भक्तपुरको हनुमन्तेमा भेटियो पाहुना चरा ‘स्वेतमाथा कलहाँस’

भक्तपुर, मंसिर १९
भक्तपुरको हनुमन्तेमा पहिलो पटक साइबेरियन पंक्षी स्वेतमाथा कलहाँस (ग्रेटर ह्वाइट फेन्टेट गुज) भेटिएको छ । साइबेरिया, रूसलगायत अति चिसो मुलुकबाट जाडो छल्न नेपाल प्रवेश गर्ने क्रममा हनुमन्तेमा यो चरा आईपुगेको पंक्षी संरक्षकहरुले बताएका छन ।
हनुमन्तेमा भेटिएको कलहाँस काठमाण्डौं उपत्यकामा पहिलोपटक देखिएको पंक्षी संरक्षक एवम् फोटोग्राफर सञ्जय था श्रेष्ठले बताउनुभयो । हाँस प्रजातिको कलहाँस थाकेर हनुमन्ते खोलामा आएको अनुमान श्रेष्ठले गर्नुभयो ।
उहाँका अनुसार कलहाँस नेपालमा पहिलोपटक सन् २००४मार्च २४ मा देखिएको थियो । त्यतिबेला कोशी टप्पु वन्यजन्तु आरक्षमा २ वटा कलहाँस देखिएका थिए । गतवर्ष पनि नारायणी नदी आसपासमा ४ वटा कलहाँस देखिएको थियो ।
कहिलेकाहीँ मात्र तराई र भित्री मधेसमा घुम्न आउने यो पंक्षी कसरी हनुमन्तेमा आइपुग्यो भन्ने विषयमा खोजी भइरहेको श्रेष्ठले जानकारी दिनुभयो । हनुमन्तेमा पहिलो पटक (गत मंसिर ११ गते) यो पंक्षी देखिएको दिन पंक्षीविज्ञ डा. कमलराज गोसाई, सुजन श्रेष्ठ र सूर्यमान श्रेष्ठले क्यामरामा कैद गर्नुभएको जानकारी दिँदै श्रेष्ठले त्यसैको भोलिपल्ट सो पंक्षीको तस्वीर खिचेको बताउनुभयो ।
यो पंक्षी चिसो मौसममा बस्न सक्दैन । तर चिसो मौसम भएको हनुमन्तेमा यो पंक्षी कसरी आइपुग्यो भन्ने विषयमा पंक्षीविज्ञले दैनिक अनुसन्धान गरिरहेको श्रेष्ठले बताउनुभयो । यो पंक्षी उच्च हिमाली क्षेत्रबाट उडेर आउने क्रममा थकाइ लागेर आहाराको खोजीमा हनुमन्ते खोला किनारामा बसेको हुनसक्ने जिकिर गर्दै श्रेष्ठले यो चरा थाकेपछि केही दिन खोला किनारमा वास बसेर लेउ, किरा फट्याङग्रा, झारपात खाएर लामो समयसम्म उड्न सक्ने भएपछि गन्तव्यतिर जाने गरेको बताउनुभयो ।
विगत वर्षको तुलनामा राजधानीमा चिसो नभएका कारण यस्ता प्रजातिका पंक्षीहरू खोला किनारामा आएको हुनसक्ने अनुमान पंक्षीविज्ञको छ ।
कलहाँस हनुमन्तेमा आएपछि सोही दिन हिमालयन नेचर, वर्ड कन्जरवेसन नेपाल र विश्वकै चराहरूको अवस्थाबारे रेकर्ड राख्ने ई–वर्ड नेपालले अभिलेख गरिसकेको छ । करिब ३ देखि ४ केजी तौल हुने कलहाँस हाँसजस्तै देखिन्छ । जाडो छल्न नेपाल आएपछि करिब दुई महिना पाहुना भएर गन्तव्यतर्फ जाने कलहाँस नेपालकै लागि दुर्लभ पाहुना पंक्षी हो । यो कलहाँस गर्मी मौसममा खोयाहाँसजस्तै निक्कै माथि उचाइमा उडेर बास बस्ने गरेको छ ।
तस्बीर ः पंक्षीविज्ञ सञ्जय था श्रेष्ठ