शुभकामना साकोसको स्थापना दिवसमा असल ऋणी सम्मानीत

भक्तपुर, जेठ २८
भक्तपुरको सूर्यविनायकस्थित शुभकामना वचत तथा ऋण सहकारी संस्थाले २४ औं स्थापना दिवसको अवसरमा असल ऋणीहरुलाई सोमवार सम्मान गरेको छ । शुभकामनाले संस्थालाई सवल बनाउन असल ऋणहिरुको पनि योगदान रहेको भन्दै उनीहरुलाई सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष रामप्रसाद कासुलाले असल ऋणीहरुलाई नगद र कदरपत्रले सम्मान गरेको हो । सम्मानीत हुने असल ऋणीहरुमा कमला तामाङ, कृष्ण प्रसाद बोहजु, देविना जोन्छें, न्हुछेंभक्त कवाँ, सुशिल सुजखु, कृष्णदेवी चौगुठी र कृष्णमाया श्रेष्ठ छन ।


संस्थाका अध्यक्ष कासुलाले सो अवसरमा संस्थाको वार्षिक साधारणसभामा नियमित र उत्कृष्ट वचतकर्तालाई सम्मान गर्दै आइरहेको स्मरण गराउँदैं स्थापना दिवसको अवसरमा असल ऋणीलाई सम्मान गरिएको बताउनुभयो ।
उहाँले केही व्यक्तिले शुभकामनाको साख गिराउने र संस्थालाई बिगार्ने प्रयास गरेपनि कालान्तरमा शेयर सदस्यहरुको अटल विश्वासले ती प्रयास असफल भएको बताउनुभयो । उहाँले संस्था आर्थिकरुपमा सवल सक्षम रहेको बताउँदैं सदस्यहरुलाई कसैको बहकाउमा नलाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सल्लाहकार समितिका संयोजक बालमुकुन्द सुवालले संस्थाको आगामी नेतृत्व पनि सर्वसम्मत चयन गर्ने प्रयास शुरु गरिसकेको जानकारी गराउँदैं संस्थामा आफु हुँदैमा मात्र राम्रो हुन्छ भन्ने धारणा त्याग्नुपर्ने बताउनुभयो ।
संस्थाका पूर्वअध्यक्ष न्हुँछेकुमार त्वायनाले संस्थामा सूर्यविनायक र नासमनामा भवन र व्यासीमा जग्गा भएको जानकारी गराउँदैं एक अर्ब भन्दा बढीको सम्पत्ति भएको बताउनुभयो । उहाँले जगेडाकोष, ऋण जोखिम कोषलगायत सबै कोष बलियो भएकाले वचतकर्ताले कुनै शंका लिनुपर्ने आवश्यकता नरहेको बताउनुभयो ।


नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले भक्तपुरका सञ्चारमाध्यमहरुले दुई वर्ष अघि जिल्लामा सहकारीमा माफिया सलबलाएको र वचतकर्ताहरु होसियार बन्नुपर्ने समाचार सम्प्रेषण गरेर जनतालाई सचेत पार्दा पनि केही प्रतिशत बढी व्याजको लोभमा विगतको ओरेन्टलको घाउ बिर्सेर सञ्चालकको थर ठेगाना नहेरी विश्वास गर्नाले अहिले फेरी धोका खाएको र अर्बो रकम डुब्ने अवस्थामा पुगेको बताउनुभयो ।
कार्यक्रममा शुभकामनाका विधि कार्यमा सहकार्य गर्ने नेपाल रेडक्रस सोसाईटी भक्तपुरलगायतका संस्थालाई पनि कदरपत्र प्रदान गरेको थियो ।
शुभकामना साकोसले २४ औं स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रम आयोजना गरेको थियो । जसअनुसार गत जेठ २२ गते सूर्यविनायकबाट दार्जिलिङ हाइटसम्म पदयात्रा, जेठ २३ गते चित्तपोलमा बृक्षारोपण र डस्टविन वितरण, जेठ २४ गते काभ्रेको पलाञ्चोक भगवती दर्शनका लागि ज्येष्ठ नागरिक भ्रमण, जेठ २५ गते नासमनामा रक्तदान र सुगर परीक्षण जेठ २६ गते काठमाण्डौंको नारायणी दरवारमा बाल वचतकर्ता भ्रमण, जेठ २७ गते व्यासी कार्यालयमा महिला स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो ।