मध्यपुर थिमि नगरपालिका वडा लिग – एक खेल अगावै वडा नं. ९ ले जित्यो उपाधी

भक्तपुर, फागुन २१
साविक विजेता वडा नं. ९ ले एक खेल अगावै मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबलको उपाधी रक्षा गरेको छ । लिगको सोमवार सम्पन्न खेलमा वडा नं. ९ ले वडा नं. २ लाई ३–० ले पराजित उपाधी रक्षा गरेको हो ।
लगातार सातौं खेलमा जित हासिल गरेको वडा नं. ९ को २१ अंक भएको छ । दोस्रो स्थानको वडा नं. ५ को ७ खेलबाट १६ अंक रहेको छ । वडा नं. ५ ले अन्तिम खेलमा जित हासिल गरेपनि वडा नं. ९ लाई उछिन्न नसक्ने भएकोले वडा नं. ९ ले अन्तिम खेल अगावै उपाधी रक्षा गर्न सफल भएको हो ।
मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एशोसियसनको आयोजनामा सानो थिमिस्थित एशोसियसनको खेल मैदानमा भइरहेको लिगको ३२ औं खेलमा वडा नं. ९ लाई जितका साथ उपाधी जिताउन यमन राजबहाकले ह्याट्रिक गरे ।
उनले खेलको १८ औं मिनेटमा वडा नं. २ का गोलकिपरले गरेको गल्तीको फाइदा उठाउँदैं पहिलो गोल गरे । पहिलो हापमा १ गोलको अग्रता बनाएको वडा नं. ९ दोस्रो हापमा थप २ गोल गर्दै जित पक्का गर्नुका साथै उपाधी समेत पक्का गरे ।
यमनले खेलको ८२ औं मिनेटमा दोस्रो गोल गरे । यमले रोनिस धेकेको पासमा व्यक्तिगत र टिमको लागि दोस्रो गोल गरेका हुन । खेलको ९० औं मिनेटमा यमनले ह्याट्रिक पुरा गरे । उनले मनिष राजबहाकको पासमा तेस्रो गोल गर्दै जित पक्का गरे । खेलमा यमन म्यान अफ दि म्याच घोषित भए ।
खेलमा पराजित वडा नं. २ लिगको ११ औं स्थानमा रहेको छ । लिगको तेस्रो स्थानमा वडा नं. ३ रहेको छ । वडा नं. ९ ले अन्तिम खेल वडा नं. १ सँग फागुन २४ गते लिगकै अन्तिम खेलको रुपमा खेल्नेछ ।