१० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबिपि च्याम्पियनसिपमा भक्तपुरका तीन जनाले जिते पदक

भक्तपुर, पुस ९
भारतको हैदरावादमा पुष २ देखि ५ गतेसम्म संचालित १० औं विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबिपि च्याम्पियनसिप २०२३ मा भक्तपुरका तीन जनाले पदक हात पारेका छन् ।
खेलाडीहरु रत्नसुन्दर ङाखुसीले आईबिपि च्याम्पियनसिप अन्तर्गत ८५ केजीमा प्रथम, भक्तपुर घर भई पोखरामा बस्दै आएका राजेश सुवालले ९५ केजी तौल समूहमा रजत पदक र सरु लाखाजुले ७६ केजीमा दोस्रो स्थान हासिल गरेका हुन ।
लालबहादुर शास्त्री स्टेडियममा ४ दिनसम्म संचालित खेलमा युरोप, अमेरिका र एसिया लगायतका १६ मुलुकको ३०० भन्दा धेरै खेलाडीको सहभागिता रहेको थियो ।
खेलाडी राजेश सुवालले मास्टर १ को ९५ केजी तौल समुहमा १३५ केजी र १४२.५ केजी गरी कुल २७७.५ केजी उठाई अन्य देशका प्रतिस्पर्धीलाई पाखा लगाई दोस्रो स्थान हासिल गर्न सफल भएका थिए ।
राजेशले ३ बर्षअघि भारतमा नै भएको विश्व पावर लिफ्टिङ्ग प्रतियोगितामा पनि पदक जित्न सफल भएका थिए । उनी विगत २ दशक देखि बडिबिल्डिङ्ग तथा फिटनेश पेशामा सक्रिय रुपमा कार्य गर्दै आएका छन् ।
आईबिपि च्याम्पियनसिप २०२३ मा नेपालको तर्फबाट सहभागी खेलाडीहरु मध्येबाट १६ स्वर्ण, १४ रजत र ४ कास्य पदक जित्न सफल भएका छन् । १६ मुलुकमध्ये धेरै पदक जित्नेमा नेपाल दास्रो स्थानमा रहन सफल भएको खेलाडी राजेश सुवालले जानकारी दिए ।
यस खेलमा १३ बर्ष देखि ८० बर्षसम्मका वजन समुहका खेलाडीहरुको सहभागिता रहेको थियो । सन् २०२५ मा विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आईबिपि च्याम्पियनसिप नेपालमा आयोजना गर्ने योजना रहेको नेपाल स्ट्रेन्थ लिफ्टिङ्ग फेडरेशनका महासचिव जीवन गिरीले जनाए ।