इंग्लिस फुटबलमा सिटीको दुर्लभ इतिहास, लगातार चौंथो पटक उपाधि

भक्तपुर, जेठ ७
म्यानचेस्टर सिटीले इंग्लिस फुटबलमा आइतवार राती दुर्लभ इतिहास रचेको छ । १३६ वर्षे इंग्लिस प्रिमियर लिगको इतिहासमा पहिलो पटक लगातार चार पटक उपाधि जितेर सिटीले दुर्लभ इतिहास रचेको हो ।
यसअघि हडर्सफिल्ड टाउन, आर्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेड र सिटी सहित ५ टोलीले लगातार ३ पटक इंग्लिस शीर्ष डिभिजनको उपाधि उचालेका थिए । तर लगातार चार पटक एउटै टोलीले लिग उपाधि जितेको यो इतिहासमा पहिलो पटक हो ।
लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३–१ को जित निकालेर आर्सनललाई २ अंकले पछि पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । सिटीलाई उपाधि जित्न अन्तिम खेलमा स्पष्ट जितको खाँचो थियो ।
उता सिटीलाई पछ्याईरहेको आर्सनल पनि उपाधिको दौडमा थियो । अन्तिम खेल अघि आर्सनल सिटी भन्दा २ अंकले पछि थियो । सिटी बराबरीमा रोकिएको भए उपाधि आर्सनलले जित्थ्यो र सिटी दुर्लभ इतिहास रच्नबाट बञ्चित हुन्थ्यो ।
यस्तोमा सिटीले घरेलु मैदान इतिहाद स्टेडियममा स्पष्ट जित निकाल्दै इतिहास रच्न सफल भएको हो । सिटीलाई जितसहित उपाधि दिलाउन र दुर्लभ इतिहास रच्न फिल फोडेनले २ तथा रोड्रीले १ गोल गरे । वेस्टह्यामका मोहम्मद कुदुसले गोल फर्काए पनि सिटीलाई रोक्न सकेन ।


खेलको दोस्रो मिनेटमै फोडेनले गोल गर्दै सिटीलाई शुरूआती अग्रता दिलाएका थिए । उनले बर्नार्डो सिल्भाको पासमा गोल गरे । बक्सको बाहिरबाट टप कर्नरमा शक्तिशाली प्रहार गर्दै फोडेनले सिटीलाई खेलमा अग्रता दिलाए ।
१८औं मिनेटमा फोडेनले सिटीको अग्रता दोब्बर बनाए । जेरेमी डोकुको क्रसमा बक्स भित्रबाट फिनिश गर्दै फोडेनले सिटीलाई दुई गोलको अग्रता दिलाए । ४२औं मिनेटमा वेस्ट ह्यामले एक गोल फर्कायो । मोहम्मद कुडुसले उत्कृष्ट बाइसाइकल गोल गर्दै वेस्ट ह्यामलाई खेलमा फर्काएका थिए ।
तर ५९औं मिनेटमा सिटीले पुनः अग्रता बढायो । रोड्रीले बक्स बाहिरबाट सुन्दर फिनिश सहित गोल गर्दै सिटीलाई पुनः दुई गोलले अघि गराए ।
८९औँ मिनेटमा थोमस सुसेकले गोल गर्दै वेस्टह्यामलाई ३–२ को स्थितिमा ल्याएका थिए तर, भिडियो असिस्टेन रेफ्री (भीएआर)ले उक्त गोललाई मान्यता दिएन । भीएआरले गोल भएको बल सुसेकको हातमा लागेर गएको देखाएको थियो ।
सिटीको यो १०औँ प्रिमियर लिग उपाधि हो। सिटीले यसअघि सन् २०२१ (८६ अंक), २०२२ (९३ अंक) र २०२३ (८९ अंक) मा उपाधि ‘ह्याट्रिक’ गरेको थियो । पुनः उपाधि जितेको सिटीले यसपटक ३८ खेलबाट ९१ अंक जोड्यो ।


उता आर्सनल भने ४०औं मिनेटमा एभर्टन विरुद्ध पछि परेको थियो । इडरिसा गामा गेयले सोझै फ्रिकिक मार्फत गोल गर्दै आर्सनल विरुद्ध अग्रता दिलाएका थिए । तर त्यसको तीन मिनेट पश्चात आर्सनलका ताकेहिरो टोमियासुले बराबरी गोल गरेका थिए । खेलको ८९औं मिनेटमा काई हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाएपनि त्यो उपाधिका लागि पर्याप्त हुन सकेन ।
सिटीले ३८ खेलमा २८ जित, ७ बराबरी र ३ हारसहित ९१ अंक बटुल्यो । आर्सनलले भने ३८ खेलमा २८ जित, ५ बराबरी र ५ हार सहित ८९ अंकमा दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो । गत सिजन सिटीले उपाधि जित्दा आर्सनल ६ अंकले पछि पर्दै दोस्रो नै भएको थियो ।
लिगमा लिभरपुल तेस्रो र एस्टनभिल्ला चौथो बने । शीर्च चारमा रहेका टोली च्याम्पियन्स लिगमा छोनोट हुँदा पाँचौं स्थानको टोटनहमले युरोपा लिग खेल्नेछ । चेल्सी छैंटौं स्थानमा रहँदै कन्फरेन्स लिगको प्लेअफको लागि छनोट हुँदा म्यानचेस्टर युनाइटेड भने आठौं स्थानमा रहँदै युरोपको लिग खेल्नबाट बञ्चित भए । यस्तै लुटन टाउन, बर्नली र सेफिल्ड युनाइटेढ यो सिजन रेलिगेसनमा परे ।