मध्यपुर थिमि वडा लिग फुटबलमा वडा नं. ९ को तेस्रो जित

भक्तपुर, फागुन ६
मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगितामा वडा नं. ९ ले लगातार तेस्रो जित दर्ता गरेको छ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एशोसियसनको आयोजनामा सानो थिमिस्थित मध्यपुर खेल मैदानमा जारी लिगको आइतवार सम्पन्न खेलमा वडा नं. ७ लाई २–० ले गोलले पराजित गर्दै वडा नं. ९ ले तेस्रो जित दर्ता गरेको हो ।
वडा नं. ९ को जितमा यमन राजबहाक नायक बने । खेलको दुवै गोल उनले गरे । उनले पहिलो गोल वडा नं. ७ का गोलकिपरको गल्तीको फाइदा उठाउँदै गरेका थिए । डिबक्स बाहिरबाट वडा नं. ९ का अमन राजबहाकले गरेको प्रहार नियन्त्रण गर्ने क्रममा वडा नं. ७ का गोलकिपरले बल फुत्काएपछि यमनले उक्त बल खोसेर गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
दोस्रो गोल यमनले डिबक्स बाहिर वडा नं. ७ का अनिस खिउँजुको गल्तीको फाइदा उठाउँदै गरे । अनिसले बल नियन्त्रण लिएर क्लियर गर्न ढिलाई गर्दा यमनले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । उनी म्यान अफ दि म्याच समेत घोषित भए ।
खेलमा वडा नं. ७ ले पेनाल्टीको मौका पाएको थियो । वडा नं. ९ का गोलकिपरले फल गरेपछि रेफ्रिले वडा नं. ७ लाई पेनाल्टीको अवसर दिएको थियो । तर वडा नं. ७ का विकेश दुवाल गोल गर्नबाट चुके । उनले प्रहार गरेको पेनाल्टी वडा नं. ७ का गोलकिपरले बायाँतर्फ डायभ दिँदै बचाए ।
जितसँगै वडा नं. ९ को ९ अंक भएको छ । लिगमा वडा नं. ९ शिर्ष स्थानमा रहेको छ । दुई खेल खेलेको वडा नं. ५ एक जित र एक बराबरीसहित ४ अंकका साथ लिगको दोस्रो स्थानमा रहेको छ ।
वडा नं. ७ दुई खेलबाट ३ अंक जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ भने वडा नं. ६, १ र ८ समान २ अंकसहित क्रमश चौंथो, पाँचौं र छैटौं स्थानमा रहेको छ । समान एक अंक रहेको वडा नं. ३, २ र ४ अंक तालिकाको सातौं, आठौं र नवौं स्थानमा रहेको छ ।