कोलकाताले जित्यो आइपिएल

भक्तपुर, जेठ १४
कोलकाता नाइट राइडर्सले यसवर्षको इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । चेन्नाईमा आइतवार राती सम्पन्न फाइनलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै आइपिएलको उपाधि जितेको हो ।
कोलकाताले आइपिएलको जितेको यो तेस्रो अवसर हो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । पछिल्लो पटक कोलकाताले सन् २०१४ को फाइनलमा किंग्स पञ्जाब ११ (पञ्जाब किंग्स)लाई ३ विकेटले पराजित गर्दै दोस्रो उपाधि जितेको थियो ।
त्यसभन्दा अगाडि सन् २०१२ मा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै कोलकाताले पहिलो पटक आईपीएल उपाधि जितेको थियो । सन् २०१६ मा उपाधि जितेको हैदरावाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा पराजित भयो ।
कोलकातालाई १० वर्षपछि आइपिएल उपाधि दिलाउन रहमनुल्लाह गुर्बाज र वेंकटेश ऐरले ९१ रनको साझेदारी गरे । गुर्बाज ३२ बलमा ३९ रन जोड्दै एलबीडब्लु आउट भए । उनले ५ चौका र २ छक्का प्रहार गरे । वेंकटेश २६ बलमा ४ चौका र ३ छक्काका साथ ५२ रनमा नटआउट रहे । कप्तान श्रेयस ऐर ६ रनमा नटआउट रहे । सुनील नारायण ६ रनमा आउट भए ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको सनराइजर्सले १९ औं ओभरमा अलआउट हुनुअघि १ सय १३ रन जोडेको थियो । टोलीका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन जोडे ।
कमजोर सुरुवात गरेको हैदरावादले सुरुवाती दुई ओभरमा नै ओपनरद्वय अभिषेक शर्मा र ट्राभिस हेडलाई गुमायो । पाँचौ ओभरमा राहुल त्रिपाठी ९ रनमा आउट भए । नितिश कुमार रेड्डी १३ रन र एडन मारक्रमले २० रनको योगदान दिए ।
कोलकाताका आन्द्रे रसलले ३ विकेट लिँदा हर्षित राना र मिचेल स्टार्कले २–२ विकेट लिए । वैभव अरोरा, सुनिल नारायण र वरुण चक्रवर्तीले १–१ विकेट हात पारे ।