गोदावरी हाफ म्याराथनमा खड्क बहादुर प्रथम

भक्तपुर, फागुन २६
ललितपुरको गोदावरीमा शनिबार सम्पन्न हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका खड्क बहादुर खड्काले जितेका छन् । गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसको अवसरमा आयोजना गरेको सो प्रतियोगितामा निर्धारित दुरी एक घन्टा १० मिनेटमा पुरा गदै खड्काले उपाधि जितेका हुन् ।
एक घन्टा १२ मिनेट ८ सेकेन्डमा दुरी पूरा गर्दै त्रिभुवन आर्मी क्लबकै गजेन्द्र राई दोस्रो र सञ्जय श्रेष्ठ एक घन्टा १२ मिनेट ४५ सेकेन्डमा दुरी पूरा गर्दै तेस्रो भए ।
त्यस्तै एक घण्टा १३ मिनेट ४७ सेकेन्डमा आफ्नो दूरी पुरा गर्दै त्रिभुवन आर्मी क्लबका करण रावल चौथो र १ घण्टा १४ मिनेट ३७ सेकेन्डमा आफ्नो दुरी पुरा गर्दै त्रिभुवन आर्मी क्लबकै श्रीकास राई पाँचौं हुन सफल भए ।
गोदावरी नगरपालिकाको प्रशासकीय भवनबाट सुरु म्याराथन नगरपालिकाको वडा नं १३ झरुवारासी, वडा नं ३ गोदावरी बसपार्क, वडा नं २. विशंखुनारायण, वडा नं १ गोदामचौर, वडा नं १४ बाँडेगाउँ, झरुवारासी, वडा नं १२ थेचो लगायतका विभिन्न ठाउँको परिक्रमापछि चापागाउँ हुँदै पुनः नगरपालिका कार्यालयमा आएर सम्पन्न भएको थियो ।
गोदावरी नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा ललितपुर जिल्ला एथलेटिक्स संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगितामा म्याराथनसँगै तीन विधाका दौडहरू भएका थिए । जसअन्तर्गत गोदावरी नगरपालिका व्यापी खुल्ला पुरुष (१० कि.मी.) र गोदावरी नगरपालिका व्यापी खुल्ला महिला (५ कि.मी.) प्रतियोगिता भएको थियो ।


पुरुष तर्फ खुला १० किलोमिटर दौडको दुरी ४१ मिनेट २० सेकेन्डमा पुरा गर्दै गोदावरी–७ बुरुन्चुलीका राजाराम तामाङ प्रथम भए । ४२ मिनेट ८ सेकेन्डमा दुरी पार गर्दै गोदावरी–५ लेलेका रोमन महत दोस्रो र ४२ मिनेट ४१ सेकेन्डमा दुरी पुरा गर्दै श्री बुद्धमावि टिकाभैरवका नवराज बानियाँ तेस्रो भए । त्यस्तै प्रतियोगितामा ४३ मिनेट १२ सेकेन्ड पुरा गर्दै गोदावरी नगरपालिका–११ चापागाउँका विकास देसार चौथो र ४४ मिनेट ४४ सेकेन्डमा आफ्नो दुरी पुरा गर्दै श्री बुद्ध मावि टिका भैरवका नवीन बानियाँ पाँचौं भए ।
महिलातर्फ खुल्ला ५ किलोमिटर दौडमा २८ मिनेट ५१ सेकेन्डमा आफ्नो दुरी पुरा गर्दै गोदावरी–११ चापागाउँकी बिन्दा धान्के श्रेष्ठ प्रथम भइन् । २९ मिनेट ४५ सेकेन्डमा आफ्नो दुरी पुरा गर्दै बुद्ध मावि बाँडेगाउँकी प्रकृति मगर दोस्रो र ३३ मिनेट ११ सेकेन्डमा सरस्वती मावि लेलेकी सलिना तामाङ तेस्रो भइन् । यस्तै किटिनी मावि टौखेलकी आश्मा बि.क. चौथो र सरस्वती मावि लेलेकी सन्दिका नगरकोटीले पाँचौं स्थान जित्न सफल भइन् ।
हाफ म्याराथन सहित तीन विधातर्फ भएको प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार, ३५ हजार र २५ हजार नगदसँगै मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने खेलकुद विकास समितिका अध्यक्ष निरोज बज्राचार्यले जानकारी दिए।
विजयी हुने खेलाडीलाई आइतवार हुने नगरपालिकाको आठौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्यमन्त्री माननीय गगनकुमार थापाको हातबाट नगद पुरस्कार सहित सम्मान गरिने आयोजकले बताए ।


गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले हाफ म्याराथुमतर्फ भाग लिइ खाली खुट्टा दौडिएका थुलुङ दुधकोशी गाउँपालिका–९, सोलुखुम्बु घर भई हाल कपन बस्ने प्रतियोगी लोकेन्द्र राईलाई नगद रु ५ हजार सहित भोलि हुने कार्यक्रममा सम्मान गरिने जानकारी दिए ।
कार्यक्रममा उपप्रमुख मुना अधिकारी, गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अचुतराज रेग्मी, विभिन्न वडाका वडा अध्यक्ष, नगरपालिकाका कर्मचारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, कार्यपालिका सदस्य, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक एवं नगरवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।