सी डिभिजनमा मनोहरा शिर्ष स्थानमा उक्लियो

भक्तपुर, बैशाख १८
मनोहरा युनाइटेड युथ ब्लव शहिद स्मारक सी डिभिजन लिग फुटबलको शिर्ष स्थानमा उक्लेको छ । ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा सोमवार सम्पन्न खेलमा सानेपा क्लवमाथि पुनरागमन जित निकाल्दै मनोहरा लिगको शिर्ष स्थानमा उक्लेको हो ।
मनोहराले सानेपा माथि २–१ को जित निकाल्दै शिर्ष स्थानमा उक्लेको हो । खेलमा पहिलो गोल सानेपाले गरेको थियो । खेलको १२ औं मिनेटमा निराजनजंग शाहीले गोल गर्दै सानेपालाई अग्रता दिलाएका थिए ।
पहिलो हापमा एक गोलले पछि परेको मनोहराका लागि ६५ औं मिनेटमा विवश मगरले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ७५ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै लिलाबहादुर थापामगरले मनोहरालाई अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र मनोहराले २–१ को जित निकाल्दै महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो ।
जितसँगै मनोहराको ५ खेलबाट १२ अंक भएको छ । पहिलो खेलमा पराजित भएको मनोहराले लगातार ४ खेलमा जित निकाल्न सफल भएको हो । लिगको दोस्रो स्थानमा रहेको आरसी ३२ को ११ अंक रहेको छ भने तेस्रो स्थानको पुल्चोकको ९ अंक रहेको छ । पुल्चोकले मंगलवार रानीबारीसँग खेल्दै छ । पुल्चोकले जित हासिल गरे लिगको ५ औं चरणको समाप्तीमा मनोहरालाई उछिन्दै लिगको शिर्ष स्थानमा पुग्ने मौका रहेको छ ।
दिनको दोस्रो खेलमा खालीबस्ती युथ क्लबले गोलबजार स्पोर्ट्स क्लब माथि ३–१ को जित निकाल्यो । खालीबारीका लागि अनुज थापा, उज्वल शाही र सन्देश चौधरीले एक एक गोल गरे । यस्तै गोलबजारका लागि विनु आले मगरले एक गोल फर्काए ।
खालिबारीको ५ खेलमा ५ अंक भएको छ । यस्तै गोलबजारको ५ खेलमा २ अंक मात्र रहेको छ ।