युरो २०२० – रोमाञ्चक खेलमा स्पेन ५–३ ले क्रोएसियालाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

भक्तपुर, असार १५
रोमाञ्चक र सनसनपुर्ण खेलमा तीन पटकको च्याम्पियन स्पेन क्रोएसियालाई ५–३ गोलले पराजित गर्दै १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । डेनमार्कको कोपनहेगनस्थि पार्केन रंगशालामा सोमबार राती सम्पन्न खेलमा स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक एक गोल गरे । क्रोएसियाका मिस्लाभ ओर्सिच र मारियो पासालीचले एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाए ।
खेलमा स्पेन हावी भएपनि अग्रता भने क्रोएसियाले लिए । खेलको शुरुवातदेखी नै क्रोएसियालाई दवाबमा राखेको स्पेनले एकपछि अर्को आक्रमण गरेपनि फिनिसिङ गर्न सकेको थिएन । यस्तैमा खेलको २० औं मिनेटमा स्पेनले उल्टै गोल खान पुग्यो । क्रोएसियाले २० औं मिनेटमा आत्मघाती गोल उपहार पाएर खेलमा महत्वपूर्ण अग्रता बनाए ।
पेड्रीको ब्याक पासमा स्पेनका गोलकिपर उनाई सिमोनले आत्मघाती गोल गरेका थिए । पेड्रीले मैदानको बीच भागबाट आफ्नो गोलरक्षक उनाइ सिमोनलाई व्याप पास दिएका थिए । गोलरक्षक सिमोनको ठिक अगाडि झरेको बल उनको खुट्टालाई छुँदै पोस्टमा छिरेको थियो । युरोको यस संस्करणमा यो नवौं आत्मघाती गोल हो भने आत्मघाती गोल गर्ने सिमोन चौंथो गोल किपर हुन् ।


अप्रत्यासितरुपमा एक गोलले पछि परेको स्पेनले खेलको ३८ औं मिनेटमा बराबरी गोल गरे । अल्भारो मोराटाको प्रहार क्रोएसियाका गोलकिपर डोमिनिकले रोकेपछि प्राप्त रिबाउन्डमा सराबियाले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा ल्याए ।
पहिलो हाप १–१ को बराबरीमा सकिएको खेलको दोस्रो हापमा पनि स्पेनले आक्रमक शुरुवात गरे । परिणाम खेलको ५७ औं मिनेटमा स्पेनले सफलता प्राप्त गरे । अज्पिलिकुइटाले गोल गर्दै ५७ औं मिनेटमा स्पेनलाई २–१ को अग्रता दिलाए । उनले फेरान टोरेसको क्रसमा हेडमार्फत गोल गरेका हुन् ।
६६ औं मिनेटमा आन्टे रेबिचको प्रहारलाई गोलरक्षक सिमोनले सानदार बचाउ गरे । पेनाल्टी क्षेत्रको ठिक भित्रबाट उनले गरेको शक्तिशाली प्रहारलाई सिमोनले आफ्नो बायाँतर्फ डाइभ गर्दै बचाएर खेल बराबरी हुन बाट जोगाए ।
खेलको ७२ औं मिनेटमा स्पेनले अग्रता दोब्बर पारेपनि भीएआरले गोललाई मान्यता दिएन । मोराटाले सहज गोल गरेपनि उनी बल आउनुअघि नै गोललाइन नजिक रहेकाले भीएआरले अफसाइडको निर्णय दिएको थियो ।
खेलको ७७ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई ३–१ को अग्रता दिलाए । उनले पाउ टोरेसको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ढंगले नियन्त्रणमा लिँदै गोलरक्षक लिभाकोभिचलाई बिट गर्दै गोल गरेका थिए ।
स्पेन जितको नजिक पुगेको बेला वैकल्पिक खेलाडीकोरुपमा मैदान प्रवेश गरेका क्रोएसियाका मिस्लाभले खेलको नक्सा बदले । उनले खेलको ८५ औं मिनेटमा गोल गर्दै स्पेनमाथि दवाब बनाए । उनी ६७ औं मिनेटमा एन्टी रेबिकको स्थानमा मैदान प्रवेश गरेका थिए ।


मैदानको ६ यार्ड बक्सभित्र लगातार एकपछि अर्को क्रोएसियाली खेलाडीको प्रहारलाई स्पेनिस रक्षकहरुले रोकेपनि भिडियो असिस्टेन्ट रेफ्रीले मिस्लाभ ओर्सिचको प्रहारलाई एज्पिलीक्वेटाले पोस्टभित्र छिरेर रोकेपछि गोलको मान्यता दिएका थिए ।
खेलको इन्जुरी समयको दोस्रो मिनेटमा क्रोएसियाका अर्को वैकल्पिक खेलाडी मारियोले गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याए । उनले मिस्लाभको पासमा हेडरमार्फत गोल गरेका थिए । मारियो ७९ औं मिनेटमा निकोलाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

निर्धारित समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गयो । अतिरिक्त समयको ३० मिनेटमा स्पेनले २ गोल गर्न सफल भयो र खेल ५–३ ले आफ्नो पक्षमा पार्दै क्वाटरफाइनलमा प्रवेश ग¥यो ।
स्पेनका लागि खेलको १०० औं मिनेटमा मोराटाले गोल गर्दै ४–३ को अग्रता दिलाए । ड्यानी ओल्मोले दायाँ विंगबाट दिएको क्रस डिफेन्डरले भेट्न नसक्दा मोराटाले पहिलो टचमा बललाई नियन्त्रणमा राख्दै हाफ भलीमा सुन्दर गोल गरे । उनको शक्तिशाली प्रहारलाई लिभाकोभिचले जोगाउने कुनै अवसर नै पाएनन् ।
खेलको १ सय ३ औं मिनेटमा मिकेल ओयाराज्बालले पेनाल्टी क्षेत्रभित्र संयमित रहेर फिनिस गर्दै स्पेनलाई ५–३ ले अघि बढाएका थिए । अफसाइड ट्रयाप बिट गर्दै अघि बढेका ओल्मोले दिएको लो क्रसलाई ओयाराज्बालले राम्रो फिनिस गरेका थिए ।
यससँगै स्पेन क्वाटरफाइनलमा पुग्ने पाँचौं टिम बनेको छ । अब स्पेनले अन्तिम आठमा स्विट्जरल्यान्डसँग खेल्नेछ । स्पेनले समूह ’ई’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको थियो । समूह चरणमा स्पेनले ३ खेलमा ५ अंक जोडेको थियो । क्रोएसियाले समूह ’डी’ बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको थियो । क्रोएसियाले ३ खेलमा ४ अंक जोडेको थियो ।