चाँगुनारायणको विपद् जोखिम न्यूनिकरण रणनीतिक कार्ययोजनामा गैसससँग सुझाब संकलन

भक्तपुर, पुस २४
चाँगुनारायण नगरपालिकाको विपद् जोखिम न्यूनिकरण रणनीतिक कार्ययोजनामा गैरसरकारी संस्थासँग मंगलवार सुझाव संकलन गरेको छ । नगरपालिकाले गैरसरकारी संस्था महासंघ चाँगुनारायण नगर समन्वय समितिको सहकार्यमा कार्यशाला गोष्ठी आयोजना गरी सुझाव संकलन गरेको हो ।
प्राकृतिक तथा गैरप्राकृतिक विपद््बाट जीवन तथा सम्पत्ति, स्वास्थ्य, जीविकोपार्जन तथा उत्पादनका साधनहरू, भौतिक एवं सामाजिक पूर्वाधार, सांस्कृतिक एवं वातावरणीय सम्पदामा हुने क्षतिको उल्लेख्य रूपमा न्यूनिकरण गर्न विभिन्न रणनीतिक क्रियाकलापहरूको पहिचान गरी आवधिक तथा वार्षिक योजना तर्जुमा गरी कार्यान्वयन गर्दै विपद्् जोखिम रोकथाम, पूर्वतयारी, प्रतिकार्य एवं पुनस्र्थापना तथा पुनर्निर्माणको सुदृढीकरण र उत्थानशीलता अभिबृद्धि गरी विद्यमान विपद्् जोखिम तथा क्षतिको न्यूनीकरण र नयाँ जोखिमको रोकथाम गर्नका लागि गैरसरकारी संघ संस्थाको भूमिका तथा कार्यदलले तयार गरेको मस्यौदामा थप गर्नुपर्ने योजनाहरुको संकलन गर्ने उद्देश्यकासाथ कार्यशाला आयोजना गरिएको हो ।
कार्यशालाका सहभागीहरुलाई समुह विभाजन गरी विभिन्न ४ वटा प्राथमिकता प्राप्त क्षेत्रहरुमा समुह कार्य गरी सम्भावित रणनीतिक क्रियाकलापहरू संकलन गरिएको थियो । प्राथमिकता प्राप्त क्षेत्रहरुमा क्रमशः विपद्् जोखिम बारे बुझाई, स्थानीय तहमा विपद्् जोखिम शासकीय पद्धतिको सुदृढीकरण, विपद्् जोखिम न्यूनिकरणका लागि उत्थानशीलता वृद्धि गर्न बृहत्तर जोखिम जानकारीमा आधारित निजी तथा सार्वजनिक लगानी प्रवर्धन र प्रभावकारी विपद्् प्रतिकार्य र पुनर्लाभ, पुनःस्थापना तथा पुनःनिर्माणमा ‘अझ राम्रो र बलियो निर्माण’का लागि विपद्् पूर्वतयारीको सुदृढीकरण रहेका थिए ।

कार्यशालाको समापनमा चाँगुनारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बीर बहादुर खड्काले महत्वपूर्ण सुझावहरुलाई विपद् जोखिम रणनीतिक कार्ययोजना तयारी कार्यदलले योजनामा समावेश गर्ने बताउनुभयो । उहाँले विपद् उत्थानशील नगरपालिका बनाउनेतर्फ चाँगुनारायण नगरपालिका अग्रसर भइ कार्य गरिरहेकोले सबैको सामुहिक प्रयासबाट मात्रै उत्थानशील नगरपालिका बनाउन सकिने भएकाले नगरपालिकाको नेतृत्वमा संचालित कार्यक्रम तथा गतिविधिहरुमा सबैले हातेमालो गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
गै.स.स महासंघ चाँगुनारायण नगर समन्वय समितिकी संयोजक मनिषा कार्कीले चाँगुनारायण नगरपालिकाले संचालन गर्ने कार्यक्रम तथा गतिविधिहरुमा सहकार्य गर्न पाएकोमा खुशी ब्यक्त गर्नुभयो ।
चाँगुनारायण नगरपालिकाका विपद् विज्ञ एवं परामर्शदाता दिनेश थापा, प्रशिक्षकहरु राजकुमार लम्साल, दिवाकर पौडेलले सहजीकरण गर्नुभएको कार्यशालामा कार्यपालिका सदस्य निर्मला के.सी, कार्यदलका सदस्य प्रदिप कुमार के.सी, नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अनुप लामिछाने, नगरपालिका क्षेत्र भित्रका विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरु गरी ३१ जनाको सहभागिता रहेकोे थियो ।