भक्तपुर, भदौ ४
श्रावण शुक्लपक्षको पञ्चमीको अवसरमा आज सोमवार हिन्दु धर्मावलम्बीहरूले विधिपूर्वक नागको पुजा गरी नागपञ्चमी पर्व मनाईंदैछ । यस दिन विशेष विधिपूर्वक दूध, दही, धूप, दीप, नैवेद्य चढाएर घरको दैलामा अष्ट नाग (अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख) साथै गँगटो, बिच्छी जस्ता विषालु जीवको मूर्ति अङ्कित तस्वीर विशेष पूजासहित नागको फोटो टाँस्ने चलन छ । यसरी विधिपूर्वक नागपूजा गरेर घरको दैलोमा टाँस्दा सर्पले नडस्ने, घरमा आगो र चट्याङको डर नहुने जनविश्वास पनि रहँदै आएको छ ।
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन बिहानै घर दैलो सफा गरी शुद्ध गरेर मूलढोकामाथि विभिन्न रंग प्रयोग गरी बनाइएको नागको चित्र गोबरले टाँसेर गाईको दूध र दुवो चढाई पूजा अर्चना गर्ने परम्परा छ ।
रोपाइँका लागि पानी पार्न नागहरूले सहयोग गरेको र अब रोपाइँ सकिएकाले उनीहरूप्रति कृतज्ञता ज्ञापन गर्न त्यसरी पूजा अर्चना गरेको भन्ने लोककथन छ ।
यस दिन काली नागको बासस्थान रहेको विश्वास गरिएको पाटनको धापाखेल, कर्कोटक नागको बासस्थान टौदह र नक्सालको नाग पोखरीमा मेला लाग्ने गर्दछ ।
भक्तपुरमा भने नाग पञ्चमीको अवसरमा चाँगुनारायणमा ठूलो मेला लाग्ने गर्दछ । यसदिन भक्तपुरका अधिकांश नेवार समूदाय चाँगुनारायणको दर्शनका लागि जाने प्रचलन रहेको छ । गुँला पर्वको अवसरमा गुँला बाजा, गुँला यात्रा निकालेका बाजागाजाको समूह पनि यस दिन चाँगुनारायणको दर्शनका लागि जाने गर्दछ ।
नेवार समुदायले नाग पञ्चमीको दिन विहानै घरसफा गरेर नुहाईधुवाई गरी चाँगुनारायणको दर्शन गरी फर्केर घरको मुलढोकामा नागको तस्बिर टाँस्ने परम्परा छ । यसरी नागको तस्बिर टाँस्नाले वर्षदिनमा घरमा नाग, सर्पले दुःख नदिनुका साथै नारायण देवताको असिम कृपा प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
नाग पञ्चमीको अवसरमा चाँगुनारायण मन्दिर लगायत भक्तपुरको वाखुपति नारायण, लिखा नारायण र तिलमाधव नारायण मन्दिरमा दर्शनार्थीको भिड लागेको छ ।
विशेष गरेर यस दिनदेखि वर्षायामको समाप्ति हुने जनविश्वास रहँदै आएको छ । नागपञ्चमीको प्रचलन कहिलेबाट भयो भन्ने सम्बन्धमा विभिन्न खालका किंवदन्तीहरू पाइन्छ । विशेषतः वैदिक कालदेखि नै नागलाई सर्पका राजाको रूपमा पूजा गर्दै आएको हो भन्ने विश्वास रहेको छ ।
महाभारतमा परीक्षित नामका राजालाई नागले डसेर मृत्यु भएपछि उनका छोरा जनमेजयले संसारका सम्पूर्ण सर्प मार्न यज्ञ लगाएर यज्ञमा भष्म बनाउन खोजेको अवस्थामा इन्द्रसँगै आएका अस्तिकाले माफी मागेपछि यज्ञमा हवन हुन लागेका सम्पूर्ण सर्पहरू बाँचेकाले श्रावण शुक्लपक्षको पञ्चमीका दिन विशेष पूजापाठ गरिएको भन्ने विश्वास रहेको छ ।
यसरी नै वर्षाकालमा विशेषगरी नाग, सर्पले धेरै दुःख दिने हुनाले तिनीहरूलाई खुशी पार्नको लागि वर्षाको समयमा विशेषतः श्रावण शुक्लपक्षको पञ्चमीका दिन नागहरूको पूजा गर्ने प्रचलन रहेको जनविश्वास पाइन्छ ।
कसै–कसैले यसलाई पानीसँग जोडेका छन् । नाग रिसाए भने पानीको अभाव हुने हुँदा सम्पूर्ण जीव, जगत अप्ठ्यारोमा परेको बेला नागले पानी पारेर सबैको रक्षा गरेको कुरा किंवदन्तीमा पाइन्छ । बहुमूल्य मणिलाई शिरमा धारण गरेको नागलाई शिव, विष्णु, गणेश, गोरखनाथ, कृष्ण मत्स्येन्द्र नाथका कथामा समेत प्रसङ्ग जोडिएको कारण नाग र नागपञ्चमीको महत्त्व बढेको बताइन्छ ।
काठमाडौं उपत्यकामा भने नाग रिसाए भने चोभारमा पहिरो जाने र पहिले जस्तै उपत्यकामा पानी जम्ने र समस्या आउन सक्छ भनेर नागलाई विधिपूर्वक पूजाआजा गर्ने गरेको किंवदन्ती छ ।