।