कांग्रेस महासमिति बैठकमा ५ प्रतिवेदन पेश हुने, हिन्दु राष्ट्र एजेण्डा नबन्ने

भक्तपुर, फागुन ६
ललितपुरको गोदावरीमा सोमवार शुरु हुने नेपाली कांग्रेसको महासमिति बैठकमा ५ प्रतिवेदनमाथि छलफल हुने भएको छ । बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेश गरिने गोदावरीमा आइतवार आयोजित पत्रकार सम्मेलनमा प्रचार प्रसार उपसमितिका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
बैठकमा नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गर्नेछन् । महामन्त्री गगन थापाले सांगठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक राजनीतिक प्रतिवेदन पेश गर्ने छ । प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन र लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्ने संयोजक विश्वकर्माले बताउनुभयो ।
बैठकमा आधिकारिक प्रतिनिधिको संख्या दुई हजार १०५ भए पनि सहभागीको संख्या २५ सय बढी पुग्ने विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय समितिका १६५ जना, संघीय निर्वाचन क्षेत्रबाट १ हजार ७८०, जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, ७७ जिल्लाका सभापति लगायत सहभागी हुनेछन् । महासमिति सदस्य नभएका ४६ जिल्लाका सभापतिलाई पनि आमन्त्रित सदस्यका रुपमा बैठकमा सहभागी गराउने पार्टीले निर्णय गरेको छ ।
महासमिति बैठकका लागि ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता, स्वतन्त्रता, न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता’ मूल नारा बनाइएको छ ।
नीति अधिवेशनका रुपमा रहेको महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनमाथि समूहगत छलफल हुने छ । ‘तराइ, पहाड, मधेस, हिमालबाट प्रतिनिधित्व हुने गरी समूह बनाइनेछ,’ विश्वकर्माले भन्नुभयो, ‘महासमिति बैठकमा बढी भन्दा बढी सहभागीले बोल्ने अवसर जुरोस् भनेर समूह विभाजन गरिएको हो । ६० प्रतिशत प्रतिनिधिले बोल्न पाउने अवस्था हुन्छ ।’
महासमिति बैठकमा करिब दुई करोड खर्च हुने कांग्रेसले अनुमान गरेको छ । महासमिति बैठकका लागि करिब ८० लाख रुपैयाँ आर्थिक संकलन हुने अनुमान गरिएको प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिनुभयो ।


महासमितिमा सहभागी हुने प्रत्येकलाई ३ हजार रुपैयाँ शुल्क तोकिएको छ । त्यसबाट खर्च नपुग्ने भएकाले पार्टीका शुभचिन्तकहरुबाट स्वेच्छिक सहयोगको अपिल गरिएको उहाँले बताउनुभयो । ‘दर्ता शुल्कबाट ६०÷६५ लाख उठ्ने अनुमान गरेका छौं । लेबीबाट २२ लाख उठ्ने अनुमान गरेका छौं,’ विश्वकर्माले भन्नुभयो ।
महासमिति बैठकबाट आवाससम्म पुग्नका लागि २० वटा निशुल्क बसको व्यवस्था गरिने छ । बिहान ७ बजे बैठक स्थलमा जानका लागि तयार हुनुपर्ने प्रतिनिधिलाई बेलुका ६ बजे बस्ने ठाउँमा बस मार्फत पु¥याइने छ ।
विश्वकर्माले बैठकमा हिन्दु राष्ट्रको एजेण्डा प्रतिवेदनमा समावेश नहुने स्पष्ट पार्नुभयो । हिन्दु राष्ट्र बनाउनुपर्ने मुद्दामा व्यक्ति विशेषले धारणा राख्न पाउने तर आधिकारीक एजेण्डा नहुने उहाँले बताउनुभयो ।
‘हाम्रो पार्टी जातीय पार्टी होइन, क्षेत्रीय पार्टी होइन, धार्मिक, साम्प्रदायीक पार्टी होइन । राष्ट्रिय पार्टीमा यी सबै आकांक्षाहरु समेट्नुपर्ने हुन्छ,’ विश्वकर्माले भन्नुभयो, ‘केन्द्रीय समितिमा बोल्नु भएको छ । महासमिति बैठकमा पनि बोल्नुहुन्छ । बोल्न त पाउनु प¥यो नि । विचार व्यक्त हुनसक्छन । आधिकारिता पाउँदैनन् ।’
उहाँले कांग्रेसको चार ताराको अर्थ एउटा धार्मिक स्वतन्त्रता भएको बताउँदैं पार्टी स्थापनाकालदेखीको सिद्धान्तमा अहिलेसम्म कुनै परिवर्तन नभएको स्पष्ट पार्नुभयो ।
महासमिति बैठकको सोमबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवाले उदघाटन गर्ने छन् ।