रेनराजेनको तीन कृति एकैसाथ सार्वजनिक

भक्तपुर, असार २२
पेशाले उहाँ ईञ्जिनियर हुन । तर उहाँ बहुप्रतिभाका धनी हुनुहुन्छ । विशेष गरी उहाँ करिव दुई दशकदेखी सरसफाई, स्वच्छ वातावरण, शौचालय निर्माण अभियान, स्वस्थ र स्वच्छ पिउने पानीलगायतका क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । उहाँ हुनुहुन्छ, मध्यपुर थिमि ४ निवासी ई. राजेन्द्र श्रेष्ठ ।
तर उहाँको परिचय यत्तिमा सिमित छैन । उहाँ इतिहासको खोज तथा अनुसन्धानपनि दख्खल राख्नुहुन्छ र त्यतिकै सक्रिय पनि हुनुहन्छ । उहाँको अर्को परिचय हो, साहित्यकार, लेखक, समालोचक रेनराजेन ।
उनै रेनराजेनको तीन कृति शनिवार एकसाथ सार्वजनिक भएको छ । मध्यपुर थिमिमा नवरत्न लाईफ स्कुलले आयोजना गरेको कार्यक्रममा रेनराजेनका तीन कृति ‘सरल नेपाल लिपी वर्णमाला’, ‘लः ध्वगी मखु’ कविता संग्रह र ‘ख्वये बछि न्हिले बछि’ गजल संग्रह सार्वजनिक भएको हो ।


सार्वजनिक भएको पुस्तक ‘सरल नेपाल लिपी वर्णमाला’ नेपाली भाषामा रहेको छ भने अन्य दुई कृति ‘लः ध्वगी मखु’ कविता संग्रह र ‘ख्वये बछि न्हिले बछि’ गजल संग्रह नेपाल भाषामा रहेको छ ।
‘सरल नेपाल लिपी वर्णमाला’मा नेपाल लिपीबारे नेवारले मात्र नभई अन्य भाषाभाषीहरुले पनि जान्न र सिक्न सकुन भन्ने उद्देश्यले नेपाली भाषामा प्रकाशन गरिएको लेखक रेनराजेनले बताउनुभयो । नेपाल लिपी नेपालको मौलिक लिपी हो । यो नेवारको मात्र सम्पत्ति होइन । यो देशको सम्पत्ति हो । यो लिपीलाई नेवारको लिपी भनेर संकुचन गर्नु हुन्न भन्ने मान्यताका साथ ‘सरल नेपाल लिपी वर्णमाला’ नेपाली भाषामा लेखिएको हो, उहाँले भन्नुभयो ।
‘लः ध्वगी मखु’ कविता संग्रह विशुद्धरुपमा पानी सम्बन्धी मात्र कविता संग्रहित गर्ने उद्देश्य भएपनि केही कृति हराएको कारण करिव आधा कविता पानी र बाँकी अन्य विषयसँग सम्बन्धीत कविता रहेको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी ‘ख्वये बछि न्हिले बछि’ गजल संग्रहमा जीवनका भोगाई कहिले हाँसो र कहिले रोदन हुने भएकाले, मानव जीवनका भोगाईलाई केन्द्रमा राखी रचना गरिएका गजलको संग्रह रहेको उहाँले बताउनुभयो । संग्रहमा करिव आधा गजल जीवनको हाँसो र आधा गजल जीवनको रोदनसँग सम्बन्धीत गजल संग्रहित रहेको उहाँले जानकारी दिनुभयो ।


रेनराजेनका तीन कृति सार्वजनिक गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमिमा पछिल्लो एक दशकयता साहित्यिक गतिविधिमा कमी आएको बताउनुभयो । उहाँले विगतमा धेरै साहित्यिक जमघट हुने मध्यपुर थिमिमा पुनः स्रष्टाहरुलाई प्रोत्साहित गर्न र लुकेर बसेका प्रतिभाहरुको प्रस्फुटनका लागि साहित्यिक महोत्सव गर्न सर्जकहरुलाई सुझाव दिँदैं त्यसका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नगरप्रमुख श्रेष्ठले नेपाल भाषालाई नगरको कामकाजको भाषा बनाउन हालै सम्पन्न नगरसभाले पारित गरिसकेको जानकारी दिनुभयो ।
मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले भाषाले जति व्यापकता पाउँछ राज्य त्यति शक्तिशाली हुने गरेको इतिहास रहेको बताउनुभयो । उहाँले रेनराजेनको कृति ‘सरल नेपाल लिपी वर्णमाला’ नेपाल भाषाको जगेर्नामा एउटा महत्वपूर्ण पाइला हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नगरपालिकाले स्थानीय कला, मुर्त अमूर्त सम्पदा र संस्कृति, भजनको संरक्षणका लागि विशेष योजनाका साथ काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा भाषा र लिपीविद् अनिल स्थापितले ‘सरल नेपाल लिपी वर्णमाला’, त्रिरत्न शाक्यले ‘लः ध्वगी मखु’ कविता संग्रह र राजेन्द्र कुमार पुताले ‘ख्वये बछि न्हिले बछि’ गजल संग्रहको समिक्षा गर्नुभएको थियो ।
सो अवसरमा प्याव्सन भक्तपुरका अध्यक्ष समेत रहनुभएका नवरत्न लाईफ स्कुलका प्रिन्सिपल सुरेन्द्र श्रेष्ठले नवरत्न लाइफ स्कुलले शिक्षाका साथै विद्यार्थीहरुलाई नगरको कला संस्कृति, भाषा, साहित्यको बारेमा पनि ज्ञान दिलाउँदैं आएको जानकारी दिनुभयो ।