चोरी गरेर भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ

भक्तपुर, फागुन १२
भक्तपुरको चाँगुनारायणमा चोरी गरेर भाग्दै गरेका दुई जनालाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा घर भई हाल काठमाण्डौं जिल्ला टेकु बस्ने १९ वर्षिय राजेश भुजेल र काभ्रेपलान्चोकको बनेपा नगरपालिका–६ बस्ने १८ वर्षिय समिर श्रेष्ठ रहेका छन ।
उनीहरुलाई चाँगुनारायण नगरपालिका–३ स्थित भुवन खत्रीको घरमा दराज फुटाई चोरी गरेर भाग्दै गरेको अवस्थामा प्रहरी प्रभाग व्यासीको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट सुनको चुरा ३ थान, सुनको चन्द्रमा १ थान, सुनको औठी १ थान, सुनको नेक्लेस १ थान, सुनको कानमा लगाउने मुन्द्रा १ थान, सुनको तिलहरी १ थान, सुनको पुतली १ थान, सुनको रानीहार १ थान, चाँदीको पाउजु १ जोर, नगद एक हजार २६६ र ताल्चा फुटाउन प्रयोग गर्ने फलामको छिनो १ थान समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताउनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको पाठकले जानकारी दिनुभयो ।