माझखण्ड सतकुलपुत्त पब्बज्जा – २०७९ (संस्मरण तेश्राे दिन – ३) भाग १

अनागारिक धम्मपाल र मेरी फोस्टर

सुनिता तुलाधर शिल्पकार, ललितपुर ।

बिहानको पाँचै बजे, माझखण्ड बुद्ध विहारमा नवश्रामणेरहरु आफू उठ्ने बित्तिकै साथीलाई उठाउँदै, स्लीपिंग ब्याग पट्याएर स्टोर रुममा राख्दै, ब्रस गरी हात मुख धोएर बुद्ध पूजा र ध्यान भावना गर्न तयार भइसकेका थिए ।
बुद्ध पूजा उनीहरुको लागि नौलो नै थियो । त्यसकारण बुद्धपूजाको पाठमा भएका शब्दहरु राम्ररी उच्चारण गर्न नजानेपछि निस्रयाचार्य बोधिज्ञान भन्तेले पटक पटक बुद्ध पूजा गर्न सिकाइरहनु भएको थियो ।
बिहान ९ बजेको कक्षा श्रद्धेय ञाणवती गुरुमाले लिनुभएको थियो । उहाँको कक्षामा उनीहरु सबैजना उत्साहपूर्वक सहभागी भएका थिए ।

उहाँले कक्षा शुरु गर्नुहुँदा सर्वप्रथम पञ्चाग दण्डवत गर्न सिकाउनु भएको थियो । दुई हातहरु र दुई घुँडाहरुले टेकेर आफैले वन्दना भन्नु हुँदै टाउकोले भूईंमा ढोगेर देखाउनुभयो र टाउको सिधा उठाउने भन्नु हुँदै टाउको र दुई हातहरु उठाएर देखाउनुभयो । यसरी बुद्ध, धर्म र संघलाई तिन पटक वन्दना गर्नुपर्छ भन्नुहुँदै आफूले गरेर सिकाउनुभयो । श्रामणेरहरुलाई पनि बुद्ध, धर्म र संघ गरी तिन पटक वन्दना गर्न लगाई अभ्यास गराउनुभयो ।
त्यसपछि क्रमशः सिकाई कै क्रममा उनीहरुले लगाएको पहिरनलाई ‘चीवर’, २० वर्ष नपुगेकालाई ‘श्रामणेर’, २० वर्ष भइसकेपछि पुनः एकचोटि उपसम्पदा प्राप्त गरिसकेकालाई ‘भिक्षु वा भन्ते’ भन्ने भनेर सिकाउनुभयो ।
त्यसैगरी संसारमा ज्यान भएका र नभएकाहरु छन् । विज्ञानले बोटविरुवा, रुख आदिलाई पनि ‘सजीव’ मानेतापनि व्यवहारिक जगतमा यसलाई ‘निर्जीव’ नै मानिन्छ भने ज्यान भएका जनावर पशुपंक्षीलाई ‘सजीव’ भनिन्छ भनेर गुरुमाले भन्नुभयो ।
मोबाइलको उदाहरण दिनुहुँदै मोबाइलबाट स्वर त निस्कन्छ, कसैले बोकेर लगे एक ठाँउबाट अर्को ठाँउमा पनि पुग्न सक्छ तर मोबाइलले श्वास भने फेर्दैन । त्यसैले मोबाइल निर्जीव हो भने हामीहरुले श्वास फेर्ने भएकोले हामी ज्यान भएकाहरु सजीव हौ भनेर गुरुमाले सिकाउनुभयो । उहाँले ती कुराहरु स्कूलमा पढाइने विज्ञान किताबमा भएकोे कुरा पनि स्मरण गराउनुभयो ।
मानिसहरु पनि कुकुर, बिरालो जस्तै खाने, कसैलाई राम्रो नगर्ने, झगडा मात्र गर्ने, सुत्ने, बच्चा मात्र जन्माउने गर्यो भने कुकुर र मानिसमा के फरक छ र ? भनेर उहाँले पनि प्रश्न सोध्नुभयो । यदि कुनै फरक नभएमा हामी पनि पशु हुन जाने भएकोले जे काम गर्दा पनि सोचेर गर्ने, रिस उठेमा पनि संयम गर्नुपर्ने कुरा बताउनुभयो र अघिल्लो दिन माझखण्डमै भएको घटना पनि स्मरण गर्दै उहाँले भन्नुभयो, ‘मनमा रिस उठेको बेला हामीले ढुंगालाई हान्यो भने हाम्रै खुट्टा दुख्छ । त्यस्तै माझखण्डका स्थानीय दुई बालकहरु बीच झगडा हुँदा एक बालकले रिसको झोंकमा अर्को बालकलाई लातले ड्यामका ड्याम हान्यो । नगर भन्दा पनि लात हानिरहेकोले अर्कोलाई पनि रिस उठ्यो । त्यसपछि उसले पहिलो बालकको औंला नै बटारिदिएपछि, जसले गर्दा उसको औंला नै भाँच्यो । र प्लास्टर समेत गर्नुपर्यो ।’
त्यसैले रिसले फाइदा नहुने बताउनुहुँदै गुरुमाले आमाबुबाले के भन्दा रिस उठ्छ, त्यसबारे २ मिनेट विचार गरी भन्न निर्देशन दिनुभयो । दुई मिनेटपछि नवश्रामणेरहरुले आमाबुबाले पढ्–पढ् मात्र भनिरहँदा धेरै रिस उठेको र आमाबुबालाई पनि उनीहरुले राम्ररी पढी नदिदाँ धेरै रिसाउने बताएका थिए ।
अनागारिक धम्मपाल र मेरी फोस्टर –

त्यसपछि उहाँले मेरी फोस्टरले आफ्नो रिसलाई कसरी काबुमा राखे त भनेर कक्षामा रमाइलो वास्तविक घट्ना यसरी सुनाउनु भएको थियो ।
शिक्षित तर अति रिसालु मेरी फोस्टरले एकदिन रंगीचंगी पोस्टरहरु टाँसिएको एउटा गाडी देखे । रंगीचंगी पोस्टर हेर्न मानिसहरुको घुँइचो बढेपछि गाडी भित्रबाट आवाज आयो, ‘हेर मानिसहरु ! हामी त मान्छे हौं । हामी रिसाउनु हुँदैन । यदि रिस उठेमा आफ्नो श्वासलाई हेर्ने अनि मलाई रिस उठिरहेछ, रिस उठिरहेछ, भनेर मनमनै भन्ने । तर तत्कालै कुनै पनि काम नगर्ने ।’

मेरी फोस्टरलाई सो कुरा विश्वास नलागि यस्ता कुराहरु हुनै नसक्ने र त्यस्ता अपत्यारिला कुरा कसले भन्दैछ भनि गाडी भित्र हेर्न गइन । त्यहाँ त एकजना लोग्ने मानिस रहेछ । सो मानिस त श्रीलंकाको ‘अनागारिक धम्मपाल’ रहेछ । उनले उक्त मानिससँग ‘रिस उठेको समयमा मलाई रिस उठिरहेछ, रिस उठिरहेछ भनेर मनमनै भन्दा पनि कहिँ रिस शान्त हुन्छ र ! यस्ता कुरामा विश्वास नलागेकाले रिस नउठ्ने मन्त्र दिनु’ भन्दा अनागारिक धम्मपालले रिस नउठ्ने त्यस्तो कुनै मन्त्र आफूसँग नभएको बताउँदै जब जब रिस उठ्छ, त्यसबेला केही नबोलिकन बस्ने वा पानी पिउने भन्ने उपाय सुझाएका थिए ।
मेरी फोस्टरको यस्तो बानी थियो – रिस उठेपछि दराजका सामानहरु फुटाउने र नोकरलाई पिट्ने । एकदिन फेरी मेरी फोस्टरलाई रिस उठेछ, उनले पहिला झै दराजका सामानहरु निकाल्दै फ्याक्दै, निकाल्दै फ्याक्दै गरिन । त्यसपछि नोकरलाई पनि पिट्न थालिन । तर पहिलाको तुलनामा ७५ प्रतिशत जति नोकरलाई पिटिसकेपछि अचानक उनलाई धर्मपालको कुरा याद आयो र अनि नोकरलाई ‘तँ जा’ भनि कुट्न छाडिन । त्यस्तै, पछि पनि फेरी रिस उठ्दा पहिलाको तुलनामा ५० प्रतिशत जति नोक्सान भएपछि धर्मपालले भनेको कुरा फेरी याद आयो र चुप लागिन । यसरी क्रमशः उनले बिना नोक्सानी आफ्नो रिसलाई सम्हाल्न सकिन । उनको अर्को एउटा बानी पनि रहेछ रिसाएर भएको खर्च सबै लेख्ने र रिसलाई सम्हाल्दा कम भएको खर्चको एक एक हिसाब राखिन । यसरी बर्षौं बित्यो । यसले उनको खर्चमा धेरै कमी आएको पाइन ।
जसले गर्दा उनी नोक्सनी हुनबाट जोगिइ बचेको रकम अनागरिक धर्मपाललाई खोजेर दिन गइन । तर उनले लिन नमानेपछि मेरी फोस्टरले आफु जस्तै रिसाउने बानी भएका मानिसहरु संसारमा थुप्रै छन, उनीहरुका लागि सचेतनाका कुराहरु सम्झाउन बुझाउन उक्त रकम काम आउने बताइन । र उनले धर्मपाललाई बाँचुञ्जेल धेरै सहयोग गरिन ।
श्रीलंकाका अनागारिक धर्मपाल उनै हुन जसले भारतको बोधगया बुद्ध धर्मको केन्द्रबिन्दु हो जहाँ भगवान बुद्धले ज्ञान प्राप्त गर्नुभएको स्थान भएर यो बौद्धहरुको नै हुनुपर्छ भनी धेरै वर्षसम्म अभियान चलाउनुका साथै अदालतमा मुद्दा पनि चलाएका थिए । र पछि सो स्थान बौद्धहरुकै हातमा आएको हो । जसलाई साथ दिएकी थिइन मेरी फोस्टरले ।
यसरी मेरी फोस्टरले रिसलाई काबु गर्दा उनलाई धेरै फाइदा भएको कुरा यस कथाले शिक्षा दिने बताउनुहुँदै गुरुमाले गाडी प्लेन, टिभि, मोबाइल, अत्याधुनिक सडकहरुको परिकल्पना मानिसहरुले नै गरेर बनाएको हो – मानिसहरु प्रतिभावान हुन – आफ्नो सन्तानहरु प्रतिभावान बनाउन आमाबुबाले पढ्–पढ् भन्नु हुँदा रिसाउनु हुँदैन – साथीहरुसँग झगडा गर्नु हुँदैन – कापी कलम चोर्नु हुँदैन – पढ्–पढ् भन्दा वा मन परेको चिज नपाउँदा रिस उठ्छ भने मलाई रिस उठिरहेको छ भनि मनमा राखेर चुप लागेर बस्नु पर्दछ भनी उनीहरुलाई सिकाउनु भयो ।
उहाँले कक्षाको अन्त्यमा एकदिन अगाडि चंक्रमण ध्यान भावना गएको बेला आफूहरुलाई रमाइलो लागेको कुनै एकलाई लिएर चित्र बनाउने गृहकार्य दिनु भएको थियो र साथमा राम्रो चित्र बनाउनेलाई पुरस्कार पनि दिने घोषणा गर्नु भएको
थियो ।
उहाँको कक्षा त सकियो तर श्रामणेरहरु धमाधम थप उर्जाशिल भएर आफूलाई दिइएको गृहकार्यको लागि आफ्नो कापीमा सीसाकलमले चित्रहरु कोर्न थालिसकेका थिए । नतिजामा राम्रा राम्रा भिजनहरु भएका चित्रहरु कोरिएको पाइएको थियो । रुखमुनि ध्यान अभ्यास गर्दै गरेको चित्र, लाम्बद्ध भएर चंक्रमण गएको चित्र, ड्रोन उडिरहेको चित्र, माझखण्ड बुद्ध विहारको चित्र, वनजंगल, मन्दिर, कुकुर, बिरालोको चित्र, फोटो भिडियो लिईरहेका फोटोग्राफरहरुको विभिन्न पोजयुक्त चित्र त एकदमै रोमान्चक थियो । त्यस चित्रहरुमा सानो उचाँई भएको फोटोग्राफरले ड्रोन उडाइरहेका थिए, पातलो फोटोग्राफरले भिडियो लिइरहेका थियो । अलि भुँडी निस्केको उपासकले मोबाइलवाट भिडियो खिचिरहेको, कम उचाँई भएको जिउ लागेको फोटोग्राफरले दुई खुट्टाहरु खुम्च्याएर ठूलो लेन्स भएको क्यामराबाट मानिसहरुको फोटो नजिकबाट लिइरहेको चित्र त माझखण्डमा उपस्थित भिक्षुहरु, गुरुमाहरु, उपासकउपासिकाहरु सबैले मन पराएका थिए ।
क्रमशः …