मध्यपुर थिमिको १६ किलोमिटर सडकमा स्मार्ट बत्ति जडान हुने

भक्तपुर, पुस २०
मध्यपुर थिमि नगरपालिका भित्रको १६ किलोमिटर सडकमा स्मार्ट बत्ति जडान हुने भएको छ । ‘मध्यपुर उज्यालो’ कार्यक्रम अन्तर्गत नगर भित्र भएको सडकहरुमध्ये थप १६ किलोमिटर सडकमा स्मार्ट बत्ति जडान गर्न लागिएको हो ।
यसअघि प्राधिकरणसँगैको साझेदारीमा अरनिको राजमार्गको लोहकिल्थलीस्थित मनोहरा पुलदेखी राधेराधे हनुमन्ते पुलसम्मको सडक खण्डमा स्मार्ट बत्ति जडान गरी हाल सञ्चालनमा रहेको जानकारी दिँदैं नगरप्रमुख सुरेन्द्र श्रेष्ठले थप १६ किलोमिटर सडकको लागि प्राधिकरणसँग सम्झौता गरि करिब ४ करोडको स्मार्ट बत्ति जडान गर्न टेन्डर समेत भइसकेको बताउनुभयो ।
मध्यपुर सञ्चार समाजको सहकार्यमा शुक्रवार नगरपालिकाले आयोजित मध्यपुर थिमि नगरभित्रका स्थानीय पत्रकारहरुसँग संवाद कार्यक्रममा नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “प्राधिकरणसँगको साझेदारीमा ३५÷६५ प्रतिशतको लागत सहभागितामा नगरका करिव १६ किलोमिटर सडकमा स्मार्ट बत्ति जडानको लागि टेण्डर भइसकेको छ । अर्को महिनादेखी नै पोल गाड्ने काम शुरु हुन्छ ।”


उहाँले सो परियोजना अन्तर्गत नगरको पुरानो बाटो पेप्सीकोला मनोहरा पुलदेखी निकोशेरा खस्याङखुसुङ पुलसम्म, राधेराधे चोकदेखी निकोशेरासम्मको सडकलगायतमा स्मार्ट बत्ति जडान हुने बताउनुभयो ।
कार्यक्रममा उहाँले मध्यपुर थिमि नगरपालिकाले चालु आर्थिक वर्ष पर्यटन उद्योगको बिस्तार, सार्वजनिक जग्गा संरक्षण र शिक्षा, स्वास्थ्यका साथै पूर्वाधार निर्माणमा विशेष जोड दिएको बताउनुभयो ।
नगरप्रमुख श्रेष्ठले नगरपालिकाले यो वर्ष सार्वजनिक जग्गाको संरक्षणको अभियान नै सञ्चालन गरिएको जानकारी दिँदैं प्रत्येक वडामा भएका सार्वजनिक जग्गाको लगत निकाली ती जग्गाहरुको अवस्था पहिचान गरी संरक्षण गर्ने कार्य शुरु गरिएको बताउनुभयो ।
“सानो क्षेत्रफलको नगरपालिकामा भएका थोरै सार्वजनिक जग्गा पनि अतिक्रमणमा परेर सार्वजनिक जग्गा नै लोप हुने अवस्थामा पुगेकोले यसवर्ष अभियान नै सञ्चालन गरेर सार्वजनिक जग्गा संरक्षणको कार्य थालनी थरिएको हो,” उहाँले भन्नुभयो ।


उहाँले पूर्वाधार विकास निर्माणतर्फ सडक बिस्तार, ढल निर्माण, सडक स्त्तोरन्नती, पाटी पौवा, मठ मन्दिर, पोखरी, चैत्य, बिहार, देवल, देवालय निर्माण तथा पुनःनिर्माणको कार्यलाई आर्थिक वर्ष २०८०÷०८१ को विनियोजित बजेटमा उल्लेखित योजनाहरुलाई तदारुकताका साथ कार्यान्वयन गरिरहेको बताउनुभयो ।
मध्यपुर थिमिको आर्थिक रुपान्तर र रोजगारी सिर्जना गर्नको लागि पर्यटन गुरु योजना निर्माण अन्तिम चरणमा पुगेको र परम्परागत पेशा संरक्षण गरी पर्यटकीय गन्तव्य निर्माणका लागि संग्रहालय स्थापना गर्ने कार्य अगाडि बढाएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।


सिद्धिकालीदेखि ( दुनेंग ) क्षयरोग अस्पताल सम्म सम्पदा मार्ग गुरुयोजनाको डिपिआर तयार गरि कार्य शुभारम्भ गरिएको जानकारी दिँदैं उहाँले नीलबाराही क्षेत्र संरक्षणका लागि स्वीकृत डिपिआर अनुसार निर्माण कार्य अगाडि बढाउन काठमाडौँ उपत्यका विकास प्राधिकरणसंग साझेदारीमा करिब २१ करोडको योजना अगाडि बढाइएको र मुर्त अमुर्त कला संस्कृति र सम्पदाहरुको संरक्षणका लागि विशेष आर्थिक सहयोगलाई निरन्तरता दिँदैं आएको बताउनुभयो ।
बाल शिक्षाको गुणस्तर अभिबृद्धिका लागि बाल बिकास केन्द्रमार्फत ईसिडी कक्षालाई दुई तहको बनाई सञ्चालन गर्न शिक्षक दरबन्दीको व्यबस्थापन गरिएको, सामुदायिक विद्यालयमा अतिरिक्त क्रियाकलापहरुको विकासका लागि शिक्षकहरुको दरबन्दीको व्यबस्था गरिएको उहाँले बताउनुभयो ।


नगरपालिकाभित्र रहेका सामुदायिक बिद्यालयमा दिवा खाजाको लागि एकिकृत भान्छा सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिँदैं आगामी शैक्षिक सत्र देखि कक्षा ७ र ८ मा स्थानीय पाठ्यक्रम लागु गर्ने बताउनुभयो ।
चालु आर्थिक बर्षदेखि निःशुल्क स्वास्थ्य बिमाको दायरा विस्तार गरि अपांगता भएका व्यक्ति, एकल महिला, दलित तथा महिला सामाजिक स्वास्थ्य स्वंसेविकालाई समेटिएको जानकारी दिँदैं नगर प्रमुख श्रेष्ठले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा डाईलासिस तथा सिटी स्क्यान सेवा शुभारम्भ गरिएको, निःशुल्क रगत सेवा निरन्तरता दिईएको बताउनुभयो ।
नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सेवा बिस्तारको लागि २०० शैयाको स्वीकृतिको लागि प्रक्रिया अगाडि बढाईएको जानकारी दिँदें उहाँले सो अस्पतालमा नर्सिङ कलेज संचालन,नयाँ स्पेशल ओ टी निर्माण, पुरानो भवनलाई रि मोडलिङ, नयाँ आईसीयु निर्माण कार्य यो वर्ष थालनी गरिएको बताउनुभयो ।


यसैगरी गरिबी र दलित सुत्केरी महिलालाई पोषण सामाग्री वितरण, ब्लड बैक स्थापना गर्न, निःशुल्क डायलासिस सेवा प्रदान गर्न प्रक्रिया अगाडि बढाएको श्रेष्ठले बताउनुभयो ।
कमेरोटार जग्गा एकीकरण आयोजनामा ६ किलोमिटर सडक कालोपत्रे सम्पन्न गरिएको बताउँदैं उहाँले १४ लाख लिटरको भुमिगत खानेपानी ट्यांकी निर्माण कार्य सम्पन्न योजना अनुसार पार्क निर्माण कार्य सुरु गर्न बजेट विनियोजित गरिएको जानकारी दिनुभयो ।
विगत लामो समय देखी कमेरोटार आयोजना र हुकुम फर्माटिकलबीच रहेको विवाद समाधान भई योगदान वापतको २ रोपनी १२ आना र सो कम्पनी भित्र रहेको ३ कित्ता सार्वजनिक जग्गा समेत कमेरोटार आयोजनाको नाममा फिर्ता हुने सुनिश्चित भएको उहाँले बताउनुभयो ।


कार्यक्रममा उपप्रमुख विजयकृष्ण श्रेष्ठले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न र सहकारीमा वचतकर्ताको रकम फिर्ताको सुनिश्चितताको लागि सहकारी सञ्चालकहरुको व्यक्तिगत सम्पत्ति समेत रोक्का राखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “देशभरीमा पालिकाहरुमा सहकारी सञ्चालकको सम्पत्ति समेत रोक्का राख्ने मध्यपुर थिमि पहिलो र एक मात्र पालिका हो ।”
नगरका कृषकहरुको हितको लागि मल वितरणमा सहजीकरण गरिएको, माटो परिक्षण, बिउविजन वितरण र कृषकलाई सुचीकरण गरी विविध कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदैं उहाँले टनेल निर्माणमा सहयोग गर्नुका साथै प्रविधि हस्तान्तरणको कार्यक्रम समेत रहेको बताउनुभयो ।
मध्यपुर सञ्चार समाजका अध्यक्ष बाबुकाजी श्रेष्ठले नगरपालिका र स्थानीय सञ्चारकर्मीहरुबीच संवाद मार्फत नगरपालिकाले सञ्चालन गरिएका योजनाहरुका बारेमा जानकारी गराउँदैं नगरको विकासमा सञ्चारकर्मीहरुको भूमिका र दायित्वबारे छलफल गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।