लैङ्गिक हिँसाका घटनामा कुनै पनि सम्झौता हुँदैन–नगरप्रमुख खत्री

भक्तपुर, मंसिर २१
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले लैङ्गिक हिँसाका घटनामा कुनै पनि सम्झौता नगर्ने प्रतिवद्धता जनाउनुभएको छ । लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियानको अवसरमा नगरपालिकाले बुधवार आयोजित अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख खत्रीले सभ्य समाज निर्माणका लागि बाधकको रुपमा रहेको लैङ्गिक हिँसाका घटनालाई कुनै प्रकारको बढावा नदिने र त्यस्ता घटनामा कुनै पनि समझौता नगर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
उहाँले लैङ्गिक हिँसाका घटनालाई निरुत्साहित गर्न र त्यस्ता घटनाका दोषीलाई कारवाही गर्न नगरपालिका सधै तत्पर रहेको समेत बताउनुभयो । “समाजलाई दुषित बनाउने, सभ्य र समृद्ध समाज निर्माणका लागि बाधककारुपमा रहेको लैङ्गिक हिँसाका घटनामा नगरपालिकाले कुनै सम्झौता गर्दैन । त्यस्ता घटनालाई बढावा दिँदैंनौं,” उहाँले भन्नुभयो, “लैङ्गिक हिँसाका घटनालाई निरुत्साहित गर्न नगरपालिका हरदमको सहयोग गर्न तयार छ ।”
उहाँले घरभित्र हुने यस्ता घटनालाई कुनै पनि बहानामा ढाकछोप गर्दा भोली ठूला अपराधका घटना हुनसक्ने तर्फ सबै सचेत हुनुपर्ने बताउँदैं लैङ्गिक हिँसाका पीडकलाई उन्मुक्ति दिन नहुनेमा जोड दिनुभयो ।


उहाँले महिलाहरुको आर्थिक समृद्धि र उनीहरुलाई स्वरोजगार बनाउँदैं आत्मर्निभर बनाउन नगरपालिकाले विभिन्न खालका सीपमूलक तालिमदेखी व्यवसाय सञ्चालन गर्न ऋण समेत उपलब्ध गराउँदैं आएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले लैङ्गक हिँसाका घटना न्यूनिकरणका लागि जनचेतना अभिबृद्धि गर्नुपर्नेमा जोड दिँदैं त्यसका लागि नगरपालिकाले नीति निर्माणसँगै आवश्यक बजेट विनियोजन गरी वडा वडामा नियमितरुपमा लैङ्गिक हिँसाका बारेमा जनचेतनामूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।
उहाँले कानुन कार्यान्वयनमा हुने ढिलासुस्ती र झमेलाले गर्दा लैङ्गिक हिँसा घटनामा पीडितले छिटो छरिटो न्याय पाउन नसक्दा यस्ता घटनामा पीडकको मनोवल बढ्ने गरेको बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका कार्यपालिका सदस्यद्धय कमला गिरी र सीता दाहालले महिलाहरु आर्थिकरुपमा आत्मनिर्भर बन्न नसक्दा महिलाहरु लैङ्गिक हिँसाका घटनामा पीडित हुने गरेको बताउनुभयो । उहाँहरुले नगरपालिकाले महिलाहरुको आर्थिकरुपमा सवल बनाउन विभिन्न योजना सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी परिसर भक्तपुरको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रहरी सहायक निरिक्षकले जिल्लाको लैङ्गिक हिँसाका घटनाको अवस्थाका बारेमा प्रस्तुतीकरण गर्दै भक्तपुरमा चालु आर्थिक वर्षको साउनदेखी कार्तिकसम्म ३८ वटा लैङ्गिक हिँसा सम्बन्धी उजुरी दर्ता भएकोमा १० वटा घटनामा पुरुष पीडित भएको जानकारी दिनुभयो ।
कार्यक्रममा आफ्नो जीवनको भोगाई र अनुभव सुनाउँदैं लैङ्गिक हिँसा पीडित सविना बुढाथोकीले महिलाहरुले बोल्ने आँट नगर्दा र आफ्नो पीडा अरुलाई सुनाउन नसक्दा हिँसाले प्रशय पाउने गरेको बताउनुभयो ।