मध्यपुर थिमि नगरपालिका वडा लिग – वडा नं. ९ को दोस्रो जित

भक्तपुर, फागुन ३
मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगितामा वडा नं. ९ ले लगातार दोस्रो जित दर्ता गरेको छ । सानो थिमिस्थित मध्यपुर खेल मैदानमा बिहिवार सम्पन्न दोस्रो खेलमा वडा नं. ९ ले वडा नं. ३ लाई १–० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।
वडा नं. ९ को जितमा अनिश चित्रकारले गोल गरे । उनले खेलको ५७ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलमा त्यसपछि कुनै गोल हुन नसकेपछि अनिशको गोल निर्णायक बनेको थियो । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।


मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एशासियसनले आयोजना गरेको लिगमा जितसँगै वडा नं. ९ अंक तालिकाको शिर्ष स्थानमा कायम रहेको छ । उसको दुई खेलबाट ६ अंक भएको छ ।
यसअघि दिनको पहिलो खेलमा वडा नं. ७ ले वडा नं. ४ लाई २–० ले पराजित गर्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लेको थियो । तर दोस्रो खेलमा वडा नं. ९ को जितसँगै वडा नं. ७ दोस्रो स्थानमा झरेको छ ।


वडा नं. ७ को जितमा विकेश दुवाल र रमेश सिन्केमानले गोल गरे । खेलको २६ औं मिनेटमा विकेशले गोल गर्दै वडा नं. ७ लाई अग्रता दिलाएका थिए । मैदानको मध्यभागबाट वडा नं. ७ का खेलाडी रोहन मोक्तानले उपलब्ध गराएको बलमा विकेशले वडा नं. ४ का ३ रक्षकलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए ।
खेलको ३७ औं मिनेटमा रमेशले गोल गर्दै वडा नं. ७ को अग्रता दोब्बर पारे । वडा नं. ७ का मुकेश कोजुले प्रहार गरेको कर्नर वडा नं. ४ का खेलाडीले क्लियर गर्न नसक्दा प्राप्त बलमा रमेशले गोल गरेका थिए । रमेशको प्रहार गोलपोष्टको बाँया कर्नरबाट गोल भएको थियो ।


दोस्रो हापमा वडा नं. ४ ले लगातार वडा नं. ७ को पोष्टमा प्रहार गरेपनि गोल भने हुन सकेन । केही अवसरमा वडा नं. ७ का गोलकिपरले उत्कृष्ट वचाउ गरेका थिए । खेलको म्यान अफ दि म्याच वडा नं. ७ का विकेश दुवाल घोषित भए ।