दुई दशकपछि बिस्का जात्रा शान्तिपूर्ण सम्पन्न

भक्तपुर, बैशाख ६
करिव दुई दशकपछि यसवर्ष भक्तपुरको बिस्का जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । सम्भवतः २०६२÷०६३ पछि यसवर्ष ढुंगा हानहान गर्ने जस्ता अवाञ्छित गतिविधि नभई बिस्का जात्रा शान्तिपूर्णरुपमा सम्पन्न भएको हो ।
भक्तपुरमा प्रायः चैत्र २७ गते साँझ टौमढीस्थित पाँचतल्ले मन्दिर अघि निर्माण गरिएको दुई तल्ले प्यागोडा शैलीको भैरवनाथको रथ तानतान गरेर बिस्का जात्रा शुरु गरिन्छ । चैत्र महिना ३१ गतेको भए जात्रा चैत्र २८ गते शुरु हुन्छ ।
नयाँ वर्षको बैशाख ५ गते साँझ गःहिटीमा रहेको भैरवनाथको रथलाई तानातान गरेर नगर परिक्रमा गराएपछि जात्रा सम्पन्न हुन्छ । बिस्का जात्रामा यही रथ तान्ने दिन ढुंगामुढा हुने र झडप हुँदै आइरहेको थियो ।
विगत केही दशकदेखी बिस्का जात्रा ढुंगामुढाको पर्याय बन्दै गएको थियो । ढुंगा नहानी बिस्का जात्रा नै हुँदैन भन्ने भाष्य समेत स्थापित हुँदै आएको थियो । यसवर्ष उक्त भाष्यलाई समेत गलत सावित गर्दै ढुंगा नहानीकन पनि जात्रा सम्भव छ भन्ने तथ्य स्थापित गरेको छ ।
यसवर्ष जात्राका क्रममा कुनै पनि प्रकारका झडप र अवाञ्छित गतिविधि नभई शान्तिपूर्णरुपमा सम्पन्न भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) बेद बिष्टले जानकारी दिनुभयो ।
प्रहरी स्रोतका अनुसार वि. सं. २०६२÷०६३ सालको जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो । त्यो बेला दोस्रो जनआन्दोलन चलिरहेको थियो । उपत्यकामा कफर््यु समेत जारी भएको अवस्था थियो । त्यो बेलामा जात्रामा कुनै अवाञ्छित गतिविधि नभएको प्रहरी स्रोतले जानकारी दिए ।
त्यस यता साना ठूला झडप हरेक जात्रामा हुने गरेको भएतापनि यसवर्ष कुनै झडप नभई जात्रा शान्तिपूर्ण सम्पन्न भएको हो ।


बिस्का जात्रालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न विशेष सुरक्षा रणनीति अन्तर्गत हरेक स्थानको बैठक, छलफल र सार्वजनिक सन्देशमा समेत जात्रा स्थानीय बासिन्दाको मौलिक सँस्कृति भएकाले यसको गरिमा र महत्व बचाई राख्ने जिम्मेवारी पनि स्थानीयकै हुने दायित्वबोध गराउने सन्देश प्रवाह गरिएको प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताउनुभयो ।
उहाँले विगतका जात्रामा ढुंगा हानाहान गरेर अवाञ्छित गतिविधि गर्नेहरुको भिडियो र फोटोहरु दत्तात्रय र टौमढीलगायतका स्थानमा सार्वजनिक प्रदर्शन गरेकोले पनि नागरिकहरु सचेत भएको र जात्रामा अमर्यादित गतिविधि गर्न हुँदैन भन्ने जनचेतना जागृत भएकाले पनि जात्रा शान्तिपूर्णरुपमा सम्पन्न गर्न सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो ।
जात्राको तालिकालाई पछ्याउँदैं समयमा जात्रा सञ्चालन गरेकोले पनि यसवर्ष अवाञ्छित र अमर्यादित गतिविधि हुन नपाएको उहाँको भनाई छ । उहाँले जात्रा शान्तिपूर्ण सम्पन्न हुनुमा सुरक्षा रणनीति मात्र नभई स्थानीय सरकार नगरपालिका, सरोकारवाला निकाय, जात्रासँग सम्बन्धीत गुठी, संघसंस्था, जनसमूदाय र सञ्चारकर्मीहरुको सहयोग रहेको बताउनुभयो ।