लक्ष्मी गारु, भक्तपुर, असार १५
असार १५ को अवसरमा रोपाईंमा मात्र होइन घरघरमा दही चिउरा खाने लोकपरम्परा रहेको छ । केही वर्षदेखी असार १५ लाई सरकारले राष्ट्रिय धान दिवसको रुपमा पनि मनाउँदैं आएका छन । दही चिउरा खाने परम्पराले असार १५ मा बजारमा दहीको अत्याधिक माग हुने गरेको छ ।
भक्तपुर दहीको लागि प्रसिद्ध छ । यहाँको जुजु धौ विश्व प्रसिद्ध रहेको छ । दहीका पारखीहरु मात्र होइन सर्वसाधारण जो सुकैलाई यहाँको दहीले मन लोभ्याउने गर्दछ । जुजु धौको लोकप्रियताले ने यसको व्यवसाय पनि फस्टाएको छ । भक्तपुरको मौलिक उत्पादन जुजु धौं को स्वाद र गुणस्तरका कारण यसको माग बढेसँगै व्यवसाय पनि फस्टाएको हो ।
नेवारी परम्परा अनुसार जन्मोत्सव, शुभकर्म, यात्रा, सफलता र ठूलो दुर्घटना पार लागेको अवस्थामा दिईने सगुन होस या भोज दहीको उपयोग अनिवार्य मानिन्छ । पछिल्लो समय पार्टी भोज लगायत दैनिक उपभोगमा समेत दहीको प्रयोग बढ्दै गएको छ ।
भक्तपुरको जुजु धौले काठमाण्डौं उपत्यकालगायत काभ्रेको बनेपा, पनौती, धुलिखेल । नुवाकोटको त्रिशुलीजस्ता छिमेकी शहरमा समेत माग रहेको भक्तपुर जुजु धौ व्यवसायी संघका अध्यक्ष कृष्णगोपाल सैंजुले बताउनुभयो । ‘दहीको प्रयोगको दायरा फराकिलो बन्दै गएसँगै जुजु धौंको माग समेत दिनदिनानु बढ्दो छ,’ उहाँले भन्नुभयो, ‘झन विवाहको सिजनमा त माग धान्न नै धौ धौ हुने गर्दछ,’ उहाँले भन्नुभयो ।
ठूला विवाह ब्रतवन्धजस्ता भोजमा डेरीको दही प्रयोग गर्ने पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीहरुले समेत अचेल जुजु धौ प्रयोग गर्न थालेको सैंजुले बताउनुभयो । कोरोना महामारीले ठूला भोज आयोजना नहुँदा भने यो बेलामा भने दहीको मागमा पनि कमी आएको उहाँले बताउनुभयो ।
जुजु धौ बनाउने विधि
जुजु धौ परम्परागत शैलीबाट बनाउने गरिन्छ । जुजु धौं तयार गर्न सबै भन्दा पहिले दही बनाउने स्थानमा आवश्यकता अनुसार भुस बिछ्याइन्छ । जुजु धौ बनाउन दुधलाई बाक्लो हुने गरी राम्रोसँग चलाउँदैं उमाल्नुु पर्दछ । दुध उमाल्दा कम्तिमा ४० लिटर दुधलाई ३० लिटर हुनेगरी उमाल्नुपर्ने व्यवसायीहरु बताउँछन । उमाल्न पुगेपछि भुसमाथि राखेको माटोको कटारामा पहिले कटाराको आधा भाग मात्र दुध राख्नु पर्दछ । उक्त दुध सेलाएपछि बाँकी आधा दुधसँगै दहीको ‘बिऊ दही’ (जोरन) राखेर माथिबाट कटाराले नै छोप्नुपर्छ । त्यसलाई माथिबाट बाक्लो सिरक या केही न्यानो हुने ओढ्नेले छोपेर राखिन्छ । करिब ४–५ घण्टा पछि जुजु धौ तयार हुन्छ ।
‘जुजु धौ बनाउन ४० लिटर दुधलाई उमालेर ३० लिटर बनाउनुपर्छ । यति बाक्लो गरी उमालेको दुधबाट बनेको दही नै जुजु धौ हो,’ सैंजुले भन्नुभयो, ‘जति बाक्लो हुने गरी दुध उमालिन्छ, जुजु धौ त्यति नै बढी स्वादिलो हुन्छ ।’
मल्लकालदेखी जुजु धौको उपमा
भक्तपुरको स्थानीय दहीलाई मल्लकालदेखी जुजु धौको उपमा दिएको संस्कृतिकर्मीहरु बताउँछन । मल्लकालमा दरबारमा उपयोग गर्ने दहीलाई जुजु धौ भन्ने गरेको संस्कृतिकर्मी ओम धौभडेलले बताउनुभयो । ‘मल्लकालिन समयमा अत्यन्त स्वादिलो, बाक्लो र मसलायुक्त दही दरवारमा मात्र प्रचलनमा थियो त्यसैले सो गुणस्तरयुक्त दहीलाई जुजु धौको उपमा दिएको हो’, धौभडेलले भन्नुभयो, ‘अचेल यो सर्वसाधारणले पनि उपयोग गर्दछन ।’
जुजु धौको विशेषता
जुजु धौंको प्रमुख विशेषता यसको स्वाद नै हो । न अमिलो न गुलियो, मग मग बास्नादार स्वादिलोपना नै जुजु धौको प्रमुख विशेषता हो । चक्कुले टुक्रा टुक्रा पारेर काट्न मिल्नु, माटोको कटारोको दहीलाई घोप्ट्याएपनि नपोखिने यसको अर्को विशेषता हो ।
जुजु धौ भक्तपुरको पहिचानको रुपमा स्थापित भएको छ । जुजु धौंको स्वाद र गुणस्तर नेपालमा मात्र होईन विदेशमा समेत प्रख्यात रहेको छ । त्यसैले भक्तपुर घुम्न आउने स्वदेशी र विदेशी पर्यटक दहीको स्वाद चाखेर मात्रै जाने गर्दछन ।
जुजु धौको मौलिकता पहिलो यसको स्वाद हो भने दोस्रो माटोको भ्यगः अर्थात कटारो हो । दही बनाउने विशेष विधि मात्र होइन यसको स्वाद र गुणस्तरका कारण पनि यो लोकप्रिय रहेको छ ।
काठ क्षेत्रमा गाईभैंसी पालन व्यवसाय हराउँदै जानु र कुमालेहरुले पनि भ्य् बनाउन छाड्नु तथा बजारले पनि प्लाष्टिकका बट्टाको माग गर्नुले भने जुजु धौको मौलिकता भने संकटमा पर्न थालेको व्यवसायीहरु बताउँछन । जुजु धौको नाममा साधारण दहीको व्यवसाय गर्नाले पनि जुजु धौको मौलिकता जोगाउन चुनौतीपूर्ण बन्दै गएको उनीहरुको भनाई छ ।
स्थानीय पाठ्यक्रममा जुजु धौ
दहीका पारखीहरु मात्र होइन सर्वसाधारण सबैले भक्तपुरको जुजु धौलाई स्वादिष्ट मान्छन । मल्लकालमा स्वादिलो दहीको प्रतिष्पर्धामा भक्तपुरको जुजु धौले जितेको कथा आज पनि प्रचलित छ । भक्तपुरको यही जुजु धौको मौलिकता जोगाउन, यसको उपयोगिता, बनाउने विधि, यसको महत्वलाई संरक्षण गर्न भक्तपुर नगरपालिकाले यसलाई स्थानीय पाठ्यक्रममा समावेश गरेको छ । भक्तपुर नगरपालिकाको स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ मा जुजु धौलाई पनि समावेश गरिएको छ ।
जुजु धौ भक्तपुरको मौलिक उत्पादन भएकोले यसको संरक्षणका लागि पाठ्यक्रममा समावेश गरेको नगरपालिकाले जनाएको छ।