दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा तथा हवन

भक्तपुर, बैशाख ५
रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा तथा हवन गरिएको छ । गुह्येकाली भगवतीको साक्षात स्वरुप दिव्येश्वरीमा प्रत्येक वर्ष चैंते दशैंको रामनवमीका वार्षिक पुजा तथा हवन हुँदैं आएको छ । सोही अनुसार बुधवार एघार जना ब्राम्हणद्धारा चण्डी पाठ, वेद पाठ, रुद्राभिषेक एवम् नारायण पुजा गरिएको दिव्येश्वरी सेवा समितिले जनाएको छ ।
दिव्येश्वरी मन्दिर वि. सं. १९६० साल तिर तत्कालिन तान्त्रिक पण्डित सुब्बा दिव्यदेव पन्तले निर्माण गर्नु भएको हो । उहाँले मन्दिरको दैनिक नित्य पुजा तथा वार्षिक पुजाका लागि नीजि जग्गा राखी दिव्येश्वरी गुठी समेत स्थापना गर्नुभएको दिव्येश्वरी सेवा समितिका अध्यक्ष केदार खड्काले जानकारी दिनुभयो ।


उहाँका अनुसार दिव्यदेव पन्तले नै रामनवमीको दिन दिव्येश्वरी भगवतीको वार्षिक पुजाको परम्परा शुरु गर्नुभएको हो । भगवती भइकन पनि भोग नचल्ने सम्भवतः दिव्येश्वरी एक मात्र भगवती हुन सक्ने अध्यक्ष खड्काले बताउनुभयो ।
तान्त्रिक विधिपूर्वक स्थापना गरिएको दिव्येश्वरी भगवतीको अद्धितीय मुर्ति दर्शनीय स्वरुपको छ । भगवती दिव्येश्वरीको मुर्तिमा ११ वटा शिर रहेको छ भने दाँया २८ र बाँया २८ गरी कुल ५६ भुजा रहेको छ । त्यसमध्ये दिव्येश्वरीको १० शिर र एक शिर योगमायाको भएको तान्त्रिक विद्यानाथ उपाध्याय भट्टले बताएको समितिका प्रथम उपाध्यक्ष विजयकृष्ण खड्काले जानकारी दिनुभयो ।


करिव चार फिट उचाई भएको कृष्णा शिलामा कुँदिएको भगवतीले स्याललाई टेकेको छ र स्यालले योगमायाको खुट्टा टोकेको छ । स्याल भैरवमाथि रहेको छ । मुर्तिको तल्लो भागमा विभिन्न देवीदेवताको मुर्ति कुँदिएको छ ।
दिव्येश्वरी मन्दिरमा चार ढोका छन । भक्तजनहरु पुर्वी ढोकाबाट प्रवेश गर्दछन । मन्दिर प्रवेश गर्ने वित्तिकै श्रीयन्त्रको दर्शन गर्न पाईन्छ । श्रीयन्त्रमय यस मन्दिरमा श्रीयन्त्रकै स्थापना गरी पुजा आराधना गर्ने व्यवस्थाले शक्तिका उपासकका लागि यो मन्दिर महत्वपूर्ण मानिन्छ ।


मन्दिरको संरचना श्रीयन्त्रकै शैलीमा भएको र मन्दिरभित्र पनि श्रीयन्त्रकै स्थापना भएकाले यहाँ शुरुमा मूलतः तान्त्रिक विधिद्धारा शक्तिको पुजा अर्चना गर्ने व्यवस्था हुनुपर्ने विश्वास रहेकोले यसको खोज तथा अनुसन्धान भइरहेको समितिका अध्यक्ष खड्काले बताउनुभयो ।
मन्दिरभित्र विभिन्न देवी देवताका मुर्तिहरु पनि रहेका छन । भगवती दिव्येश्वरीको मन्दिरभित्र पञ्चक्व भैरव, भैरव, कौमारी, महेश्वरी, ब्राम्ही, महालक्ष्मीलगायतका देवी देवताको मुर्ति पनि रहेको छ ।


समितिले मन्दिरमा अहिले दुई ब्राम्हण पुजारीको रुपमा राखेको छ । मन्दिरमा नित्य पुजाका साथै दैनिक बिहान र साँझ गरी दुई पटक आरती हुँदैं आएको छ ।
गुह्यकालीलाई गुह्येश्वरीको रुपमा पुज्ने गरेको छ । श्री स्वस्थानी व्रत कथाका आधारमा गुह्येश्वरीको उत्पत्ति सेतीदेवीको गुह्य पतनबाट भएको हो । सती देवीको अंग पतनबाट ५१ वटा शक्तिपिठहरुको उत्पत्ति भएको शास्त्रहरुमा उल्लेख भएको पाईन्छ ।
दिव्येश्वरी गुह्यकाली वा गुह्येश्वरीकै स्वरुप भएको विश्वास छ । काठमाण्डौं उपत्यकामा गुह्येश्वरीका चार मन्दिर छन, जसमध्ये एक पशुपति क्षेत्रमा गुह्येश्वरी, बालाजुमा पुरानो गुह्येश्वरी, हनुमान ढोका परिसरमा विभु र लोहकिल्थलीमा