टि–२० विश्वकप – आठ संस्करणमा ६ विजेता

भक्तपुर, जेठ १८
क्रिकेटको कान्छो स्वरुप टि–२० को नवौं संस्करणको विश्वकप यही जुन १ तारिख शनिवारदेखी अमेरिका र वेस्ट इन्डिजमा शुरु हुदैछ । वेस्ट इन्डिज दोस्रो पटक विश्वकप आयोजना गर्ने पहिलो मुलुक बन्दै गर्दा यस संस्करणमा पहिलो पटक २० राष्ट्रको सहभागीता रहदै छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको समूह ए मा पाकिस्तान, भारत, क्यानडा, अमेरिका र आयरल्याण्ड, समूह बि मा इङ्गल्याण्ड, अष्ट्रेलिया, नामिविया, स्कटल्याण्ड र ओमन, समूह सी मा न्युजिल्याण्ड, वेष्ट इण्डिज, अफगानिस्तान, पपुवा न्युगिनी र युगाण्डा, समूह डि मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेपाल र नेदरल्याण्ड छन ।
पहिलो संस्करण २००७ बाट सुरु भएको यस विश्वकपमा हालसम्म २१ देशले सहभागीता जनाइसकेको छ । यस संस्करणमा आयोजक अमेरिका, क्यानडा र युगान्डाले विश्वकपमा पहिलो पटक सहभागीता जनाउँदै छन् ।
प्रतियोगिताको नवौं संस्करणसम्म आइपुग्दा अहिलेसम्म टि–२० विश्वकपको उपाधि जित्ने राष्ट्रको संख्या ६ पुगेको छ । अहिलेसम्म इङ्गल्यान्ड र वेस्ट इन्डिजले दुई दुई पटक उपाधि जितेको छ भने पाकिस्तान, अस्ट्रेलिया, श्रीलंका र भारतले समान एक एक पटक उपाधि जितेका छन् ।


१) पहिलो संस्करण
टि–२० विश्वकपको पहिलो संस्करण सन् २००७ मा दक्षिण अफ्रिकामा भएको थियो । यस विश्वकपमा १२ देशको सहभागीता रहेको थियो । पहिलो संस्करणको विश्वकपमा पाकिस्तानलाई पाँच रनले हराउँदै भारतले उपाधि जितेको थियो ।
भारतले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तान निर्धारित २० ओभरमा २ बल बाँकी छँदै अर्थात १९ दशमलब ४ ओभरमा १५२ रन बनाएर अलआउट हुँदै पहिलो संस्करणमा उपविजेतामा सिमित बनेको थियो ।
२) दोस्रो संस्करण
टि–२० विश्वकपको दोस्रो संस्करण २००९ मा इङ्गल्यान्डमा भएको थियो । यो विश्वकपमा पनि अघिल्लो विश्वकपमा झैं १२ देशको सहभागीता रहेको थियो । दोस्रो संस्करणको विश्वकपमा श्रीलंकामाथि ८ विकेटको सहज जित निकाल्दै पाकिस्तान च्याम्पियन भएको थियो ।
श्रीलंकाले दिएको १ सय ३९ रनको लक्ष्य पाकिस्तानले १८ दशमलब ४ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गरेको थियो ।
३) तेस्रो संस्करण
टि–२० विश्वकपको तेस्रो संस्करण २०१० मा वेस्ट इन्डिजमा आयोजना भएको थियो । तेस्रो संस्करणको विश्वकपमा पनि १२ राष्ट्रको सहभागीता रहेको थियो । यस संस्करणमा अस्ट्रेलियालाई सात विकेटले हराउँदै इङ्गल्यान्ड च्याम्पियन भएको थियो । अस्ट्रेलियाले दिएको १ सय ४८ रनको लक्ष्य इंग्ल्यान्डले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।
४) चौथो संस्करण
टि–२० विश्वकपको चौथो संस्करण सन् २०१२ मा श्रीलंकामा आयोजना भएको थियो । यस संस्करणको विश्वकपमा श्रीलंकालाई ३६ रनले पराजित गर्दै वेस्ट इन्डिज च्याम्पियन भएको थियो । यस संस्करणमा पनि १२ देशको सहभागीता रहेको थियो । वेस्ट इन्डिजले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको श्रीलंका १८ दशमलब ४ ओभरमा १ सय १ रनमा समेटिएको थियो ।


५) पाँचौ संस्करण
टि–२० विश्वकपको पाँचौ संस्करण सन् २०१४ मा बंगलादेशमा आयोजना भएको थियो । यस विश्वकपमा पहिलो पटक १६ देशको सहभागीता रहेको थियो । यस संस्करणमा भारतलाई ६ विकेटले पराजित गर्दै श्रीलंका च्याम्पियन भएको थियो । भारतले दिएको १ सय ३१ रनको लक्ष्य श्रीलंकाले १७ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।
यस प्रतियोगितामा नेपाल पनि छनोट भएको थियो । प्रतियोगितामा नेपालले अफगानिस्तान र हङकङलाई पराजित गरेको थियो भने बंगलादेशसँग पराजितहुँदै नेट रनरेटको आधारमा दोस्रो चरणमा छनोट हुन असफल बनेको थियो ।
६) छैठौं संस्करण
टि–२० विश्वकपको छैठौं संस्करण सन् २०१६ मा भारतमा आयोजना भएको थियो । यस संस्करणको विश्वकपमा पनि १६ राष्ट्रको नै सहभागीता रहेको थियो । भारतमा आयोजना भएको यस विश्वकपमा इङ्गल्यान्डलाई ४ विकेटले पराजित गर्दै वेस्ट इन्डिज दोस्रो पटक च्याम्पियन भएको थियो । इङ्गग्ल्यान्डले दिएको १ सय ५६ रनको लक्ष्य वेस्ट इन्डिजले १९ दशमलब ४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।
७) सातौं संस्करण
टि–२० विश्वकपको सातौं संस्करण सन् २०२१ मा ओमान र युएईमा संयुक्त रुपमा आयोजना भएको थियो । पहिलो पटक दुई राष्ट्रमा आयोजना भएको टी–२० विश्वकपमा १६ राष्ट्रको नै सहभागीता थियो । सातौं संस्करणको विश्वकपमा न्युजिल्यान्डलाई पाँच विकेटले पराजित गर्दै अस्ट्रेलिया च्याम्पियन भएको थियो । न्युजिल्यान्डले दिएको १ सय ७३ रनको लक्ष्य अस्ट्रेलियाले १८ दशमलब ५ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो ।
८) आठौं संस्करण
टि–२० विश्वकपको आठौं संस्करण सन् २०२२ मा अस्ट्रेलियामा आयोजना भएको थियो । यस संस्करणको विश्वकपमा पनि अघिल्लो संस्करणमा झै १६ राष्ट्रकै सहभागीता रहेको थियो । यस विश्वकपमा पाकिस्तानलाई पाँच विकेटले पराजित गरि इङ्गल्यान्ड दोस्रो पटक च्याम्पियन भएको थियो । पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो ।


दश वर्ष पछि विश्वकप खेल्दै नेपाल
नेपालले टि–२० विश्वकप दश वर्ष पछि खेल्दै छ । नेपाल २० राष्ट्र सहभागी प्रतियोगिताको समूह डी मा रहेको छ । नेपाल रहेको समूहमा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।
विश्वकपमा नेपालको पहिलो खेल ४ जुन अर्थात जेठ २२ मंगलबारको दिन नेदरल्यान्ड्ससँग हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका सवा ९ मा अमेरिकाको डालसमा हुनेछ ।
विश्वकपको दोस्रो खेलमा नेपालले १२ जुन अर्थात ३० जेठ बुधबारको दिन लाउडेरहिलमा खेल्नेछ । दोस्रो खेलमा श्रीलंकासँग खेल्ने नेपालको यस खेल नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।
दोस्रो खेल पछि आफ्नो बाँकी दुई खेलका लागि नेपाल वेस्ट इन्डिज जानेछ । वेस्ट इन्डिजमा १५ जुन अर्थात असार १ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । यस खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ । खेल सेन्ट भिन्सेन्टमा हुनेछ ।
विश्वकपको समूह चरणको चौथो तथा अन्तिम खेलमा १७ जुन अर्थात असार ३ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा नै खेल्नेछ । यो खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।
विश्वकपमा सहभागीता जनाउने १५ सदस्यीय नेपाली टोलीको नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरिसकेको छ । टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी छन ।