भक्तपुरमा तीन पुस्ताका चार फोटोग्राफरको तस्बिर प्रदर्शनी हुने

भक्तपुर, फागुन १२
भक्तपुरमा एउटै परिवारका तीन पुस्ताका चार जनाले खिचेका तस्बिर प्रदर्शनी हुने भएको छ । भक्तपुरको दरबार क्षेत्रमा फागुन १८ र १९ गते सो तस्बिर प्रदर्शनी हुने भएको हो । सो प्रदर्शनीको नाम व्रिलियन्त भक्तपुर फोटो प्रदर्शनी राखिएको छ ।
भक्तपुर पर्यटन विकास समितिले गर्न लागेको उक्त प्रदर्शनीमा भक्तपुरका पायोनियर फोटोग्राफर स्व. बद्रीप्रसाद बनेपाली, उनका छोरा केदार बनेपाली र नाति किसन तथा नातिनी सुनी बनेपाली गरि तीन पुस्ताका चार जनाले खिचेका तस्वीरहरू रहने आयोजक समितिले शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
८० वर्षअघिको भक्तपुर चिनाउने प्रयास गरेको बताउँदै फोटोग्राफर केदार बनेपालीले आफू १२ वर्षदेखि नै फोटोग्राफीमा लागेको बताउनुभयो । दत्तात्रय स्टुडियोका सञ्चालक समेत रहेका उहाँले प्रदर्शनीमा तीन पुस्ताले खिचेका ६ दर्जन तस्वीर रहने जानकारी दिनुभयो ।
आयोजक समितिका अध्यक्ष दीपेशराज शर्माले बनेपाली परिवारको तीन पुस्ताले खिचेका फरक फरक कालखण्डको फोटोहरूले भक्तपुर, काठमाडौं, ललितपुर र काभ्रेका ऐतिहासिक तथा पुरातात्त्विक महत्वका सम्पदा सँगसँगै यहाँको परिवर्तित जीवनशैलीमा आएको परिवर्तनलाई देखाउन खोजेको बताउनुभयो ।
उहाँले प्रदर्शनीमा केही अहिले अस्तित्वमा समेत नरहेका सम्पदाको तस्बिर समेत समावेश हुने जानकारी दिँदै प्रदर्शनीमा राखिएका सम्पदाको परिवर्तित स्वरूपबारे नयाँ पुस्तालाई जानकारी मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रदर्शनीमा स्व. बनेपालीले खिचेका ८० वर्षअघिको, केदारप्रसाद बनेपालीले खिचेका ५० वर्षअघिको, सुनी बनेपालीले ३० वर्षअघिको र किसन बनेपालीको २०– ३० वर्षअघि खिचेका तस्बिरहरू प्रदर्शनीमा रहने आयोजक समितिका रामसुन्दर भेलेले बताउनुभयो ।