मध्यपुर थिमि नगरपालिकाको सहकारी ऐन र नियमावलीका बारेमा सञ्चालकहरुलाई अभिमुखीकरण

भक्तपुर, माघ १५
मध्यपुर थिमि नगरपालिकाले सोमवार नगरभित्र सञ्चालित सहकारी संस्थाका पदाधिकारी एवम् व्यवस्थापकलाई नगरपालिकाले जारी गरेको सहकारी ऐन २०७९ र नियमावली २०८० को बारेमा अभिमुखीकरण गरेको छ ।
सहकारीहरु एक पछि अर्को समस्याग्रस्त हुँदै गएको अवस्थामा सहकारीहरुको नियमनका लागि नगरपालिकाले नगरपालिकाको सहकारी ऐन–२०७९ र सहकारी नियमावली–२०८० जारी गरेको थियो । सोही ऐन र नियमावलीमा व्यवस्था भएका विभिन्न विषयमा जानकारी गराउने उद्देश्यले नगरपालिकाले एक दिने अभिमुखीकरण गरेको हो ।
कार्यक्रममा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरभित्र स्थानीयरुपमा र समूदायमा आधारित भएर सञ्चालित सहकारी संस्थाहरुमा वचत फिर्ताको समस्या नरहेको बताउनुभयो । उहाँले समूदायमा आधारित भन्दा पनि सहकारी सिद्धान्त विपरित व्यापारिक दृष्टिकोणले सञ्चालित सहकारी संस्थाहरु समस्याग्रस्त बनेको बताउनुभयो ।


उहाँले सहकारी ऐन र नियमावली निर्माणमा नगरपालिकाले धेरै अध्ययन, अनुसन्धान र मेहनत गरेको बताउँदैं सहकारी विज्ञहरुको सरसल्लाह, सुझावमा ऐन नियमावली निर्माण गरेको जानकारी दिनुभयो । उहाँले यसले नगरभित्रका सहकारी संस्थाहरुको नियमनमा सहज हुने र वचतकर्ताको वचत सुरक्षित हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरभित्र सञ्चालित समस्याग्रस्त सहकारीको अनुसन्धानका क्रममा सञ्चालकहरुले बेइमानी र वचत अपचलन गरेका कारण समस्या आएको पाएको बताउनुभयो । “सहकारीको मूल्य मान्यता र सिद्धान्त अनुसार सञ्चालित सहकारीमा समस्या आएको छैन,” उहाँले भन्नुभयो, “जहाँ सञ्चालकहरुले वचत अपचलन गरेका छन ती सहकारीमा समस्या आएको छ ।”


कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष केदार खड्काले लामो छलफल र तयारीपछि नगरपालिकाले सहकारी ऐन र नियमावली ल्याउनु सकारात्मक भएको बताउँदैं यसलाई पूर्णरुपमा कार्यान्वयन गर्न सके धेरै हदसम्म सहकारीका वचतकर्ताको वचत सुरक्षित बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गले नगरपालिकाले सहकारी ऐन र नियमावली निर्माण गरेर सह्रानीय कार्य गरेको बताउनुभयो । उहाँले स्थिरीकरण कोषले सहकारीहरुलाई थप बलियो बनाउने विश्वास दिलाउँदैं नगरपालिकाले अब ऐन नियमावली व्यवस्था भएका विभिन्न समितिहरुको गठन गरी सहकारीहरुको नियमनलाई जोड दिनुपर्ने बताउनुभयो ।


नगरपालिकाको उद्योग सहकारी तथा रोजगारी प्रबद्र्धन शाखाका प्रमुख अभयन्द्र रञ्जितले ऐन र नियमावलीको बारेमा प्रस्तुतीकरण मार्फत नगरपालिकाले ऋण सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण, सहकारी वचत तथा ऋण सुरक्षण कोषको स्थापना, स्थिरीकरण कोष सम्बन्धी व्यवस्था र सञ्चालनको व्यवस्था रहेको बताउनुभयो ।
सहकारी समितिका संयोजक एवम् वडा नं. ९ का अध्यक्ष सानुकाजी राजबहाकले सहकारी ऐन र नियमावली वचतकर्तासँगसँगै सहकारी सञ्चालकहरुको सहारा भएको बताउनुभयो । उहाँले ऐनले गलत गर्ने सञ्चालक मात्र नभई ऋण नतिर्ने सदस्यहरुलाई पनि कारवाही गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागीहरुले ऐन र नियमावलीमा व्यवस्था गरिएका स्थिरीकरण कोष सम्बन्धी व्यवस्था र सञ्चालन, ऋण असुलीमा नगरपालिकाले खेल्ने भूमिकालगायतका विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा नगरपालिका क्षेत्रभित्र रहेका एक सय २८ वटा सहकारीका प्रतिनिधिहरु सहभागी थिए ।