भारोत्तोलनमा सुष्मालाई ६ स्वर्ण

भक्तपुर, पुस २५
मध्यपुर थिमिमा जारी २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपको दोस्रो दिन बुधवार सुष्मा काफ्लेले ६ वटा स्वर्ण पदक जितेका छन । कास्की जिल्लाका सुष्माले ५९ केजी जुनियर र ५९ केजी युथ दुवै स्पर्धामा समान ३÷३ स्वर्ण पदक जितेका हुन ।
सुष्माले जुनियर र युथ दुबैतर्फ स्न्याचमा ४० केजी, क्लिन एन्ड जर्कमा ४७ केजी र कुल ८७ केजी तौल उठाउँदै स्वर्ण जितेका हुन । सोही तौल समुहमा जुनियरतर्फ सप्तरीकी पुष्पा ठाकुरले स्न्याचमा ४०, क्लिन एन्ड जर्कमा ४५ केजी र कुल ८५ केजी तौल उठाउँदैं रजत पदक जिते ।
त्यसैगरी ५९ युथमा सप्तरीकी अञ्जली यादवले रजत पदक जित्ने क्रममा स्न्याचमा ३५, क्लिन एन्ड जर्कमा ४५ गरी कुल ८० केजी भार उठाए ।


पुरुष सिनियर ८१ केजी तौल समूहमा निकै प्रतिस्पर्धात्मक भीडन्तमा एपीएफका सन्तोष चौधरीले बाजी मारे । उनले क्लिन एन्ड जर्कमा १३३ र कुल २३६ तौल उठाएर दुई स्वर्ण जिते । उनलाई कडा टक्कर दिएका कञ्चनपुरका विकास भट्टले स्न्याचमा ११५ केजी उठाएर स्वर्ण जिते । तर क्लिन एन्ड जर्कमा १३५ उठाउने धुनमा असफल भएपछि सन्तोषले २ स्वर्ण प्राप्त गरी बाजी मारे ।
त्यसैगरी ६४ केजी सिनियरमा शारदा चौधरीले स्वर्ण जिते । उनले स्न्याचमा ६७, क्लिन एन्ड जर्कमा ८८ गरी कुल १५५ केजी उठाएका थिए । नेपाल प्रहरीकी लक्ष्मी थापाले स्न्याचमा ५७, क्लिन एन्ड जर्कमा ६९ केजी गरी कुल १२६ केजी भार उठाएर रजत पदक हात पारे । ६४ केजी जुनियरमै सहभागी सप्तरीकी सन्तोषी यादवले स्वर्ण जिते । सो क्रममा उनले स्न्याचमा ५०, क्लिन एन्ड जर्कमा ७५ गरी कुल १२५ केजी तौल उठाए ।


यस्तै ५९ केजी सिनियरमा नेपाल प्रहरीकी टिकामाया गुरुङले स्वर्ण जिते । उनले स्न्याचमा ६१, क्लिन एन्ड जर्कमा ७८ गरी कुल १३९ केजी उठाएका थिए । नेपाली सेनाकी अस्मिता पुलामी मगरले रजत जित्ने क्रममा स्न्याचमा ६०, क्लिन एन्ड जर्कमा ६९ गरी १२९ केजी तौल उठाए ।

पुरुषतर्फ ७३ केजी सिनियरमा नेपाल प्रहरीका प्रकाश केसीले स्वर्ण जिते । उनले स्न्याचमा १०२ केजी, क्लिन एन्ड जर्कमा १३२ केजी गरी कुल २३४ केजी भार उठाए । सो तौलमा रजत पदक जित्ने क्रममा कञ्चनपुरका अशोक भण्डारीले स्न्याचमा १००, क्लिन एन्ड जर्कमा १२६ गरी कुल २२६ केजी उठाए ।


त्यस्तै ७३ केजी जुनियरमा कञ्चनपुरका हेमन्त पालले स्न्याचमा ९७, क्लिन एन्ड जर्कमा १२२ गरी कुल २१९ केजी भार उठाएर स्वर्ण जिते । हेमन्त तीन महिना अगाडी भारतको नयाँ दिल्लीमा सम्पन्न युथ एन्ड जुनियर एसियन च्याम्पियनसिपमा जुनियर तर्फ कास्य जितेका खेलाडी हुन् ।
इलामका पुष्कर राईले स्न्याचमा ५०, क्लिन एन्ड जर्कमा ६० गरी कुल ११० केजी उठाएर रजत जिते । त्यसैगरी ७३ केजी युथमा सप्तरीका हेम नारायण यादवले स्वर्ण जिते । ६७ केजी सिनियरमा नेपाली सेनाका राजु चौधरीले स्वर्ण जिते भने नेपाली सेनाकै मुक्तिराम घलेले रजत पदक जिते ।
६७ केजी जुनियर तर्फ कास्कीका रोशन चुन्वाङले स्वर्ण र ललितपुरका मोहित शाक्यले रजत पदक जिते । ६७ केजी युथमा भने सप्तरीका अनुराग प्रताप सिंहले स्वर्ण र दिपेश घताल कञ्चनपुरले रजत जिते ।


त्यसैगरी ६१ केजी सिनियरमा नेपाली सेनाका तुलाराम महतोले स्वर्ण जिते । उनले स्न्याचमा ८६, क्लिन एन्ड जर्कमा १०५ गरी कुल १९१ केजी भार उठाए । रजत जितेका एपीएफका पारस देसारले स्न्याचमा ८५, क्लिन एन्ड जर्कमा १०३ गरी कुल १८८ केजी उठाए ।
६१ केजी जुनियरमा बाँकेका विमित योगी थारुले स्न्याचमा ७७, क्लिन एन्ड जर्कमा १०२ गरी कुल १७९ केजी उठाएर स्वर्ण जिते । रजत पदक जितेका किरण घर्तीमगरले स्न्याचमा ६५, क्लिन एन्ड जर्कमा ८५ गरी कुल १५० केजी तौल उठाए ।
यस्तै ६१ केजी युथमा सप्तरीका सुजित यादवले स्वर्ण जिते । उनले स्न्याचमा ४८, क्लिन एन्ड जर्कमा ६० गरी कुल १०८ केजी उठाए । रजत पदक जितेका बाँकेका आदित्य खातिकले स्न्याचमा ४१, क्लिन एन्ड जर्कमा ५० गरी कुल ९१ केजी भार उचाले । बिहीवारसम्म चल्ने प्रतियोगितामा नेपालका २३ जिल्लाका १ सय ६४ खेलाडीहरुले प्रतिष्पर्धा गरिरहेका छन् ।