ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा कुनै सत्यता छैन–एनभिए

भक्तपुर, जेठ ७
अहिले सामाजिक सञ्जालहरुमा एउटा तस्विर भाइरल बनेको छ । उक्त तस्विरमा ब्रोइलर कुखुरामा देखिएको रोग मानिसमा समेत सरेको भन्दै होसियार रहन चेतावनी दिएको पाईन्छ । तर बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा कुनै सत्यता भने नरहेको नेपाल भेटेरिनरी एशोसिएशनले स्पष्ट पारेको छ ।
एशोसिएशनका अध्यक्ष डा. रामकृष्ण खतिवडा र महासचिव डा. केदार सुवेदीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा भाइरल भएको ‘ब्रोइलर कुखुरामा लागेको रोग मानिसमा पनि देखापरेको छ’ भन्ने भनाइमा कुनै सत्यता नरहेको स्पष्ट पारिएको छ ।
केही व्यक्तिले वैज्ञानिक तथ्य र कारणबिना नै सामाजिक सञ्जालमा भ्रामक पोष्ट गरी जनमानसमा त्रास सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘बोइलर कुखुराको मासु सेवनबाट बजारमा हल्ला फैलिए जस्तो कुनै पनि रोग मानिसमा सर्दैन,’ विज्ञप्तिमा भनिएको छ । त्यस्ता नकारात्मक र गलत जानकारीमा विश्वास नगर्न पनि एनभिएले आग्रह गरेको छ ।
भ्रामक र अवैज्ञानिक जानकारीलाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने काम तत्काल बन्द गर्न र गलत जानकारी प्रवाह गर्ने व्यक्तिलाई तत्काल कारबाही गर्न पनि एशोसिएशनले माग गरेको छ ।