स्पेनले जित्यो महिला फिफा विश्वकपको उपाधि

भक्तपुर, भदौ ३
महिला फिफा विश्वकपको उपाधि स्पेनले जितेको छ । अष्ट्रेलियाको सिडनीस्थित स्टेडियम अष्ट्रेलिया सिड्नीमा शनिबार भएको फाइनलमा इंग्ल्यान्डलाई १–० ले पराजित गर्दै स्पेन पहिलो पटक विश्वकपको उपाधि जितेको हो ।
स्पेनलाई उपाधि दिलाउन खेलको ३० औं मिनेटमा कप्तान ओल्गा कारमोनाले गरेको गोल नै निर्णायक बन्यो । मोरिओना कालडेन्टेको दिएको पासमा डिफेन्डर रहेकी कप्तान ओल्गाले ओभरल्यापमा जाँदै सहजै गोल गर्न सफल भइन् ।
यससँगै २३ वर्ष ६९ दिनकी ओल्गा विश्वकपको फाइनलमा गोल गर्ने चौथो कान्छी खेलाडी बनेकी छिन् । विश्वकपमा गोल गर्ने कान्छी खेलाडी एलेक्स मोर्गान हुन् । उनले सन् २०११ मा २२ वर्ष १५ दिनको उमेरमा गोल गर्दै कीर्तिमान बनाएकी थिइन् ।


उपाधि भिडन्तमा स्पेनले शानदार प्रर्दशन गर्यो । बल पोजिसनमा उत्कृष्ट देखिएको स्पेनले गोलका धेरै अवसर सिर्जना गरेको थियो । खेलको ७० औं मिनेटमा जेनिफर हर्मोसोले पेनाल्टी मिस गरेपछि स्पेनले खेलमा अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो । पेनाल्टी बक्समा केइरा वाल्सले हातले बल छुन पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै स्पेनलाई पेनाल्टी प्रदान गरेको थियो । जेनिफर हर्माेसोको पेनाल्टी प्रहारलाई इंग्ल्यान्डकी गोलरक्षक मेरी अप्र्सले बचाइन् ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको १६औं मिनेटमा लौरेन हेम्पको प्रहार क्रसबारमा लाग्दै फर्कदा इंग्ल्यान्ड अग्रता लिनबाट चुकेको थियो । काउन्टर अट्याकमा जर्जिया स्टानवेको क्रसमा रचेल डालीको कटब्याकलाई हेम्पले गरेको प्रहार क्रसबारमा लाग्दै फर्किएको थियो ।
लगत्तै १७औं मिनेटमा इंग्ल्यान्डकी गोलरक्षक मारी अर्पसले अल्वा रेडोन्डोको क्लोज रेन्जको प्रहारलाई विफल पार्दा स्पेन पनि अग्रता लिनबाट चुक्यो । मारिओना कालडेन्टेको क्रसलाई साल्माले राम्रोसँग प्रहार गर्न नसकेपनि डिफलेक्ट हुँदै आएको बललाई रेडोन्डोले गरेको प्रहारमा गोलरक्षक मारी बाधक बनिन् ।
२९औं मिनेटमा कप्तान ओल्गा कारमोनाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाइन् । मोरिओना कालडेन्टेको दिएको पासमा डिफेन्डर रहेकी कप्तान ओल्गाले ओभरल्यापमा जाँदै सहजै गोल गर्न सफल भइन् ।


३७औं मिनेटमा एरिन पारेडेसको प्रहार पहिलो बार च्याप्दै थोरै बाहिरिदा स्पेन अग्रता दोब्बर पार्नबाट चुक्यो ।
४३औं मिनेटमा लौरेने हेम्पको क्रसमा एला टुनले सुवर्ण अवसर पाएपनि फाइनल टच दिन नसक्दा इंग्ल्यान्ड बराबरीबाट चुक्यो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा ओना ब्याटलको पासमा साल्माको प्रहार पोस्टमा लाग्दै बाहिरिदा स्पेनले अग्रता बढाउन सकेन ।
५४औं मिनेटमा चोल केलीको क्रसमा हेम्पको हाफ भली प्रहारलाई पोस्ट नजिकैबाट थोरैले बाहिरिदा इंग्ल्यान्डले खेललाई बराबरी गर्न सकेन । ६२औं मिनेटमा जेनिफर हर्माेसोको पासमा बोनामातीको पेनाल्टी बक्सबाहिरको प्रहार आकासियो ।
७६औं मिनेटमा लौरेन जेम्सको प्रहारलाई स्पेनलाई गोलरक्षक क्याटालिना कुलले पञ्च गर्दै बचाउँदा स्पेनलाई खेलमा कायम राखिन् ।
दुवै टोली पहिलोपटक फाइनलमा पुगेको हो । महिला विश्वकपमा स्पेन च्याम्पियन हुने पाँचौ राष्ट्र बनेको छ । यसअघि अमेरिकाले चार, जर्मनीले दुई तथा जापान र नर्वेले समान एक पटक उपाधि जितेका छन् ।
स्पेनले विश्वकप उपाधि जित्न समूह चरणको खेलमा दुई जित र एक हार व्यहोरेको थियो । समूह सी मा रहेको स्पेनले पहिलो खेलमा कोस्टारिकालाई ३–० र दोस्रो खेलमा जाम्वियालाई ५–० ले पराजित गरेको थियो भने तेस्रो खेल जापानसँग ४–० ले पराजित भएको थियो ।
प्रि–क्वाटरफाइनलमा स्पेनले स्वीट्जरल्यान्ड ५–१ ले हराउँदैं क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो भने सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्सलाई २–१ ले पराजित गरेको थियो । फाइनल प्रवेशका लागि स्पेनले सेमिफाइनलमा स्विडेनलाई २–१ ले पराजित गरेको थियो ।
प्रतियोगितामा जापानकी हिनाटा मियाजावा ५ गोलसहित सर्वाधिक गोलकर्ता बनिन । इंग्ल्यान्डकी गोलरक्षक मेरी अप्र्स उत्कृष्ट गोलकिपर घोषित भइन ।