भक्तपुरका डिएसपी पाठकले दुव्र्यवहार गरेको आरोप, पाठक भन्छन– गरेको छैन

भक्तपुर, फागुन २३
भक्तपुर नगरकोटका कृष्ण बहादुर तामाङले मंगलवार पत्रकार सम्मेलनगर्दै जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले दुव्र्यवहार गरेको आरोप लगाउनुभएको छ । तामाङले मध्यपुर थिमि नगरपालिका–३, गठ्ठाघरस्थित राष्ट्रिय संचार केन्द्रको कार्यालयमा पत्रकार सम्मेलन गर्दै डिएसपी पाठकले दुव्र्यवहार गरेको आरोप लगाउनुभएको हो ।
नगरकोटकै एक युवकको चालचलन सम्बन्धी प्रहरी रिपोर्टको विषयमा बुझ्न जाँदा डिएसपी पाठकले एक्कासी दुव्र्यवहार गरेको आरोप तामाङले लगाउनुभयो । उहाँले भन्नुभयो, “नगरकोटका एक जना भाईको प्रहरी रिपोर्ट किन आएन भनी बुझ्न गएको थिएँ । डिएसपी पाठकको कार्यकक्षमा पुगेर आफ्नो भनाई राख्न खोज्दा खोज्दै एक्कासी उहाँ आवेश आउनुभयो र मलाई दुव्र्यवहार गर्दै कार्यकक्षबाट निकाल्नुभयो ।”
उहाँका अनुसार नगरकोटका युवक विनोद तामाङ वैदेशिक रोजगारीमा जानको लागि चालचलन सम्बन्धी प्रहरी रिपोर्टका लागि आवेदन दिनुभएको थियो । तर करिव ६ वर्ष अघिको एक डाँका मुद्दामा संलग्न आरोपीमध्ये एक जनासँग विनोदको नाम ठेगाना मिलेको भन्दै प्रहरीले चालचलन रिपोर्ट दिन ढिलाई गरिरहेको थियो । सोही विषयमा के कस्तो भएको हो भनी बुझ्न जाँदा सो घटना भएको तामाङले बताउनुभयो ।
उहाँले एकै स्थानमा एउटै नाम थर भएका व्यक्ति धेरै हुन सक्ने र घटनामा संलग्नसँग नाम मिलेकै आधारमा युवाको भविष्य बरवाद हुनेगरी प्रहरीले रिपोर्ट दिन ढिलाई गर्न नहुने बताउनुभयो ।
६ वर्ष अगाडिको घटनामा संग्लन आरोपितहरु अदालतको आदेश अनुसार जेल चलान भएको र सोही घटनामा संग्लन व्यक्तिसंग आफ्नो नाम मिल्दा प्रहरीले यो पटक पुलिस रिपोर्ट नदिएको विनोद तामाङको भनाई छ । उहाँले विगतमा एक पटक प्रहरी रिपार्ट बनाएर विदेश गएर आइसकेको दावी पनि गर्नुभयो ।
“विगतमा एक पटक पुलिस रिपोर्ट बनाएर साइप्रस गएर आइसकें । अब पनि विदेश जानेक्रममा पुलिस रिपोर्ट लिन जाँदा यस्तो भएको हो,” उहाँले भन्नुभयो ।
डिएसपी पाठकले भने कुनै सेवाग्राहीलाई आफुले दुव्र्यवहार नगरेको बताउनुभयो । घटनाको सम्बन्धमा प्रतिक्रिया माग्दा उहाँले भन्नुभयो, “विनोद तामाङको चालचलन सम्बन्धी प्रहरी रिपोर्ट प्रक्रियामा रहेको जानकारी गराउँदा एउटा युवकको भविष्य किन बरामद गर्न खोजेको भन्दै आरोप लगाएर होहल्ला गर्न थालेपछि तपाई मेरो कार्यकक्षबाट बाहिर जानुहोस भनी हात जोडेर अनुरोध गर्दा पनि व्यक्तिगतरुपमा मैले नै रिपोर्ट रोकेको आरोप लगाउन थालनुभयो । त्यसपछि पुनः तपाई बाहिर जानुस् भन्दै स–सम्मान हात समातेर पठाएको हो । घटना यति मात्र हो । त्यस्तो कुनै अपशब्द प्रयोग गर्नुका साथै दुव्र्यवहार गरेको छैन ।”
प्रहरीका अनुसार ६ वर्ष अघिको एक डाँका मुद्दाका आरोपी मध्ये एक जना भक्तपुरको नगरकोटका विनोद तामाङको नाम पनि मुछिएको छ । सो घटनाका आरोपी केहीले अदालतले ताकिएको सजाय भुक्तानी गरेका छन ।
चालचालन सम्बन्धी प्रहरी रिपोर्ट बनाउने क्रममा प्रहरी प्रधान कार्यालयको चालचलन शाखाले विनोद तामाङको सम्बन्धमा खुलाई पठाउन पत्राचार गरेको र सो सम्बन्धमा प्रहरीले सम्बन्धीत जाहेरीवाला झिकाएर प्रमाणित गर्ने प्रक्रियामा रहेको पाठकले बताउनुभयो ।
अनुसन्धानको क्रममा घटनामा आरोपी विनोद तामाङसँग हाल पिडित भनिएका युवक विनोदको नाम, ठेगाना हुवहु मिलेको छ तर घटनाको मिसिलमा विनोदको बुवाको नाम उल्लेख नभएको कारण स्पष्ट हुन नसकेको डिएसपी पाठकले बताउनुभयो ।
चालचलन सम्बन्धी प्रहरी रिपोर्टको प्रक्रिया अनुसार सो घटनाका जाहेरीवाला झिकाएर विनोद तामाङको संलग्नता बारे स्पष्ट भएपछि सोही व्यहोरा चालचलन शाखामा पठाईने उहाँले जानकारी दिनुभयो ।