मध्यपुर थिमि नगरपालिकाको आयोजनामा चैत्र २६ गते उपत्यका व्यापी धिमेबाजा प्रतियोगिता हुने

भक्तपुर, चैत्र १३
भक्तपुरको मध्यपुर थिमि बोदेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सँस्कृति मेला २०८० आयोजना हुने भएको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजना तथा लाकुछेँ धिमे गुठी र खपला धिमे गुठीको सहकार्यमा चैत्र २६ बोदे लायकुमा सो कार्यक्रम आयोजना हुने भएको हो ।
आयोजकले मंगलवार बोदेमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता तथा सँस्कृति मेलाको बारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रतियोगिता तथा सँस्कृति मेलाका संयोजक दिलकृष्ण प्रजापतिले धिमे बाजा प्रतियोगितामा बढीमा ४० धिमे बाजा खलः, पुच, समूह वा संघसंस्थालाई सहभागी गराईने जानकारी दिनुभयो ।
“प्रतियोगिताको समय व्यवस्थापन, बोदेको जिब्रो छेड्ने जात्रामा जिब्रो छेडाएका व्यक्तिहरुको सम्मान लगायतका कार्यक्रम रहेकोले प्रतियोगितामा बढीमा ४० समूहलाई सहभागी गराउने तयारी भइरहेको हो,” उहाँले भन्नुभयो ।


प्रतियोगितामा भाग लिने खलः, पुच, समूह तथा संघसंस्थाले चैत्र २४ गतेसम्म आवेदन दिनु पर्नेछ । आवेदनका लागि फाराम आयोजक समितिको सचिवालय वा मध्यपुर थिमि नगरपालिकाको कार्यालय वा वडा कार्यालयहरुमा पाउन सकिने प्रजापतिले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई ५० हजार रुपैयाँ नगद पुरस्कार र शिल्ड तथा प्रमाणपत्र दिइने भएको छ । त्यस्तै, दोस्रो हुनेलाई नगद २५ हजार, शिल्ड, प्रमाणपत्र, तेस्रो हुनेलाई १५ हजार रुपैयाँका साथै शिल्ड तथा प्रमाणपत्र तथा सान्त्वना पुरस्कारस्वरुप नगद १० हजार रुपैयाँ दिइने छ ।
प्रतियोगितामा सहभागी टोलीमा बढीमा ५ जना रहने र प्रत्येक टोलीले २ वटा धिमे, २ वटा भुस्या र १ वटा छुस्या वा अन्य बाजा प्रयोग गर्न पाईने छ । प्रत्येक टोलीलाई ५ मिनेटको समय दिईने छ ।


धिमे बाजा प्रतियोगितासँगै आयोजना गरिने संस्कृति मेलामा यसवर्ष धिमे बाजासँगै स्थानीय रैथाने उत्पादन र खानाका परिकारको प्रर्वद्धनका लागि सँस्कृति मेला पनि आयोजना गरिने भएको छ । यसका लागि भक्तपुर चेम्बर अफ कमर्श, भक्तपुर घरेलु तथा साना उद्योग संघ, मध्यपुर पर्यटन विकास समितिलाई संयोजनको जिम्मेवारी दिएको छ ।
यसैगरी सँस्कृति मेलामा मध्यपुर थिमिको कला सँस्कृति झल्कने फोटो प्रदर्शनी समेत हुने छ । फोटो प्रदर्शनीको संयोजन चन्द्र चक्रधरले गर्ने छ भने राष्ट्रिय समाचार समितिका फाटो पत्रकार रत्नकृष्ण श्रेष्ठलगायतको तस्विर प्रदर्शनमा राखिने छ ।
मेलामा मध्यपुर थिमिको मौलिक उत्पादन टिकनीको चिउरा, माटोको भाँडा बनाउनेतर्फ सेरामिक्स, मुकुण्डोको बनाउने विधिको प्रदर्शन गरिने चेम्बरका अध्यक्ष कविदास श्रेष्ठले जानकारी दिनुभयो । मेलामा स्थानीय उत्पादनका २५ स्टल राख्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।
यसैगरी मेलामा बोदेका स्थानीय महिला समूह लगायतले नेवारी खानाका परिकारको स्टल राखेर स्थानीय नेवारी परिकारको प्रर्वद्धन गरिने मध्यपुर पर्यटन विकास समितिका संयोजक रमेश प्रजापतिले बताउनुभयो ।

तस्विर सौजन्य ः सुरेश ख्वाक श्रेष्ठ