राष्ट्रिय भारोत्तोलन पुस २४ देखी थिमिमा हुने

भक्तपुर, पुस १५
नेपाल भारोत्तोलन संघको आयोजनामा २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता यही पुस २४ गतेदेखि हुने भएको छ । तीन दिने उक्त प्रतियोगिता मध्यपुर थिमि चारदोवाटोस्थित थिमि वैंक्वेटमा हुने आइतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगिता अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ, एसियन भारोत्तोलन महासंघ र नेपाल भारोत्तोलन संघको नियम अनुसार सञ्चालन हुने छ । प्रतियोगितामा विभागीय टोली र देशभरका गरी दुई सय ५० खेलाडीको सहभागिता रहने संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जानकारी दिए ।
प्रतियोगितामा जुनियर तथा सिनियर पुरुषतर्फ ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२, १०९ र १०९ केजी माथि, युथ पुरुषतर्फ ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२ र १०२ केजी माथि तौल समूहमा प्रतिष्पर्धा हुनेछ ।
यसैगरी जुनियर तथा सिनियर महिलातर्फ ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र ८७ केजी माथि र युथ महिलातर्फ ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१ र ८१ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा कुल पदक संख्या ५४० रहने अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार महिलातर्फ युथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० कांस्य गरी कुल २७० तथा पुरुषतर्फ युथ, जुनियर र सिनियरमा ९० स्वर्ण, ९० रजत र ९० पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सम्पन्न गर्न ८६ लाख रुपियाँ लगानी हुने आयोजकले जनाएको छ ।