लक्ष्मी गारु, भक्तपुर, चैत्र २७
भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजबाट शुरु हुँदैछ । भक्तपुरमा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाईने यो जात्रा तमारी (टौमढी)स्थित पाँचतल्ले मन्दिर अगाडि निर्माण गरिएको भैरव नाथको रथलाई तानातान गर्दै जात्राको शुरुवात गरिन्छ ।
काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने(माथिल्लो) र क्वने(तल्लो) टोलमा तानेर लैजाने परम्परा रहेको छ । रथ तान्नु अघि भैरवनाथको विधिवत पुजा गरी रथमा खड्ग, तरवार, निशान राख्ने गर्दछ ।
रथको अगाडि भागमा पाँच वटा र पछाडि चार वटा लामो डोरी राखिएको हुन्छ । जात्रालुहरुले सोही डोरीको माध्यमबाट रथलाई तानेर आ—आफ्नो टोलमा लैजाने गर्दछ । जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो ।
पहिलो दिनमा भैरवनाथको रथ तानेर क्वने (तल्लो) टोलको तमारी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वशंगोपाल, तेखापुखु र थने (माथिल्लो) टोलको क्वाछेँ, साकोठा, सुकुलढोका, गोमारी, सोङ्गलो, दत्तात्रयसम्म रथ तानेर पुनः गःहिटीमा पु¥याई जात्रा सम्पन्न गरिन्छ । रथ तानेर लादा दत्तात्रय मन्दिर अगाडिको भिमसेन मन्दिर र बेतालको मुख जुधाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ ।
जात्राको दोस्र्रो दिन शुन्य भनिन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपुजाको मासु प्रसादका रुपमा लाकुलाछेबासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ ।
बिस्काको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिङ्गो उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ल्योसिङख्योमा ५५ हात लामो लिङ्गो उभ्याइन्छ । लिङ्गो उभ्याउने जात्रा बिस्काको अर्को आकर्षण रहेको छ । पुरानो वर्ष विदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हातहरु नीलो कपडाले बेरिएको हुन्छ ।
लिङ्गोको कोखामा झुण्ड्याइएका दुई ध्वजाहरुलाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजाहरु फुकाएपछि एउटा संवत फेरिने हुनाले बीचमा फुकाएर हेर्न नमिल्ने धार्मिक मान्यता छ । लिङ्गो उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छ । लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको तान्त्रिक विधिपुर्वक पूजा गरी जात्रा गर्छ । त्यसपछि न्हेसटो(सात सय टोल)मा अवस्थित बाराहीको तिंप्वाः जात्रा र खौमाको इन्द्रायणी दवीको त्वारीवा जात्रा गरी शक्ति पिठमा लाने परम्परा रहेको छ ।
बिस्का जात्रा हेर्नाले शत्रुहरु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि लिङ्गो उभ्याउने स्थानमा पु¥याइन्छ ।
बिस्का जात्राको पाँचौं दिन अर्थात नयाँ वर्ष बैशाख १ गतेका दिन साँझ अघिल्लो दिन उभ्याएको ५५ हाते लिङ्गो ढालिन्छ । लिङ्गो ढाल्नुभन्दा पहिला भैरव र बेतालको विधिवत रुपमा पुजा गरिन्छ । ढालिसकेपछि भैरवनाथ र भद्रकालीको रथलाई गाहिटी पु¥याई एक आपसमा जुधाइन्छ । जसलाई स्थानीय भाषमा खः ल्वाकिगु जात्रा भनिन्छ । यसै दिन राती तलेजुमा तान्त्रिक विधिपुर्वक दुमाजु देवीको पुजा गरी जात्रा गरिन्छ ।
बिस्काको छैठौ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ भने सातौं दिन ब्रम्हायणी र महेश्वरी देवीको चिराग बालेर मुस्याप्वा जात्रा मनाइन्छ । खलाँमा परदेशी भिमसेनको जात्रा गरिन्छ । यसैदिन बुलुचा टोलको बटुक भैरव र कुम्हाले टोलको ज्याठा गणेशको जात्रा समेत गरिन्छ । आठौ दिनमा नगरका सबै देवीदेवतालाई बाहिर राखेर क्षमा सहितको पुजा गरी सगुन जात्रा मनाइन्छ । जसलाई स्थानिय भाषामा द्यःस्वगं वियगु जात्रा भनिन्छ । यसदिन साँझ चोछेंमा छुमा गणेशको जात्रा गरिन्छ ।
जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने(माथिल्लो) र क्वने(तल्लो) टोलका बासिन्दाबाट तानातान गरी रथलाई तमारी स्थित भैरवनाथको प्राङ्गणमा पु¥याई जात्रा सम्पन्न गरिन्छ ।
सुर्यमासको आधारमा चल्ने बिस्का जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा थिमीमा प्राप्त नेपाल संम्बत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायको रुपमा बिसिक शब्द उल्लेख भएको पाईएको संस्कृतीविद् एवम् ईतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन । “भक्तपुर तमारीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलो पल्ट जात्रालाई सम्बोधन गर्दा विश्व जात्रा भनि उल्लेख गरिएको छ । त्यसैगरी भक्तपुरको राजदरबारमा नेपालसम्वत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख छ । तलेजुमा अहिलेसम्म चल्ने बिस्का जात्राको संकल्प पुजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिन्छ ।” उहाँ भन्नुहुन्छ, “यी प्रमाणका आधारमा विश्व केतु भनेको संस्कृत शब्द हो । पछिल्लो कालखण्डमा नेवारी नामाकरण अनुसार विसिक, बिस्क हुँदै बिस्का हुन पुगेको हो । त्यसैको अपभ्रंस भएर बिस्केट हुन पुगेको हो । नेवारीमा अहिले पनि बिस्का जात्रा भन्ने गरिन्छ ।”