युरोकप २०२० – ऐतिहासिक जित निकाल्दै स्विट्जरल्यान्ड क्वाटरफाइनलमा, विश्वविजेता फ्रान्स बाहिरियो

भक्तपुर, असार १५
विश्व विजेता फ्रान्स युरोकप २०२० बाट प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । रोमानियाको बुकारेस्टमा सोमवार राती भएको खेलमा फ्रान्स स्विट्जरल्यान्डसँग ट्राईब्रेकरमा पराजित हुँदैं प्रिक्वाटरफाइनलबाटै बाहिररिएको हो ।
निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त ३० मिनेटमा पनि ३–३ को बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन उत्कृष्ट खेल प्रदर्शन गरेका युवा फरवार्ड केलियन एमबाम्पे पेनाल्टीमा गोल गर्न चुक्दा फ्रान्स युरोकपबाट बाहिरिएको हो ।


फ्रान्सका लागि पाँचौ प्रहार गर्न आएका युवा स्टार एमबाप्पेको पेनाल्टीलाई गोलरक्षक यान सोमरले विफल पारेपछि स्विट्जरल्यान्ड ऐतिहासिक जित निकाल्दै युरोकपको क्वाटरफाइनल प्रवेश गरेको हो । टाइब्रेकरमा स्विट्जरल्यान्डका सबै ५ खेलाडीले गोल गरेका थिए ।
स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन, अकान्जी म्यानुएल, रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे । फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे ।
स्विट्जरल्यान्डको यो युरो कपको इतिहासमा नकआउट चरणको पहिलो जित हो । यसअघि तीन पटक ट्राइब्रेकरमा पराजित स्विट्जरल्यान्डको यो पहिलो ट्राइब्रेकर जित पनि हो । फ्रान्सको भने सातौंपटक टाइब्रेकरमा पुग्दा यो चौथो हार हो ।


खेलमा स्विट्जरल्यान्डले अग्रता लिएको थियो । पहिलो हाफमा औसत प्रदर्शन गरेको फ्रान्स हरिस सेफेरोभिचको गोलमा पछि परेको थियो । खेलको १५ औं मिनेटमा हरिस सेफेरोभिचले स्टेभन जुबरको पासमा हेडरमार्फत उत्कृष्ट गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए ।
पहिलो गोलमा गल्ती गरेका लेंगलेटलाई दोस्रो हापमा फ्रान्सले परिवर्तन गर्दै उनको स्थानमा किंग्सले कोमानलाई मैदान पठाउँदै आक्रामक रणनीति अपनाए । फ्रान्सले एक गोलले पछि परेको अवस्थामा दोस्रो हापमा लगातार ३ गोल गर्दै खेलमा एक समय ३–१ को अग्रता बनाएको थियो ।
एक गोलले पछि परेको फ्रान्समाथि खेलको ५५ औं मिनेटमा अर्को संकट आइलाग्यो । फ्रान्सका बेन्जामिन पाभार्डले जुबरलाई पेनाल्टी क्षेत्रभित्र लडाएको भन्दै भीएआरले पेनाल्टी दिएपछि फ्रान्स थप दवाबमा परेको थियो । तर रिकार्डो रोड्रीग्वेजले प्रहार गरेको पेनाल्टीलाई कप्तान लोरिसले विफल पार्दै फ्रान्सलाई थप संकटबाट जोगाए ।
स्विट्जरल्यान्डले पेनाल्टीमा अग्रता दोब्बर पार्ने सुवर्ण अवसर खेर फालेपछि फ्रान्सले लगातार गोल गर्दै खेलमा पकड जमायो । पेनाल्टीमा चुकेको २ मिनेट नबित्दै स्विट्जरल्यान्डले गोल खान पुग्यो । करिम बेन्जेमाले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट बल नियन्त्रण र फिनिसको नमुना प्रस्तुत गर्दै फ्रान्सलाई बराबरीमा ल्याएका थिए । उनले किलियन एमबाप्पेले आफ्नो पछाडीबाट दिएको पासलाई उत्कृष्ट ढंगले पहिलो टचमा नियन्त्रण गर्दै दोस्रो टचमा गोलरक्षकलाई बिट गर्दै गोल गरेका थिए ।


बराबरी गरेको दुई मिनेटपछि बेन्जेमाले नै फ्रान्सलाई अग्रता दिलाए । खेलको ५९ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्सले २–१ को अग्रता बनायो । उनले एन्टोनियो ग्रीजम्यानको पासमा हेड मार्फत गोल गरे । अघिल्लो गोलमा देखिएको एमबाप्पे, बेन्जेमा र ग्रिजमन बीचको साझेदारी यस गोलमा पनि निर्णायक बनेको थियो ।
खेलको ७५ औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै फ्रान्सलाई ३–१ गोलको अग्रता दिलाए । पोग्बाले बक्स बाहिरबाट विश्वस्तरीय गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । पेनाल्टी क्षेत्रको बाहिरबाट पोग्बाले गरेको प्रहार टप कर्नरमा गोल भएको थियो । गोलरक्षक यान सोमरले डाइभ दिएपनि उक्त बलसम्म पुग्न सकेनन् ।

तर ८१ औं मिनेटमा सेफेरोभिचले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्समाथि दवाब बढाए । केभिन एम्बाबुको क्रसमा सेफेरोभिचले हेडरमार्फत गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याएका थिए ।
खेलको ९० औं मिनेटमा दृष्यमा देखिए गाभ्रनोभिच । शाकिरीको स्थानमा ७४ औं मिनेटमा मैदान प्रवेश गरेका उनले कप्तान ग्रानिटको पासमा गोल गर्दै स्विटजरल्यान्डलाई खेलमा मात्र फर्काएन खेललाई अतिरिक्त समयमा धकेल्यो ।
अतिरिक्त समयमा केही मुभ बनेपनि दुवै टोलीले गोल गर्न सकेन । ९५ औं मिनेटमा पाभार्डको प्रहारलाई गोलरक्षक सोमरले विफल पारे । ९८ औं मिनेटमा कोमनको प्रहार पोस्टको बाहिरि भागमा लाग्दा फ्रान्सले अग्रता लिन चुक्यो । १ सय ९ औं मिनेटमा एमबाप्पेले अवसर सदुपयोग गर्न सकेनन् । पोग्बाको पासबाट वन भर्सेस वनको स्थितिमा उनको खराब प्रहारले गोलरक्षकलाई कुनै समस्या दिन सकेन ।


खेलको १ सय १३ औं मिनेटमा पोग्बाको पासमा मार्कस थुरामले दिएको क्रसलाई जिरुडले पोस्टतर्फ प्रहार गरेपनि एमबाप्पेलाई लाग्दै बल बाहिरिएको थियो । १ सय १९ औं मिनेटमा जिरुडको हेडरलाई सोमरले बचाउँदै फ्रान्सलाई अघि बढ्न दिएन र खेल टाइब्रेकरमा पुगयो ।
टाइब्रेकरमा पहिलो प्रहार गरेको स्विट्जरल्यान्डका लागि मारिओ ग्राभानोभिच, फाबियन सेर, म्यानुएल अकान्जी, रुबेन भार्गास र आदमिर मेहमेदी सबैले गोल गरे । फ्रान्सका लागि पल पोग्बा, ओलिभिएर जिरुड, मार्कस थुराम र प्रेस्नेल किम्पेम्बे गोल गरेपनि पाँचौ प्रहार गर्न आएका एम्बाप्पे गोल गर्न चुके ।
उनको प्रहारलाई गोलरक्षक यान सोमरले विफल पार्दै स्विटरजरल्यान्डलाई ६७ वर्षपछि पहिलो पटक मुख्य प्रतियोगिताको क्वाटरफाइनलमा पुर्याए । यस अघि स्विट्जरल्यान्ड १९५४ को विश्वकपमा क्वाटरफाइनल पुगेको थियो ।