दिव्यश्वरी प्लानिङ क्षेत्रबाट ५६ जनाको उद्धार

भक्तपुर, असार २२
भक्तपुरको दिव्यश्वरी प्लानिङ क्षेत्रबाट शनिवार दिउँसो ५६ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । अविरल वर्षाका कारण मनोहरा खोलामा आएको बाढीले जोखिम भएपछि दिव्यश्वरी प्लानिङ क्षेत्रमा रहेको १८ वटा टहरामा बसोबास गरिरहेका ५६ जनालाई उद्धार गरिएको हो ।
उद्धार गरिएकाहरुमा ३० पुरुष, २० महिला र ६ जना बालबालिकाहरु छन । प्रहरीले सुरक्षित स्थानमा बस्ने व्यवस्था गरेपनि उनीहरु आफन्तकोमा गएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।
यसैगरी हनुमन्ते खोलामा आएको बाढीले मध्यपुर थिमि–३ स्थित आश्विन आचार्यको जस्ताको टहराको गाईगोठमा पानी पस्न गई डुबानमा परेकोमा प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरी टोलीले २ वटा गाईलाई उद्धार गरेको छ ।
यस्तै चाँगुनारायणको खोरियामा रहेको डिप बोरिङ र पानी पाले बस्ने १ तल्ले पक्की घरमा पहिरो आई बोरिङ र पालेघर जोखिममा परेको छ ।
चाँगुनरायण नगरपालिका–४ खनालचोकस्थित प्रगती टोलमा रिद्धिसिद्धि बसपार्क र खहरेबाट बगेको पानीले टोलमा डुबान भएकोमा प्रहरी प्रभाग चाँगुको प्रहरी टोली, स्थानीय जनप्रतिनिधि र स्थानीयको सहयोगमा पानी कटाई क्षति हुनबाट जोगाएको डिएसपी कार्कीले बताउनुभयो ।