थिंला पुन्हीमा अचेल गुञ्जिँदैन यःमरी भाका

लक्ष्मी गारु, भक्तपुर, पुस १०
त्यः सिं त्यः बकसिं त्यः
थाबले यागु सामा वलः
यःमरी छग ति यः
व्यूम्ह ल्यासेचा मव्यूम्ह बुरीचा
सितिकुती……….
त्यः सिं त्यः बकसिं त्यः
तालापाता कुलिचां जुसें त्यः
यःमरी माकु, उकि दुने चाकु
व्यूम्ह ल्यासेचा, मव्यूम्ह बुरीचा
सितिकुती……….
धान्य पूर्णिमा अर्थात यःमरी पूर्णिमाको साँझ नेवार समुदायको घर आँगनमा गुन्जिने यो मिठासपूर्ण लोकभाका अचेल गुञ्जिन छाडेको छ । आधुनिकताको चपेटामा परेपछि मौलिक लोक संस्कृति लोप हुने क्रममा यःमरी माग्ने उल्लेखित लोकभाका नेवार समुदायमा गुन्जिन छाडेको हो ।
लामो ईतिहास, संस्कृति, परम्परा अनि सम्पदाहरुले भरिपूर्ण काठमाण्डौं लगायत देशका विभिन्न भागमा बसोवास गर्ने नेवार समूदायले मंगलवार यःमरी पुन्ही धुमधामले मनाउँदैंछन । हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पुर्णिमा अर्थात धान्य पुर्णिमाको दिन मनाईन्छ । नेपाल सम्बतको दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्ही’ पनि भनिन्छ ।
नेवार समुदायमा कृषि सम्बन्धी धेरै चाड पर्वहरु हुने गर्दछन । मौसम अनुसारको खानपान गर्न सिपालु नेवार समुदायले त्यही खाने पक्वानको नामबाटै पनि चाडपर्वलाई परिचित गराएका छन । मार्ग शुक्ल पुर्णिमाको दिन मनाईने यःमरी पुन्ही पनि यस्तै एउटा पर्व हो, जसको नाम स्वादिष्ट पकवान यःमरीबाट प्रख्यात छ ।


यःमरी पुर्णिमाको साँझ नेवार समूदायका बालबालिका तथा युवायुवती टोल छिमेकका घरघर पुगेर यःमरी मागेर खाने प्रचलन रहेको छ । सोही प्रचलन अनुसार यःमरी माग्न जाँदा गाईने उल्लेखित लोकभाकाहरु अचेल गुञ्जिन छाडेको हो ।
यःमरी एक प्रकारको नेवारी परम्परागत रोटी हो । सबैलाई मनपर्ने भएर नै यसको नाम यःमरी अर्थात मनपर्ने रोटी भएको हो । चामलको पीठो मुछेर रोटीको माथिल्लो भाग गजुर जस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा मूख्यत चाकु राखेर अंजिर अथवा त्रिकोण आकार गरी दुई किसिमबाट यःमरी तयार गरिन्छ । अचेल यःमरीमा मास, मुगी, खुवा, मासु लगायतका मनपर्ने परिकार राखेर पनि बनाईन्छ । यसरी तयार गरेको यःमरीलाई पानीको बाफमा पकाउने गरिन्छ ।
यःमरी माग्ने प्रचलन धान्य पूर्णिमाको एक महत्वपुर्ण सांस्कृतिक पाटो हो । अचेल यो महत्वपुर्ण सांस्कृतिक पक्ष लोप भएको अवस्थामा पुगेको छ । ईतिहास तथा संस्कृतिविद् ओमप्रसाद धौभडेलका अनुसार मल्लकाल देखि नै यःमरी माग्ने प्रचलन चल्दै आइरहेको हो ।
पछिल्लो समय प्रचार प्रसारको अभाव र विशेष गरी युवावर्ग आफ्नो कला सँस्कृतिको संरक्षणमा जागरुक बन्न नसक्दा मौलिक लोक सँस्कृति लोप हुने क्रममा यःमरी माग्ने प्रचलन र यसको भाका समेत लोप हुन पुगेको मध्यपुर थिमिका संस्कृतिकर्मी ई. राजेन्द्र श्रेष्ठले बताउनुभयो ।


यसको संरक्षण र प्रवद्र्धनका लागि स्थानीय पालिकाले यःमरी भाकाको प्रतियोगिता वा साँस्कृतिक कार्यक्रम मार्फत यःमरी भाकाको संरक्षणका साथै प्रचार प्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।
“स्थानीय पाठ्यक्रममा यःमरीको विषयमा पठनपाठन हुन थालेपछि नेवार समूदायका मात्र होइन गैरनेवार समूदायका बालबालिकाहरुले समेत यःमरीको बारेमा जानकारी पाउनुका साथै यःमरी बनाउन समेत जानेको अवस्थामा यसको साँस्कृतिक पाटोको संरक्षणका लागि नगरपालिकाहरुले वडा वडामा यःमरी साँस्कृतिक कार्यक्रम आयोजना गराई उत्कृष्टलाई पुरस्कृत गर्ने व्यवस्था गर्न सके युवा पुस्तामा यःमरी माग्ने प्रचलन पुस्तान्तरण हुँदै जान्छ,” उहाँले भन्नुभयो ।
उहाँले स्थानीय सामाजिक संघ संस्था, विद्यालयहरुले पनि तिहारमा म्हःपुजा र देउसी भैलो गरेजस्तै यःमरी पुन्हीमा पनि यःमरी प्रतियोगिता र यसको साँस्कृतिक कार्यक्रम गर्न सके पनि नयाँ पुस्तामा स्थानीय कला सँस्कृति पुस्तान्तरण गर्न सहज हुने बताउनुभयो ।
यःमरी माग्ने सँस्कृतिमा दक्षिणाको रुपमा पैसा नपाउने भएकाले नयाँ पुस्ता यसप्रति आकर्षित नभएको हुन सक्ने अर्का सँस्कृतिकर्मी ओम प्रसाद धौभडेलले बताउनुभयो । यस सँस्कृतिलाई संरक्षण गर्न मातृभाषाको शिक्षा र सँस्कृति नयाँ पुस्तालाई दिनुपर्ने खाँचो रहेको औल्याउँदै सँस्कृतिविद् धौभडेलले यस्ता साँस्कृतिक महत्व बोकेका परम्परागत चाडपर्वहरुको उत्थानका लागि व्यापक प्रचार प्रसार गनुपर्ने बताउनुभयो ।
उहाँले टोल टोलमा रहेको धिमेबाजा खलः, दाफा भजन खलः, बाँसुरी बाजा खलः लगायतका समुहहरुले यस संस्कृति र यःमरी माग्ने लोक भाकालाई संरक्षण गर्दै धान्य पुर्णिमाका अवसरमा सामुहिक यःमरी माग्ने कार्यक्रम अगाडि बढाउनुपर्ने खाँचो रहेको औंल्याउनुभयो । उहाँले सामाजिक संघ संस्थाहरुले पनि तिजमा दर खाने, तिहारको देउसी भैलो कार्यक्रम गरेजस्तै धान्य पुर्णिमाका अवसरमा यःमरी माग्ने कार्यक्रम गरेमात्र यःमरी भाका संरक्षण हुने धारणा व्यक्त गर्नुभयो ।
यःमरीलाई कुवेर र गणेशका प्रतिकको रुपमा लिइन्छ । पूर्णिमाका दिन धानका भकारी लगायत अन्नका भण्डारमा यःमरी चढाईन्छ । धानका भकारी लगायत अन्नका भण्डारमा यःमरी चढाउँदा धनलक्ष्मी खुसी हुने र त्यसको प्रभावमा घर अन्नले भरिपूर्ण हुने र धनलाभ हुने जनविस्वास रही आएको छ । यसरी चढाएको यःमरी चारदिन पछि मात्र प्रसादको रुपमा बाँडेर खाने प्रचलन छ ।
यःमरी नयाँ धानको चामलको पिठोबाट बनाईन्छ । चामलको पिठोलाई शुद्ध घिउ हालेर तातो पानी हाल्दै मुछ्नु पर्दछ । यःमरीको लागि ताइचिन धानको चामलको पिठो भए राम्रो मानिन्छ । नरम हुनेगरी मुछिएपछि हावाबाट बचाउन सफा मलमलको कपडाले छोप्नुपर्छ । हावाको प्रत्यक्ष सम्पर्क परेमा मुछिएको पीठो कडा हुने डर हुन्छ । पिठो कडा भएमा यःमरी बनाउन कठिन पर्ने र यःमरी फुट्ने डर हुन्छ ।
त्यसपछि पिठोको डल्लोलाई चोर औंलाले छेड्नुपर्छ । औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ । पातलो डल्लो झन्डै शङ्खको आकारमा परिणत हुन्छ । यसरी गर्दै जाँदा माथिल्लो भाग मन्दिरको गजुर जस्तै चुच्चो पर्दै जान्छ र तल्लो भागमा खोक्रो ठाउँ बन्छ । सो खोक्रो भागमा चाकु राखेर बन्द गरिन्छ र यःमरी तयार हुन्छ । आजभोली खुवा, मासु, गुँदपाक, मास, मुँगी लगायत सामाग्री राख्ने प्रचलन पनि रहेको छ ।
यःमरी तयार भएपछि एउटा भाँडोमा पानी उमाल्ने र उम्लिएको पानीको भाँडोमा पिँढमा प्वाल प्वाल भएको हाँसी (माटोको विशेष प्रकारको भाँडो) राखिन्छ । सो हाँसीमा यःमरी राखेर वाफले यःमरी पकाईन्छ । करिव ५ मिनेट जति वफाएपछि यःमरी तयार हुन्छ ।
यःमरी पुर्णिमाको बारेमा प्रचलित पौराणिक कथन अनुसार तत्कालिन पांचाल देशमा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महाजन बस्दथे । उनका दम्पती भगवान् विष्णुका परम भक्त थिए । उनीहरुको दयालु स्वभावको जाँच गर्न एकदिन धनपती कुवेर गरिव ब्राहम्णको भेषमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगे । सुचन्द्रका श्रीमतीले ब्राहम्णरुपी कुवेरलाई श्रदापुर्वक आफुले तयार पारी राखेको यःमरी खुवाए ।
उनको सत्कार देखी प्रशन्न भई कुबेरले आफ्नो असली रुप देखाई यःमरीको गुण र धानको भकारीमा श्री गणेश, कुबेर, लक्ष्मीको पुजा गरी यःमरी चढाउने विधि बताएर गए । सोही अनुरुप सुचन्द्र दम्पतीले यःमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादको रुपमा बाँडेर खाएकाले उनीहरुको धनसम्पती वृद्धि भयो र यःमरी खाएका कारण शरिर समेत ह्ष्टपुस्ट हुन थाल्यो । विस्तारै यो कुरा जताततै फैलिएपछि त्यहीसमय देखि नेवार समुदायमा यःमरी पूर्णिमाको सँस्कृति विकास भएको संस्कृतिकविद् धौभडेलको कथन छ ।