कांग्रेसले सुशासनलाई मुलमन्त्र बनाउने महामन्त्री थापाको प्रस्ताव

गोदावरी, ललितपुर, फागुन ८
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने बताउनुभएको छ । ललितपुरको गोदवारीमा जारी महासमिति बैठकमा सांगठनिक प्रतिवेदन प्रस्ताव पेश गर्दै उहाँले कांग्रेसको अभियानलाई सामाजिक आन्दोलनसँग जोड्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पार्टीले आफूले नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मन्त्र बनाई जनतालाई निरन्तर तीनका मुद्दासँग जोडिएको अनुभुत गराउनेछौं । अवसर पाएको बेला अव्वल सेवा प्रवाह गर्न भविष्यप्रतिको भरोसा दिलाउनेछौं ।”
महामन्त्री थापाले कांग्रेसलाई लोकतन्त्रमा आस्थावानहरूको एकमात्र विश्वासिलो र आम जनताको भरपर्दो पार्टी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । महामन्त्री थापाले आन्तरिक प्रतिस्पर्धामा गुटगत भिन्नता देखिएपनि सार्वजनिक हितका विषयमा एकजुट भएर लाग्ने सामूहिक भावना कांग्रेसमा रहेको बताउनुभयो ।
गठबन्धनबारे बोल्दै महामन्त्री थापाले तत्कालिन सरकारले पटक पटक असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेपछि गठबन्धनको परिस्थिती बनेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “एक विशिष्ट परिस्थितीमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षार्थ नेपाली कांग्रेसले पाँचदलिय गठबन्धनको नेतृत्वगर्दै सरकारको जिम्मेवारी बहन गर्नुपरेको थियो । त्यसैको निरन्तरता स्वरुप पार्टीले लोकतन्त्र र संविधानको रक्षार्थ र स्थिरताका लागि निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएको थियो ।”
प्रस्तावमा आगामी आवधिक निर्वाचनहरुमा एक्लै निर्वाचन लड्ने परिस्थिती निर्माण गर्ने उल्लेख गरिएको छ । “पार्टी संगठन र समर्थक, शुभेच्छुकको ताकत र आम जनताको विश्वासमा आगामी आवधिक सबै तहको निर्वाचनमा पार्टी एक्लै लडेर पार्टीलाई पुनः एकल बहुमतसहितको लोकप्रिय पार्टीको रुपमा स्थापित गर्नेछौं,” उहाँले भन्नुभयो ।


महामन्त्री थापाले निर्वाचनमा उम्मेदवार छनोट गर्दा अहिलेको व्यवस्था कायम राख्ने वा सम्बन्धीत तह र क्षेत्रका क्रियाशिल सदस्यको प्रत्यक्ष मतदान (प्राइमरी इलेक्सन)बाट उम्मेदवार छनोट गर्ने प्रस्ताव गर्नुभएको छ ।
उहाँले संसदीय उम्मेदवार छनोट गर्दा पनि सम्बन्धित क्षेत्रका पार्टीका क्रियाशील सदस्यको प्रत्यक्ष मतदानबाट टुंग्याउन प्रस्ताव गर्नुभएको छ । थापाले यो बाहेक सम्बन्धित क्षेत्रका पार्टी सदस्यहरूले मतदान गरेर बढी मत ल्याउने एक महिलासहित तीन जना छनोट गरी निर्णय गर्ने तहमा पठाउने प्रस्ताव पनि गर्नुभएको छ । उहाँले यसरी पठाउँदा तीन जनाभन्दा बढीको नाम सिफारिस नै गर्न नपाउने पनि प्रस्ताव गर्नुभएको छ ।
त्यस्तै, निर्णय गर्ने निकायले सम्बन्धित क्षेत्रबाट सिफारिस भएका तीन जनामध्ये एक जना चयन गर्ने र सिफारिस भएका तीन जनाभन्दा बाहिरबाट उम्मेदवार बनाउन नपाउने व्यवस्था गर्न पनि उहाँले प्रस्ताव गर्नुभएको छ ।
थापाले पार्टीबाट समानुपातिकतर्फका उम्मेदवार छनोट गर्दा निश्चित मापदण्ड नै बनाउन प्रस्ताव गरेका छन् । “पार्टीले समानुपातिकको सूची बनाउँदा सम्बन्धित क्लस्टरमा पनि विगतमा अवसर नपाएका समुदाय, क्षेत्र र क्लस्टरलाई प्राथमिकता दिने,” उहाँले प्रस्तावमा उल्लेख गर्नुभएको छ, “पार्टीले लोकप्रिय र सक्षम उम्मेदवार पत्ता लगाउन सर्भेलगायत अन्य विधि र प्रक्रिया अवलम्बन गरी निश्चित मापदण्डका आधारमा उम्मेदवार छनोट गर्ने ।”
सरकार र पार्टीको सम्बन्धमा सबै तहमा केही न केही समस्या भएपनि ती समस्या समाधानका लागि छलफलका माध्यमबाट पार्टी अघि बढ्ने महामन्त्री थापाले जिकिर गर्नुभयो ।