प्रजिअ श्रेष्ठको पहलपछि प्राधिकरणले पुनः जोड्यो अरनिको राजमार्गको विद्युत

भक्तपुर, चैत्र २०
प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको निरन्तरको प्रयास पछि नेपाल विद्युत प्राधिकरणले अरनिको राजमार्गको विद्युत लाइन काटिएको पाँच घण्टापछि पुनः जोडिएको छ ।
विद्युत प्राधिकरणले मानविय संवेदनालाई समेत बेवास्ता गर्दै अति व्यस्त राजमार्गको ट्राफिक लाईट र नेपाल प्रहरीले अपराध नियन्त्रणका लागि राखिएका सिसि क्यामरा समेत बन्द हुनेगरी लाइन काटेपछि प्रजिअ श्रेष्ठले गृह मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना र मध्यपुर थिमि नगरपालिकासँग आवश्यक पहल गरेपछि अन्ततः प्राधिकरणले लाइन जोडेको हो ।
प्राधिकरणले मंगलवार दिउँसो सडक बत्तिको बक्यौता भुक्तानी बाँकी रहेको भन्दै अरनिको राजमार्गको लाइन काटेको थियो । सो लाइन काटेपछि अरनिको राजमार्गको ट्राफिक लाइट बन्द हुनुका साथै नेपाल प्रहरीले राखेका सिसि क्यामरा समेत बन्द भएको थियो ।
प्राधिकरणका थिमि शाखाका प्रमुख जयनन्द झाले सूर्यविनायक–धुलिखेल, धुलिखेल– सिन्धुली–बर्दिवास सडक आयोजनाको नाममा लोहकिल्थली मनोहरा पुलदेखी सूर्यविनायक चोकसम्म रहेका विद्युत मिटरको करिव १० लाख रुपैंया महशुल नतिरेकोले लाइन काटिएको जानकारी दिनुभयो ।
उहाँले गत शुक्रवार विद्युत प्राधिकरणको प्रादेशिक कार्यालयमा बसेको बैठकमा पहिलो चरणमा मिटर जडान भएका सडक बत्तिको बक्यौता बाँकी रहेको आधारमा लाइन काट्ने निर्णय भएको र सो निर्णय अनुसार माथिल्लो निकायको निर्देशन बमोजिम मंगलवार दिउँसो अरनिको राजमार्गको विद्युत लाइन काटिएको जानकारी दिनुभयो ।


सो लाइन काटिएको विषयमा आजै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा समेत छलफल भएको थियो । सो बैठकले समेत अरनिको राजमार्गको भक्तपुर खण्डको सडक बत्ति र ट्राफिक लाइट अवरुद्ध हुँदा दुर्घटनाको जोखिम बढेको र नेपाल प्रहरीको सिसि क्यामरा समेत बन्द हुँदा अपराध नियन्त्रणमा समेत असर पुग्ने भएकाले हाललाई विद्युत लाइन सूचारु गर्न प्राधिकरणलाई अनुरोध गर्ने निर्णय भएको थियो ।
बैठकमा राजनीतिक दलका प्रतिनिधिहरुले अति व्यस्त र दैनिक दुर्घटना हुने गरेको सडकको ट्राफिक लाइट र सिसि क्यामरा बन्द हुने गरी लाइन काट्नु मानविय संवेदनाहीन कार्यभन्दै निन्दा गरेका थिए ।
प्रजिअ श्रेष्ठले बैठकको निर्णयका आधारमा तत्काल नेपाल विद्युत प्राधिकरणलाई पत्र पठाई काठमाण्डौं उपत्यकाको पूर्वमा रहेको २१ वटा जिल्ला जोड्ने प्रमुख नाका र सडक अरनिको राजमार्गमा ट्राफिक लाइट नै अवरुद्ध हुँदा दुर्घटनाको संख्या बढ्न सक्ने र साथै सिसि क्यामराको समेत विद्युत अवरुद्ध हुन गई अपराध नियन्त्रणमा समेत गम्भिर असर पर्न जाने भएकाले हाललाई विद्युत सूचारु गर्न अनुरोध गर्नुभएको थियो ।
जिल्ला प्रशासन कार्यालयले सो पत्रको बोधार्थ गृह मन्त्रालय, सडक विभाग, नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालय एवम् थिमि र दुधपाटी वितरण केन्द्र, सडक विभाग, मध्यपुर थिमि नगरपालिका, सूर्यविनायक नगरपालिका, भक्तपुर नगरपालिका र सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनालाई दिएको थियो ।
प्रजिअ श्रेष्ठले पत्र पठाएपछि गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच छलफल भएको थियो । सो छलफल पश्चात तत्कालको लागि विद्युत लाईन जोडेको हो । स्रोतका अनुसार भोलीदेखी ट्राफिक लाइटलाई बाधा नपुग्ने गरी अन्य सडक बत्तिको लाइन भने काट्ने भएको छ ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले गतवर्ष मात्र नगरपालिकाले करिव ८ लाख रुपैंया विद्युत प्राधिकरणलाई भुक्तानी गरेर सडक बत्ति बालेको जानकारी दिँदैं सडक आयोजनाको नाममा रहेको मिटरको बिल सडकसँगै लिनुपर्ने बताउनुभयो ।
उहाँले प्राधिकरणसँग मध्यपुर उज्यालो कार्यक्रम अन्तर्गत नगरका मूख्य सडकमा स्मार्ट सडक बत्ति जडानको लागि टेण्डरको प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिँदैं सडक बत्तिको बक्यौता सम्बन्धमा प्राधिकरणले एकमुष्ट रकम माग गरेर पठाउनुभन्दा पनि कहिले देखी के कति बाँकी रहेको सो विवरण खुलाएर पठाउनु पर्ने माग गर्नुभयो ।
उहाँले प्राधिकरणले एकमुष्ट रकम माग गरेर बिल पठाएपछि काठमाण्डौं उपत्यका नगरपालिका फोरमको बैठकले तत्कालको स्थितीमा प्राधिकरणले माग गरेको रकम नतिर्ने निर्णय गरेको जानकारी समेत दिनुभयो ।