कांग्रेसले राजनीतिलाई विकाससँग जोड्नुपर्नेमा जिल्ला सभापतिहरुको जोड

गोदावरी, ललितपुर, फागुन ९
नेपाली कांग्रेसको महसमिति बैठकको तेस्रो दिन विभिन्न पाँचवटा प्रतिवेदनहरुमाथि समूहगत रुपमा छलफल भइरहेको छ । छलफलमा कांग्रैसका जिल्ला सभापतिहरुले कांग्रेसले राजनीतिलाई जिकाससँग जोड्नुपर्नेमा जोड दिएका छन ।
छलफलमा चितवनका सभापति राजेश्वर खनालले राजनीतिलाई विकाससँग जोड्नुपर्ने बताउनुभयो । उहाँले शिक्षा, रोजगारी र कृषिलाई जोडेर लैजाँदा जनशक्ति व्यवस्थापन पनि सहज हुने बताउनुभयो । सरकार र पार्टीबीचको सम्पर्क बढाउनुपर्ने उहाँको सुझाव छ ।
स्याङजाका सभापति राजु थापाले जनताको म्यान्डेट अनुसार गठबन्धन गरिएको उल्लेख गर्दै चार वर्षपछि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय अहिले नै निर्णय गर्नुपर्छ भन्नु उपयुक्त नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिपक्षी दल नेकपा एमाले अहिले गठबन्धन तोड्ने रणनीतिमा छ । जनतामा संघीयता महँगो भयो भन्ने चिन्ता बढ्दो देखिन्छ ।” भ्रष्टाचार विरुद्ध कांग्रेस अडिग छ भन्ने सन्देश दिन आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
धनकुटा जिल्ला सभापति दिनेश राईले कोशीमा हामीले विकासका मुद्दालाई अघि बढाउन नसकेको अवस्थामा राजनीति कसरी गर्ने हो भन्दै महासमिति बैठकमा प्रश्न गर्नुभयो । “कोशी प्रदेको नामांकनको विषय पेचिलो हुँदै गर्दा नेतागणहरु कहाँ कानमा तेल हाल्नुभएको छ । कोशी प्रदेशमा हामीले कसरी राजनीति गर्ने ? कुनै पनि राजनीतिक दलहरु खुलेर कार्यक्रम गर्न पाएको छैन,” उहाँले भन्नुभयो । उहाँले कोशीको पहिचानको विषयमा महासमिति बैठकले निर्णय दिन नसके १४ जिल्ला सभभापति मिलेर समाधान दिने बताउनुभयो ।

यस्तै मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुले महासमिति बैठकको निर्णय केन्द्रीय समितिले उल्टाउन नपाउने बताउनुभयो । उहाँले पनि पहिचानको विषयमा कुरा उठाउनुभएको छ । साथै उहाँले क्रियाशील सदस्यता वितरण गर्ने अधिकार जिल्लालाई दिनुपर्ने धारणा राख्नुभयो ।
सुनसरी जिल्ला सभापति केदार भण्डारीले आफ्नो मान्छे परे गठबन्धन ठिक नपरे बेठिक भन्ने परिपाटी अन्त्य गरिनुपर्ने बताउनुभयो । उहाँले कोशीमा कांग्रेसले गठबन्धन गरेर गल्ती नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “एमालेलाई कमजोर पार्न सक्नुपर्छ । माओवादीलाई धेरै विच्काउनु हुन्न । गठबन्धन तलमाथी नबनोस् । गठबन्धन गर्न हुन्न हुन्न भन्ने कुरा अहिले यहाँबाट गर्न हुन्न । धेरै कुरा जिल्लालाई बाइपास गरेको देखिन्छ । सभापतिले जिल्ला समितिमा संस्थागत छलफल गरेर आउनुपर्छ । जिल्लालाई कमजोर बनाएर केन्द्रले निर्णय गर्दा कार्यकर्ताको मन दुखेको हुन्छ । नामाकरणको विषयमा पनि स्पष्ट पारेर जानुपर्छ कोशीमा सहज वातावरण बनाउन लाग्न अनुराध छ ।”
झापाका सभापति देउमान थेवेले गठबन्धनको कुरा छुन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धनको कुरा ८३ तिर गर्दा भइहाल्छ नि। अहिले हतार किन गर्न त्यति आवश्यक छैन । यसले इलाममा उपनिर्वाचन हुँदैछ, त्यहाँ असर गर्छ । गठबन्धनकै कारण ७ प्रदेशमा सरकारमा छौं । गठबन्धन अस्ति नहुँदा हाम्रो ओठमुख सुकेको थियो । सातै प्रदेश र संघ जाँदा के हुन्छ ? केपी ओलीले अर्को गठबन्धन गर्ने भनिसके ।”
कैलाली सभापति नारायणदत्त भट्टले प्रदेश समितिलाई कसरी सक्रिय बनाउने र उनीहरुलाई कसरी गाउँ–गाउँ पु¥याउने त्यसतर्फ पार्टी ध्यान दिनुपर्ने बताउनुभएको छ । उहाँले थप्नुभयो, “महाधिवेशन कहिले गर्ने भन्ने कुरा आएको छ, समयमा गर्ने समयमा नसके विधानले व्यवस्था गरे बमोजिम गर्ने, नसके संविधानको धारा प्रयोग पाँच वर्ष र ६ महिना बढाउने । तर सकभर समय गर्ने ।”

गठबन्धन नगर्ने कुरा पारित हुन सक्ने भए पनि अहिले नै फैसला गर्ने समय नभएको सभापति भट्टले बताउनुभयो । भावनामा बगेर काम गर्दा पछुताउनुपर्ने परिस्थिती हुन सक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धन तत्कालीन आवश्यक्ता हो, ८४ सम्म देशमा के–के हुन्छ ? कम्युनिष्टहरु एक हुन्छौं भनेका छन् । अनि के हुन्छ? कांग्रेस पार्टी भोली कसरी सफल हुन्छ ।”